Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
कञ्चन न्यौपाने काठमाडाैं
२०७६ पौष १३ आइतबार ०९:१३:००
Read Time : > 1 मिनेट
नयाँCity

पाइलटहरूकी कोच

Read Time : > 1 मिनेट
२०७६ पौष १३ आइतबार ०९:१३:००

सन् २००८ मा नेपाल वायुसेवा निगममा परीक्षा दिने वेलामा सुनिरा रेग्मीलाई सबैले घुरेर हेरेका थिए । कारण, हलमा २५ परीक्षार्थीमध्ये उनी एक्ली महिला थिइन् । परीक्षाहलमा बसेका ‘इन्भिजिलेटर’ले पनि सोधेका थिए, ‘तपाईं यही परीक्षाका लागि आउनुभएको त हो नि ?’ परीक्षा थियो, ‘अपरेसन इन्जिनियर’को । सात महिनापछि नतिजा आयो । दुईजनाका लागि खुलेको आवेदनमा उनीलगायत चारजनाको नाम निस्कियो । त्यतिवेला न कोटाको व्यवस्था थियो, न त लोकसेवाको परीक्षा नै हुन्थ्यो । खुला प्रतिस्पर्धाबाटै उनले नाम निकालिन् । र, १० वर्षदेखि निगममा एरोनटिकल इन्जिनियर छिन् ।

निगममा आबद्ध हुनुअघि उनले बुद्ध एयरमा करिब एक वर्ष विनातलब काम गरेकी थिइन् । उनी भन्छिन्, ‘त्यतिवेला मेकानिकल इन्जिनियरलाई सहयोग गर्नुपर्थ्याे । ठुल्ठुला टायर उठाउनुपर्थ्याे । धन्न म अलि मोटीघाटी नै थिएँ ।’ त्यतिवेलाको समाज एरोनटिकल इन्जिनियरबारे अनभिज्ञजस्तै थियो । कहिलेकाहीँ आफन्तले के पढ्छौ भनेर सोध्दा उनी ‘एरोनटिकल इन्जिनियर’ भन्थिन् । आफन्तजन अक्क न बक्क पर्थे ।

उनी पढाइमा सामान्य विद्यार्थी थिइन् । बुझ्ने भएदेखि नै उनले पाइलट बन्ने सपना पालिन् । एभिएसन विधा ‘ग्ल्यामरस’ लाग्थ्यो, उनलाई । हात्तीवनस्थित लिटल एन्जल्स स्कुलबाट एसएलसी दिएपछि पाइलट बन्ने निश्चय गरिन् । त्यही क्रममा बाबु डा. सुदर्शनप्र्रसाद रेग्मीले उनलाई एरोनटिकल इन्जिनियरिङबारे बुझाइदिए । बुबाको प्रेरणाबाट उनी त्यतै लागिन् ।

भारत देहरादुनस्थित ‘नेसनल इन्स्टिच्युट अफ एरोनटिकल इन्जिनियरिङ कलेज’मा आफ्नो ब्याचमा त्यो विषय पढ्ने एक्ली महिला थिइन्, उनी । ‘साह्रै कठिन थिए, ती दिन । मास्टर्स गर्दा त झन्डै पढाइ छाडेकी थिएँ, तर हार मानिनँ,’ उनी भन्छिन् । सुरुसुरुमा कक्षामा हँसिमजाककी पात्र बन्थिन्, उनी । बिस्तारै पुरुष साथीहरू पनि आत्मीय बन्दै गए । ‘तर, कहिलेकाहीँ कम्बाइन स्टडी गर्ने इच्छा हुँदा पनि केटाको होस्टेलमा जान नमिल्ने । साह्रै दिक्क लाग्थ्यो,’ उनी भन्छिन् । उनीसँगै पढेका साथीहरू अहिले बोइङ, एयरबसजस्ता ठूला कम्पनीमा काम गर्छन् । उनका अनुसार जहाज उड्दाउड्दै इन्जिन बन्द भयो भने क्रु मेम्बरलाई मार्गदर्शन गर्ने काम हो, उनको । उनको निर्देशनअनुसार नै पाइलटले सिमुलेटरमा लगेर भेरिफाइ गर्छन् । जस्तो– अक्सिजन मास्क ड्रपआउट हुँदा के गर्ने, नयाँ ठाउँमा जानुअघि त्यस ठाउँको विश्लेषण गर्ने, जहाजमा लोड, फ्युल कति राख्ने भन्ने जिम्मेवारी एरोनटिकल इन्जिनियरकै हो । 

सर्भिसिङपछि गाडीको टेस्ट ड्राइभजस्तै जहाजको पनि टेस्ट फ्लाइट हुन्छ, जसमा यात्रु हुँदैनन् । उनी आफूलाई ‘पाइलटको कोच’ भन्दा असहज मान्दिनन् । निगममा उनी एक्ली महिला एरोनटिकल इन्जिनियर हुन् । यसमा अझै महिला निकै कम भएको उनी बताउँछिन् ।