मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
राजेश विद्रोही
२०७६ पौष १२ शनिबार १०:२३:००
Read Time : > 1 मिनेट
Read Time : > 1 मिनेट
राजेश विद्रोही
२०७६ पौष १२ शनिबार १०:२३:००

मधेसमा जाडो बढेको छ । बिहान बाक्लो हुस्सु लागेको छ । कहिलेकाहीँ दिनभरि नै हुस्सु लाग्छ, सिमसिम पानी पनि पर्छ । हुस्सुसँगै बिहान सिरसिर हावा चल्छ । त्यस्तो वेला दलित बस्तीका बुढापाका र स–साना बालबालिकालाई चिसोबाट जोगाउन हम्महम्मे पर्छ । चिसो बढ्दै गएपछि बालबालिकाहरू विद्यालय जान सक्दैनन् । यस्तो वेला मधेसमा पढाइ नै प्रभावित हुन्छ । अत्यधिक चिसो बढेपछि स्कुल बन्द गर्नुपर्ने पनि हुन्छ ।

मधेसको दलित बस्तीमा जाडो बढ्दै गएपछि दैनिकी एकदमै कष्टकर हुन थाल्छ । हिजोआज सिरहा–सप्तरीका दलित बस्तीमा जाडोको त्रास बढ्न थालेको छ । किनकि, विपन्न बस्तीमा ओढ्ने र ओछ्याउने गतिलो लुगा हुँदैन । त्यसपछि चिसोबाट बच्न डस्नाको रूपमा घरभित्र पराल ओछ्याइन्छ । त्यसमाथि पुरानो फाटेका झुत्रे लुगाहरूलाई सिलाएर घरमै बनाइएको भोंटिया (डसना) ओढ्ने चलन छ । विपन्न बस्तीमा जाडो महिनाका लागि भोंटिया जोहो गरिएको हुन्छ ।

मधेसमा जाडोबाट बच्ने अर्को उपाय हो– घुर ताप्नु (आगो ताप्नु) । चिसोबाट सबैभन्दा धेरै पीडित हुन्छन् दलितहरू । दलित बस्तीमा ओड्ने, ओछ्याउनेसहित लगाउने लुगासमेत न्यानो र गतिलो हुँदैन । घाम लागे त ठीकै हुन्छ, तर जब हप्तौँ र कहिलेकाहीँ महिनौँसम्म लाग्ने हुस्सुले गाउँ घेरिरहन्छ, त्यस्तो वेला घुर ताप्नु (आगो ताप्नु) नै अन्तिम विकल्प हो ।

मधेसको दलित बस्तीमा ओड्ने, ओछ्याउने र लगाउने लुगासमेत गतिलो हुँदैन । घाम लागे त ठीकै हो, तर जब हप्तौँसम्म हुस्सुले गाउँ घेरिरहन्छ, त्यस्तो वेला घुर ताप्नु नै अन्तिम विकल्प रहन्छ । तर, घुर ताप्न दाउरा पर्याप्त हुँदैन ।
 

घुर ताप्न दाउरा पर्याप्त हुँदैन । त्यस्तो वेला गुहाली (गोठ) भित्र र भान्साकोठामा सानो खाल्टो खनिन्छ । सुकेको पातपतिंगर, गुइँठा, र केही दाउरा खाल्टोभित्र हालिन्छ । त्यसपछि आगो बालिन्छ । ओसिलो पातपतिंगरले आगो बल्दैन, धुवाँ मात्रै पुतपुताइरहन्छ । त्यही धुवाँको न्यानोमा बुढापाका, महिला र केटाकेटी जम्मा हुन्छन् । कतिपय ठाउँमा बुढापाकाहरू रातभरि त्यहीँ बस्छन् र पराती (गीत) गाउँछन् । हल्का न्यानोमा बस्दा बुढापाका त्यहीँ निदाउँछन् र कहिलेकाहीँ धोतीसमेत जल्छ । मधेसमा घुर ताप्दा धोती जलेर मृत्यु भएको खबर वेलावेला आउने गर्छ । घुर ताप्दाताप्दै चिसोको कारण बिरामी हुने र कठ्यांग्रिएर मर्ने घटना पनि वेलावेला सुनिएकै हो । मानिस मात्रै होइन, गाईवस्तु र घरसमेत जल्ने गर्छन् । 

चिसो बढ्दै गएपछि मान्छे मात्रै होइन, गाईबस्तु र चराचुरुंगीको पनि बिजोग सुरु हुन्छ । शीतले गुँड भिज्छ । गोठ चिसिन्छ । त्यस्तो वेला गाईबस्तुलाई जोगाउन गोठभित्र बाक्लो पराल ओछ्याउने गरिन्छ । साथै, छेउमा घुर (आगो) बाल्ने चलन छ । चौपायाकोे शरीर ढाक्ने गरी पुरानो लुगा वा सनको बोराको मोटो गुन्द्री सिएर ओढाउने पनि गरिन्छ । 
सिरहाको धनगढीमाई नगरपालिकाका चमारबस्ती, छपरारी बजार, बाखैर गाउँ, पासवान टोल, महत्तो टोलमा लिइएका प्रतिनिधि तस्बिरहरू :