२०७६ पौष १० बिहीबार २२:०२:००
शिवप्रसाद तिवारी  काठमाडाैं

मुम्बई र महाराष्ट्रमा देखेको पूर्वाधार विकास 

शिवप्रसाद तिवारी  काठमाडाैं
२०७६ पौष १० बिहीबार २२:०२:००

गत ११ मंसिरमा मुम्बईबाट काठमाडौं फर्किने क्रममा त्यहाँको छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थलमा बेलायतका नागरिकसँग गफिन पाएँ । उनी मुम्बई घुमघाम सकेर स्वदेश फर्किंदै रहेछन् । कुरै कुरामा उनले भने, ‘यु नो मुम्बई इज अ ह्युज सिटी (बुझ्यौ, मुम्बई त एकदम ठूलो सहर रहेछ )’। 

मैले नि थपेँ, ‘माई कन्ट्री नेपाल ह्याज टोटल पपुलेसन अफ लेस द्यान थर्टी मिलियन, ह्वेर एज मुम्बई अलोन ह्याज मोर द्यान ट्वेन्टी मिलियन पिपल (मेरो देश नेपालको जनसंख्या ३ करोड पनि छैन, जबकी मुम्बईमै दुई करोडभन्दा बढी मानिस रहेछन्)’ । जवाफमा उनले बेलायतको जम्मा जनसंख्या ६ करोड जति रहेको बताए । त्यसो त मुम्बईको विशालताको छनक त्यहाँको विमानस्थलमा पनि पाइन्छ । पूर्वाधार विकासको गजबको नमुना हो, त्यो विमानस्थल । 

मुम्बई विश्वकै धेरै जनसंख्या र सबैभन्दा बढी जनघनतत्व भएको सहरमध्ये मानिन्छ । नेपालीका लागि भने चेलीबेटी बेचबिखनका कारण डर लाग्दो र बलिउडका कारण आकर्षक होला भन्ने परस्पर विसंगतीपूर्ण भावना जगाउने सहर यो हो ।  भारतको राजधानी नयाँ दिल्लीमा बसेर दुई वर्ष अध्ययन गरे पनि मैले मुम्बई पुग्ने अवसर त्यतिबेला पाएको थिइनँ । 

यही ६ देखि ११ मंसिर (नोभेम्बर २२ देखि २७)मा मलाई नेपाली पत्रकारको एउटा टोलीसँग भारतको चर्चित महानगरी मुम्बई भ्रमण गर्ने अवसर जुर्यो । भ्रमणको आयोजक थियो, स्वतन्त्र युवा प्रजातान्त्रिक संघ नेपाल र उदेश्य थियो, नेपाल र भारतबीच जनताको तहमा रहेका सम्बन्ध बुझ्ने । मुम्बई मात्र होइन शिर्डी साइबाबाको मन्दिर रहेको शिर्डी, बैकंटेश्वर मन्दिर, शनिश्चर मन्दिर, अनारलगायतको पकेट क्षेत्र नाशिक र पुणे पनि घुम्न पाइयो । भ्रमण सकिदा पुनः एक पटक महसुस भयो, नेपाल र भारतबीच जनताको तहमा राजनीतिज्ञले चाहेर पनि बिगार्न गाह्रो पर्ने सम्बन्ध छ । मुम्बई र हामीले घुमेका महाराष्ट्रका ठाउँहरूको पूर्वाधार अवलोकन गर्ने योजना हाम्रो थिएन । तर घुम्दै जाँदा त्यहाँको पूर्वाधारबाट  प्रभावित भएँ ।

