१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ पौष १२ शनिबार १०:१७:००
Read Time : > 1 मिनेट
नयाँCity

बसाइँसराइको कथा लेख्ने गुमनाम गीतकार 

Read Time : > 1 मिनेट
२०७६ पौष १२ शनिबार १०:१७:००

बसाइँ हिँड्नेको ताँतीले
बस्नेको मन रुवाउँछ
लाखौँको लागि उजाड यो दिल 
मुठीभरलाई त स्वर्ग छ 
मुठीभरलाई त स्वर्ग छ ।। 

जनगायक जेबी टुहुरेको आवाजमा सजिएको यो चर्चित गीतका रचनाकार हुन्, लव प्रधान ‘मित्र’ । प्रधानले लेखेको यो गीत अहिले पनि सान्दर्भिक छ । ०३५/३६ सालमा गायक जेबी टुहुरेले गाएको यो गीत आमजनमानसमा भिजेको पाइन्छ । यो गीत गाउने टुहुरे त चर्चित छन तर गीतका रचनाकार विराटनगर निवासी लव प्रधान भने गुमनाम छन् । 

१७ फागुन २००० मा जन्मिएका प्रधान बाल्यकालदेखि नै कला क्षेत्रमा विशेष चासो राख्थे । बाँसुरी बजाउन, गीत गुनगुनाउन र नृत्य गर्न उनी माहिर थिए । मेलबोटमा स्कुल पढ्दा उनी यासोक पुगेका थिए । यासोकको पूर्वपट्टि गहिरो ठाउँ थियो । जहाँ ७०–८० जना मानिस लाम लागेर हिँडिरहेका थिए । वृद्धवृद्धा, महिला, पुरुष, बालबालिका सबै त्यो लाममा थिए । 

हात कसैको खाली थिएन । कसैले ढाकरमा कुखुरा, कसैले बिरालो बोकेका, कसैले खसीबाख्रा डोर्‍याएका, कुकुर पनि मानिसहरूको पछिपछि लागेर हिँडिरहेका देखेपछि ती लवले मानिसहरूलाई सोधे ‘कहाँ हिँड्नुभएको ?’ भीडबाट जवाफ आयो ‘हामी त मुगलान हिँडेका ।’ 

आफ्नो जन्मभूमि छोडेर हिँडेको देख्दा उनलाई नरमाइलो लाग्यो । उनको बालमस्तिष्कमा पीडाबोध भयो । त्यही पीडालाई सम्झेर ०२६ सालमा उनले गीत लेखे–‘बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुवाउँछ ।’ 

गीत ०२६ सालमै लेखे पनि उनले टुहुरेलाई ढिलो सुनाए । चर्चित गीत ‘बसाइँ हिँड्नेको ताँतीले’ प्रधानको दोस्रो गीति रचना हो । प्रधानको गीतले जनवादी गायक टुहुरेलाई चिनायो, स्थापित गर्न ठूलो मद्दत गर्‍यो । गायक टुहुरे र प्रधान बालसखा हुन् । ०१४ सालमा उनीहरूको भेट भएको थियो । टुहुरेको परिवारमा सांगीतिक माहोल हुन्थ्यो । टुहुरेका बुबा ढोलक, हार्मोनियम बजाउँदै गीत गुनगुनाइरहन्थे । 

तत्कालीन समयमा मोरङमा क्रान्तिकारीहरू फैलिएसँगै पञ्चहरूको दमन तीव्र बन्यो । मोरङको कानेपोखरीमा पर्ने रमाइलोमा झोडा फाँडेका मानिसलाई सेना प्रहरीले लाइन लगाएर गोली हानेर हत्या गरे । त्यसपछि गीत झन् चर्चित भयो । 

भविष्य खोज्दै हिँडेकाहरूलाई राज्यले दमन गरेपछि लेखिएको गीतको सान्दर्भिकता अझै छ । मात्र आजकल बसाइँसराइको शैली फेरिएको छ । हिजो गाँस र वास खोज्दै टोल नै बसाइँ सर्दथ्यो । आज सुविधा खोज्दै गाउँबाट बजार, बजारबाट सहर अनि सहरबाट विदेश बसाइँसराइ भइरहेको छ । यो गीतले उनीहरूको कथा आज पनि बोलिरहेको हुन्छ ।