१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ पौष १३ आइतबार ०९:१६:००
Read Time : > 2 मिनेट
अर्थ

लघुवित्त मर्जरबाट कमाउने दाउमा ठूला लगानीकर्ता

Read Time : > 2 मिनेट
२०७६ पौष १३ आइतबार ०९:१६:००

चार वर्षअघि लघुवित्त खोल्ने अनुमति दिन सुरु गरेको राष्ट्र बैंक अहिले आफैं यस्ता संस्थालाई मर्जर वा प्राप्तिद्वारा संख्या घटाउने तयारी गरिरहेको छ । यही मेसोमा लघुवित्तमा लगानी गरेका ठूला लगानीकर्ता भने सेयर जारी नगरेका संस्था छान्दै मर्जरमा जाने र थप लाभ लिने अवसरमा लागेका छन् । 

नियमअनुसार एकपटक सर्वसाधारणमा सेयर जारी (प्राथमिक सेयर निष्कासन–आइपिओ) गरिसकेको संस्थाले पुनः सर्वसाधारणबाट रकम उठाउनुपरेमा थप सार्वजनिक निष्कासन गर्नुपर्छ । लगानीकर्ता यही नीतिबाट लाभ उठाउने रणनीतिअनुसार मर्जरका लागि पार्टनर खोजिरहेका छन् । 

‘सर्वसाधारणमा सेयर निष्कासन गरेको लघुवित्तले सेयर जारी नगरेको अर्को लघुवित्तसँग मर्ज वा प्राप्तिमा जाँदा सर्वसाधारणको स्वामित्व घट्छ,’ एक सेयर लगानीकर्ताले भने, ‘यस्तोमा उनीहरूको स्वामित्व वृद्धि गर्ने माध्यम भनेकै एफपिओ हो ।’ बैंक तथा वित्तीय संस्थामा सर्वसाधारण सेयर लगानीकर्ताको न्यूनतम ३० प्रतिशतदेखि अधिकतम ४९ प्रतिशत सेयर स्वामित्व हुनैपर्ने व्यवस्था छ । तर, मर्जर अगाडि या पछाडि नै सेयर जारी गर्ने भन्ने अनिवार्य नरहेको राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले बताए । उनले भने, ‘मर्जरपछि सर्वसाधारणको स्वामित्व नपुगे एफपिओ गर्न सक्छन् ।’

कसरी हुन्छ फाइदा ? 
एफपिओ निष्कासनका क्रममा संस्थाले प्रतिकित्ता सेयरको मूल्य अंकित मूल्य (१ सय रुपैयाँ) भन्दा बढी राख्न पाउँछन् । धितोपत्र बोर्डले कम्पनीले थप सेयर निष्कासन गर्दा लेखापरीक्षण भएको पछिल्लो वित्तीय विवरणअनुसार प्रतिसेयर नेटवर्थभन्दा बढी नहुने गरी मूल्य निर्धारण गर्न पाउने व्यवस्था गरेको छ । ‘आइपिओ गर्दा पनि प्रिमियममा मूल्य राख्न नपाइने होइन,’ धितोपत्र बोर्डका कार्यकारी निर्देशक नीरज गिरी भन्छन्, ‘तर, सेयर बजारमा कारोबार गरिरहेका संस्थाले प्रिमियममा जारी गर्ने एफपिओमा सर्वसाधारणको बढी आकर्षण हुन्छ ।’ 

सेयर बजारमा सूचीकृत भइसकेका कम्पनी नेटवर्थ बढाउन लामो अवधिदेखि गैसस (फिन्गो)का रूपमा लघुवित्तको काम गरिरहेका कम्पनीसँग मर्जरको तयारीमा छन् । पुराना र राम्रो कमाइ गरिरहेका फिन्गोबाट रूपान्तरित संस्थालाई मर्ज गर्दा सेयर जारी गरिसकेकाको समेत नेटवर्थ बढेर ३–४ सयको हाराहारीमा पुग्ने अनुमानले यस्ता जोडी खोज्ने क्रम बढेको छ । 