हामी मुम्बई जाँदा महाराष्ट्रको राजनीतिमा गजबको उतारचढाब भइरहेको थियो । त्यहाँ भाजपा नेतृत्वको प्रदेश सरकार बनेको करिब २-३ दिनमै बहुमत सिद्ध गर्न नसक्दा विघटन भएर शिवसेनाका नेता उद्धव ठाकरेको नेतृत्वमा गठबन्धन सरकार बन्दै थियो । मुम्बईका पत्रिकामा यसबारे ठूलाठूला शीर्षकमा समाचार आइरहेका थिए । तर त्यसको छनक न त्यहाँको सडकमा पाइन्थ्यो न हामीलाई त्यसका बारेमा चासो लिने फुर्सद थियो । अहिलेको महाराष्ट्रको राजनीतिमा हिन्दूवादी भारतीय जनता पार्टी र शिवसेनाको गठबन्धन टुटेर शिवसेना र  धर्म निरपेक्ष (सेक्युलर) कांग्रेस (आई) र राष्ट्रवादी कांग्रेस  पार्टी (एनसिपी) बीचको गजबको गठबन्धनको धेरै चर्चा भएका छन् । यसले महाराष्ट्र र समग्र भारतकै राजनीतिमा दीर्घकालीन प्रभाव पार्ने विश्लेषण मुम्बईबाट प्रकाशित हुने पत्रपत्रिकामा पढ्न पाइयो । तर यो भ्रमणको चासोको विषय थिएन । फर्किने बेला ‘महाराष्ट्रको राजनीतिलाई एउटा मोड दिइयो’ भनेर साथीहरूले हासा ेमजाक त गरे तर  त्यहाँको कच्पल्टिएको राजनीति सल्ट्याउने ‘महान् उदेश्य’ बोकेर हामी त्यहाँ गएका थिएनौँ । 

भ्रमणको पहिलो दिन काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिनको १ः२५ मा उड्ने भनेको नेपाल वायुसेवा निगमको जहाज दिल्लीबाट काठमाडौं आइपुग्न ढिला भएको, विमानस्थलको व्यस्तताका कारण आकाशमै होल्डमा परेको र विमानस्थलबाट मुम्बई उड्ने क्रममा टेक अफ गर्ने बेलामा पनि विमानस्थलको  व्यस्तताका कारण ३ः२० तिर मात्र उड्यो । यो हामी नेपालीका लागि कुन अनौठो कुरा भयो र ? मुम्बईको छत्रपति शिवाजी महाराज विमानस्थलमा ६ बजेतिर ल्याण्ड गरेको भए पनि विमानस्थलबाट निस्कन र सवारी साधन रिजर्भ गर्न समय लागेकाले हामी बस्न नेपालीहरूले नै चलाएको होटल रिगा इन पुग्दा रातको करिब ९ः३० बजेको थियो । 

दोस्रो दिन ७ मंसिरदेखि हामीलाई घुम्न सजिलो होस्, मुम्बईमा व्यवसाय गरेर बसेका सहृदयी व्यक्ति मोहन न्यौपाने भनेर चिनिने मोतिलाल न्यौपानेले हामी ८ जना जसोतसो अटाउने जिपको  व्यवस्था गरिदिए । त्यो जिप हामी फर्कने दिन ११ गतेसम्मै रिजर्भ गर्यौँ । जिपका मालिक-चालक महाराष्ट्रका मिस्टर जादव (यादव होइन) थिए । उनको नाम थाहा भएन, यात्राभरि जादवलाई भैया मात्र भनेर बोलाइयो ।  करिब २७÷२८ वर्षका उनी मृदुभाषी र समझदार थिए । करिब ४-५ दिन सँगै यात्रा गरेपछि उनी हाम्रा साथी, दाजुभाइ  जस्तै भए । चालकले मुम्बई र समग्र महाराष्ट्र नेपालीहरू प्रशस्त रहेको बताए । उनको एउटा मिल्ने नेपाली साथी रहेको पनि उनले बताए । 

६ लेन फराकिलो र धेरै ठाउँमा फ्लाइओभर र टनेलसहितको  राजमार्ग, पहाडी भूगोल भए पनि सलल गाडी गुड्ने चिल्ला सडक । बीचमा पर्ने बस्ती र सहरहरूका कारण राजमार्गका सवारीलाई कुनै बाधा व्यवधान छैन ।

