मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ पौष ११ शुक्रबार ०७:५३:००
Read Time : > 1 मिनेट
विश्व

फिलिपिन्समा समुद्री आँधीको वितण्डा, १६ को मृत्यु, हजारौँ विस्थापित

Read Time : > 1 मिनेट
२०७६ पौष ११ शुक्रबार ०७:५३:००

मध्यफिलिपिन्समा आएको समुद्री आँधीका कारण कम्तीमा १६ जनाको मृत्यु भएको छ । क्रिसमसकै दिन आएको सो आँधीमा दर्जनाैं मानिस बेपत्ता हुनुका साथै हजाराैं विस्थापित भएका छन् । विस्थापितमध्ये अधिकांशलाई अस्थायी शिविरमा राखिएको छ । टाइफुन फ्यानफोन नाम दिइएको सो आँधीमा हराइरहेका व्यक्तिको खोजी तथा उद्धार कार्य तीव्र पारिएको उद्धारकर्ताहरूले बताएका छन् ।

प्रभावित क्षेत्र अस्तव्यस्त
प्रतिघन्टा १९५ किलोमिटरको गतिमा आएको आँधीपछि प्रभावित क्षेत्रको विद्युत् र टेलिफोन सेवा अवरुद्ध छ । त्यस्तै, आँधीले पिउने पानीका पाइप बगाउँदा प्रभावित क्षेत्रमा पिउने पानीको हाहाकार भएको छ । आँधीपछि आएको बाढीले केही सडकखण्ड र पुल भत्काउँदा सो क्षेत्रमा पुग्न उद्धारकर्तालाई समस्या परेको छ । त्यस्तै मोबाइल फोन र इन्टरनेट बिहीबारदेखि अवरुद्ध छ । आँधीका कारण केही आवासीय भवन तथा अन्य भौतिक संरचना भत्किएका छन् । आँधीपछि विद्युत् सेवा अवरुद्ध हुँदा प्रभावित क्षेत्रका कतिपय बासिन्दा अन्धकारमा बस्न बाध्य छन् । आँधीले मध्यफिलिपिन्सको एउटा विमानस्थलमा ठूलो क्षति पुर्‍याएकाले सो विमानस्थल भएर उड्ने विमान सेवाले आफ्ना सबै उडान रद्द गरेको छ । आँधीपछि बेपत्ता भएका मानिसको खोजीकार्य तीव्र पारिएको उद्धारकर्ताहरूले बताएका छन् । 

बारम्बार प्राकृतिक विपत्ति
आँधी, भूकम्प र बाढीजस्ता प्राकृतिक विपत्तिका कारण फिलिपिन्समा बर्सेनि सयौँको ज्यान जाने गरेको छ । फिलिपिन्समा सन् २०१३ मा आएको आँधी अहिलेसम्मकै खराब मानिन्छ । टाइफुन हाइयान नाम दिइएको सो आँधीमा ७ हजार ३ सयजनाको मृत्यु भएको थियो । बुधबार आएको आँधी टाइफुन हाइयान प्रभावित क्षेत्रनजिकै आएको थियो ।

हजारौँ बिचल्लीमा
आँधीपछि मध्यफिलिपिन्सका विभिन्न प्रान्तमा धेरै मानिस हराइरहेका छन् भने क्रिसमस मनाउन घर फर्किएका हजाराैं व्यक्ति बिचल्लीमा परेका छन् । आँधी सबैभन्दा पहिला मंगलबार राति मध्यफिलिपिन्समा प्रवेश गरेको थियो र क्रिसमसको दिन अन्य टापुमा पनि विस्तार भएको थियो । आँधीको पूर्वसूचनापछि ५८ हजार मानिसलाई सुरक्षित क्षेत्रमा लगिएको थियो । तर, फेरीसेवा अवरुद्ध भएपछि बन्दरगाह क्षेत्रमा १५ हजार मानिस बिचल्लीमा परेका थिए ।