उच्च प्रिमियम मूल्य राख्न पाउँदाको लाभ पुराना लगानीकर्तालाई नै बढी हुन्छ । अंकित मूल्यभन्दा बढी राखिएको प्रिमियम मूल्य कम्पनीले अर्को आर्थिक वर्षमा बोनस लाभांशका रूपमा वितरण गर्न पाउँछ । यस्तो लाभांशको भागीदार लाभांश दिँदाको अवस्थामा कायम सबै लगानीकर्ता हुन्छन् । अर्थात्, एफपिओबाट थपिएका वा पुरानै लगानीकर्तासमेत हुन सक्छन् । नयाँ लगानीकर्ताले तिरेको प्रिमियम रकमबाट पुराना लगानीकर्तालाई समेत लाभ हुने भएकाले यसरी मर्ज गराउने तयारीमा संस्था लागेका छन् ।

नेपाल एग्रो, विजय लघुवित्त, सूर्योदय र उन्नति लघुवित्त संस्था यस्तै लाभ उठाउने तयारीमा छन् । नेपाल एग्रो फिन्गोका रूपमा रहिसकेको नेस्डो, समृद्धि र विजय लघुवित्त पनि स्वेडा लघुवित्त वित्तीय संस्थासँग मर्जर प्रक्रियामा छन् । त्यस्तै, सूर्योदयले बजार सेयर जारी नगरेको त्रिलोक लघुवित्त, उन्नतिले सहकार्य लघुवित्तलाई मर्ज गर्न लागेका छन् । यिनीहरूले राष्ट्र बैंकमा आवेदन नै दिइसकेका छन् । 

मर्जरबाट ९२ को संख्या ७८ मा झर्दै 
राष्ट्र बैंकले ०७३ को मौद्रिक नीतिमार्फत लघुवित्तको नयाँ अनुमति दिन खुला गर्‍यो । सो समय करिब ८७ को संख्यामा रहेको लघुवित्त कम्पनी (फिन्गोसहित) को संख्या ९२ सम्म पुग्यो । तर, चार वर्ष पूरा नहुँदै आफैंले बाँडेको अनुमति धेरै भयो भन्दै संख्या घटाउन लागेको छ । 

अहिले राष्ट्र बैंकमा २० वटा संस्था मर्जर भएर ९ वटा बन्नका लागि अनुमति मागिरहेका छन् । यी सबैबीच मर्जर सम्पन्न भएमा लघुवित्तको संख्या ७८ मा सीमित हुनेछ । हुन त राष्ट्र बैंकले अनुमति खोल्दा आवेदन दिएका, तर सञ्चालनमा आउन नपाएकालाई पनि मर्जरकै माध्यमबाट सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ । यसरी ८ संस्था सञ्चालन अनुमति कुरेर बसेका छन् । 

लघुवित्तको सेयर पाउन मर्चेन्ट बैंकर नै खरिद

केही समयअघि मात्रै मर्चेन्ट बैंकर समृद्धि क्यापिटल र प्रभु क्यापिटलबीच मर्जर भयो । लगानी व्यवस्थापकका रूपमा मात्रै काम गर्दै आएको समृद्धि क्यापिटललाई प्रभु बैंकको लगानी रहेको प्रभु क्यापिटलले खरिद गरेपछि धेरैले आश्चर्यसमेत माने । 

समृद्धिलाई मर्ज गर्नुको प्रभु क्यापिटलको मुख्य उद्देश्य भनेकै उसको स्वामित्वमा रहेको जीवन विकास लघुवित्तको सेयर रहेको स्रोत भन्छ । १४ करोड रुपैयाँ चुक्ता पुँजी (१४ लाख कित्ता सेयर) रहेको जनता विकास लघुवित्तको समृद्धिसँग ७ लाख कित्ता सेयर छ । यही कारण नै प्रभुले लगानी व्यवस्थापनको मात्रै काम गर्दै आएको समृद्धिलाई मर्ज गरेको देखिन्छ ।