भ्रमणको दोस्रो दिन हामी मुम्बई वरिपरी घुम्यौँ । हामीलाई कहाँ कहाँ घुमाउने भनेर तिनै सहृदयी मोहन न्यौपानेले गाडी चालकलाई भनिदिएका थिए । त्यो दिन हामी चर्चित महालक्ष्मीको मन्दिर, जुहु बीच, समुद्रमाथि बनेको पुललगायतका ठाउँमा पुग्यौँ । बाटामा चालकले हामीलाई अमिताभ बच्चन, सलमान खान, शाहरूख खान, हेमामालिनी, मुकेश अम्बानी आदिका निवास पनि देखाए । मनिषा कोइरालाको निवास भने उनले देखेका रहेनछन् । २३ नोभेम्बर (७ मंसिर)कै दिन हामीले चर्चित बालाजी टेलिफिल्म लिमिटेडको उच्च तहमा काम गर्ने रवि भट्टराईलाई भेट्यौं । एकता कपुरले नेतृत्व गरेको उक्त कम्पनीमा उनी पोस्ट प्रोडक्सन म्यानेजर रहेछन् । शनिबार र आइतबार मुम्बईको बहुचर्चित फिल्मसिटी औपचारिक रुपमा बन्द हुने भए पनि उनै भट्टराईको सहयोगमा हामीले त्यहाँ जाने अवसर पायौँ । पोखरा लेखनाथका भट्टराई करिब ४ दशकअगाडि नै मुम्बई गएका रहेछन् । त्यतै घरजम गरेर ‘सेटल’ भइसकेका  रहेछन् । तर नेपालीलाई भेट्न र सहयोग गर्न उनी हुरुक्कै हुँदारहे छन् । उनले हामीलाई उदितनारायण झासँग पनि भेटाउने चाँजोपाँजो मिलाउन खोजेका थिए । तर झा सपरिवार अमेरिका गएका रहेछन् । यहाँबाट मुम्बई जाँदा उदितनारायण जस्तो प्रख्यात गायकलाई भेट्न गाह्रो होला जस्तो मलाई लागेको थियो । तर रवि भट्टराईहरूलाई चिन्ने हो भने र उनीहरूले सहयोग गरे भने उदितनारायणलाई भेट्न पाइँदो रहेछ । नेपालको पहाडतिर भारतीय र भारतीय ठानेर नेपाली मधेसीमाथि हुने जस्तो विभेदकारी व्यवहार मुम्बईमा नेपालीमाथि नहुने उनले बताए । मुम्बईमा क्षमता हुने नेपालीले काम गरेर स्थापित हुन पाउने उनले बताए ।

२४ नोभेम्बर (८ मंसिर)को बिहान मुम्बई वरिपरि घुमेपछि मिरा रोडमा रहेको नेपालीहरूको संगठन मनकामना एकता समाजको कार्यालयमा उक्त संगठनले हामीलाई स्वागत ग¥यो । त्यहाँ संस्थाका अध्यक्ष मोतिलाल (मोहन) न्यौपानेले उक्त संस्थाका बारेमा बताए । संस्थाका पूर्व अध्यक्ष शालीग्राम तिवारी मुम्बईमा लामो समयदेखि बसोबास गरिरहेका रहेछन् । असाध्यै मृदुभाषी र सरल शालीग्रामको नेतृत्वमा आपतमा परेका धेरै नेपालीलाई पनि सहयोग भएको रहेछ त्यहाँ । उनीहरूले नेपाल भारत विपी कोइराला फाउन्डेसनको सहयोगमा मुम्बईमा बस्ने नेपालीका बारेमा अध्ययन पनि गरेका रहेछन् । मुम्बईबाट प्रकाशित हुने नेपाल न्युज दैनिकका सम्पादक भूमिलाल पौडेल (प्रकाश)ले मुम्बईमा बस्ने नेपालीका बारेमा हामीलाई जानकारी गराए । समाजमा आबद्ध खासगरी महिलाहरूले बनाएका पुलाउ र राइताको मीठो स्वाद सम्झदै त्यही दिन हामी शिर्डी साइबाबाको मन्दिर दर्शनका लागि हिड्याैँ । 

महाराष्ट्र समुद्रसँग जोडिएको प्रदेश हुनाले बिहार र उत्तर प्रदेशजस्तै समथर होला जस्तो लागेको थियो । तर त्यो यात्राको दौरान महाराष्ट्रमा पहाडी भूभाग पनि धेरै नै रहेछ भन्ने थाहा भयो । नेपालका जस्ता ठूला ठूला पहाड नभए पनि महाराष्ट्रमा ठूला ठूला फाँट र स–साना पहाडहरू धेरै नै रहेछन् । शिर्डी जाँदा बीचबीचमा देखिएका गाउँहरूले नेपालकै सम्झना गराउने रहेछन् । शिर्डीमा हामी रातको ९ बजेतिर पुग्यौं तर बीचमा बैंकटेश्वर मन्दिरको दर्शन गर्ने अवसर पनि जुट्यो । म सन् २०११ देखि २०१३ सम्म नयाँ दिल्लीमा साउथ एसियन युनिभर्सिटीमा पढ्दा भारतले पूर्वाधार र कनेक्टिभिटीलाई प्राथमिकतामा राखेको बारे पढेको थिएँ । यसपाली महाराष्ट्रमा सडकलगायतका पूर्वाधार विकासले मलाई त्यो वास्तविकतामा अनुवाद हुँदै गएको महसुस गरायो । भारतका गाउँ गाउँसम्म पनि राम्रा सडक बनाइएका रहेछन् । पहाडको काखकाखै र शिरसम्म पनि सलल परेका फराकिला तर वातावरण मैत्री लाग्ने सडक र एक्सप्रेस वे बनेका छन् । पहाडको काखमा रहेका गाउँहरूमा रेल पुगेका छन् ।  जतिखेर र पनि जहिले पनि भारतको आलोचना गरेर नथाक्नेहरूले भारतले सडक र कनेक्टिभिटीका पूर्वाधारमा गरेको विकासबाट सिके कति राम्रो हुन्थ्यो जस्तो लाग्यो । फराकिला र चिल्ला सडक पु¥याइएका गाउँका बस्ती भने सरसफाईको मामलामा केही समस्याग्रस्त नै देखिए । सरसफाई नागरिक चेतनाको मापन गर्ने महत्वपूर्ण विषय हो । 

भोलिपल्ट २५ नोभेम्बर (९ मंसिर)मा बिहान शिर्डी साइबाबाको दर्शन गरियो । शिर्डी महाराष्ट्रको अनारखेतीको पकेट क्षेत्र नाशिकको नजिकै पर्ने हुनाले त्यहाँ अनार सस्तो रहेछ, भारतीय रुपियाँ ५० प्रतिकिलो । छोडाएर राखिएको अनार प्रति प्लास्टिक कप ५ रुपियाँमा पाइने । यति सस्तो अनार खान के पाइला र भन्ने लोभैले पनि दुई कप अनार खाएँ, अरु साथीहरूले पनि खाए । त्यही दिन बिहानको १०  बजेतिर त्यहाँबाट पुणेका लागि हिँडियो । सडक फराकिला र राम्रा थिए । पुराना सडक भएका ठाउँमा पनि त्यसको सुधार मर्मत हुँदै गरेका थिए । बाटोमा शनी शिगंणापुरमा शनी मन्दिरको दर्शन पनि गरियो । बाटोमा गोरु प्रयोग गरेर फलफुलको जुस पेल्ने ठाउँमा जुस पनि खाइयो । सिताफल, हनुमानफल, अनार सस्तोमा पाइने हुनाले ती फलहरू प्नि किन्यौं । अनार त खाएर सक्नै गाह्रो पर्यो । २७ नोभेम्बर (११ मंसर)मा मुम्बइर्बाट काठमाडौं फर्कने बेला होटलबाट निस्कने क्रममा त्यहाँ किनिएका अनार बल्लबल्ल खाएर सक्नुपर्ने अवस्था बन्यो । 

२५ नोभेम्बरको दिनभरि नै यात्राकै क्रममा गयो भन्दा पनि हुन्छ । त्यो राति महाराष्ट्रको पुणे पुगियो । नेपालीहरूले नै सञ्चालन गरेको होटलमा बसियो । पुणेमा मेरो दिल्ली पढ्दाका साथी अनिकेत भावथकंरलाई भेट्न मन थियो, तर त्यो सम्भव हुन सकेन । २५ नोभेम्बर हामी राति पुगेकाले उनी आउन सकेनन् र भोलिपल्ट हामी बिहानै प्रतिबालाजीको मन्दिर दर्शन गर्न जानुपर्ने भएकाले म जान सकिनँ । भोलिपल्ट २६ नोभेम्बर (१० मंसिर)मा हामी प्रतिबालाजीको मन्दिर दर्शन गर्न गयौँ । त्यसपछि मुम्बई फर्कियौं । पुणेबाट प्रतिबालाजी जाँदा र आउँदा अनि पुणेबाट मुम्बई आउँदा देखेको एक्सप्रेस वेले हामी सबैलाई चकित जस्तै तुल्यायो । ६ लेन फराकिलो र धेरै ठाउँमा फ्लाइओभर र टनेलसहितको  राजमार्ग, पहाडी भूगोल भए पनि सलल गाडी गुड्ने चिल्ला सडक । बीचमा पर्ने बस्ती र सहरहरूका कारण राजमार्गका सवारीलाई कुनै बाधा व्यवधान छैन । पुणे सहरमा समेत मुम्बई–पुणे–बेगंलुरु राजमार्गमा चल्ने साधनलाई कुनै व्यवधान छैन । यस्तो पूर्वाधार नेपालमा भए भन्ने हामी सबैलाई लाग्यो । आशा र निराशाका  कुराहरू भए ।

बेलुका मुम्बईमै बसोबास गर्ने होमराज पाण्डेको सहयोग लिँदै सपिङका लागि गयौं । काठमाडौंको तुलनामा भारतीय कपडा निकै नै सस्ता पाइने हुनाले भ्रमण टोलीका सबैले आफूले सकेको कपडा किने । २७ नोभेम्बरका (११ मंसिर)का दिन काठमाडौं फर्कने दिन थियो । फ्लाइट डिलेका कारण बेलुका ५ः२५ मा उड्ने भनेको जहाज बल्ल बल्ल बेलुकाको ८ः३५ मा उड्यो । रातको १०ः४५ मा काठमाडौंमा ओर्लिएर कलंकी बासस्थान आइपुग्दा १२ बजिसकेको थियो । 

मुम्बईमा धेरै नेपालीसँग कुराकानी गर्न पाइयो । रवि भट्टराई, मोहन न्यौपाने, शालीग्राम तिवारी, भूमिलाल पौडेल सबै जसोले मुम्बईमा नेपालीहरूले खासै विभेद  भोग्नु नपर्ने बताए । रविले काठमाडौं र नेपालको पहाडी क्षेत्रमा भारतीय र नेपालकै मधेसीहरूप्रति हुने जस्तो विभेद मुम्बईमा भोग्नु नपरेको बताए । न्यौपानेको धारणा पनि त्यस्तै थियाे । त्यहाँ धेरै वर्ष बसेका नेपालीहरूको बोलीमा त्यहीको लबजको प्रभाव पनि देखियो । मुम्बईमा जेजति भारतीयहरूसँग कुरा भयो, उनीहरूको नेपालीहरूप्रति खासै नराम्रो भावना पाइएन ।  

नेपालीहरू मेहनती, परिश्रमी र भरपर्दा हुन्छन् भन्ने उनीहरूको राय रह्यो । यता आउने दिन २७ नोभेम्बरमा कपाल र दाह्री काट्ने ठाउँमा जाँदा त्यहाँका हजामले हामी नेपाली भन्ने थाहा पाएपछि गरेको माया र सम्मान गजबको थियो । काठमाडौं आएर पशुपतिको दर्शन गरेका उनले हामीलाई चिया मगाएर ख्वाउनसमेत तत्परता देखाए । मुम्बई र महाराष्ट्रमा हामीले पाएको माया र पूर्वाधार विकास सम्झदै फेरि धित मर्ने गरी मुम्बईको भ्रमण गर्ने योजनासहित ११ मंसिरमा हामी कर्मस्थल काठमाडौं फर्कियौँ ।