१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
कपुरकोटमा निर्माण गरिएको पर्यटकीय प्रवेशद्वार ।
२०७६ पौष १० बिहीबार १६:४१:००
Read Time : > 1 मिनेट
पर्यटन

कर्णाली प्रवेश गर्ने कपुरकोटमा पर्यटकीय प्रवेशद्वार

Read Time : > 1 मिनेट
२०७६ पौष १० बिहीबार १६:४१:००

नेपाल भ्रमण वर्ष २०२० सुरु हुन एक हप्ता भन्दा कम समय बाँकी हुँदा सल्यान जिल्ला तथा कर्णाली प्रदेश प्रवेश बजार कपुरकोटमा पर्यटकीय प्रवेशद्वार निर्माण गरिएको छ । 

कर्णाली प्रदेश प्रवेश गर्ने दुई ठूला नाका बबई र कपुरकोट मध्ये कपुरकोट बजारमा पर्यटक लक्षित प्रवेशद्वार निर्माण गरिएको हो । गेट निर्माण स्थल राप्ती राजमार्गको दाङ्ग सल्यान खण्डको कपुरकोटमा पर्दछ ।
तीन वर्ष अघि संविधानसभा सदस्य तथा सांसद भएको वेला कर्णाली प्रदेशका आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाको निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रमबाट विनियोजित ६ लाख रकमबाट गेट निर्माण सुरु गरिएको थियो । तर गेट निर्माण सम्पन्न हुन नसकेपछि अलपत्र अवस्थामा थियो ।

कर्णाली सरकारबाट गेट निर्माण सम्पन्न गर्न थप १० लाख रुपैयाँ सहयोग पाएपछि १६ लाख रुपैयाँको लागतमा प्रवेशद्वार निर्माण गरिएको निर्माण समितिका अध्यक्ष भुवनेश्वर गौतमले जनाए । उक्त रकम मध्यबाटै गेट नजिकै एउटा प्रतीक्षालय समेत निर्माण गरिएको छ ।  

प्रवेशद्वारमा कुपिण्डेताल, खैरावाङ मन्दिर, छायाँक्षेत्र, कपुरकोट वेमौसमे तरकारी, कुमाख लेक, फलावाङ दरवार लगायत सल्यान चिनाउने पर्यटकीय पहिचानहरुको जानकारी दिइएको छ । कर्णाली सरकारका आर्थिक मामिला मन्त्री प्रकाश ज्वालाले कपुरकोट क्षेत्र वेमौसमी तरकारीले प्रख्यात रहेकोले धेरै मानिसहरु यहि नाका भएर कर्णालीसम्म पुग्ने गरेको बताए । 

कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले कपुरकोटमा निर्माण गरिएको स्वागतद्वारमा कोरिएका तस्विरले सल्यान जिल्लाका महत्वपूर्ण पर्यटकिय स्थलहरुको प्रचारमा टेवा पुर्याएको उल्लेख गरे । उनले भ्रमण वर्ष २०२० मा कर्णाली भ्रमण गर्ने पर्यटकहरुलाई कपुरकोटमा स्वागत गर्ने बताए ।

कर्णालीका कुपिण्डे ताल, स्र्यापुताल, कमल ताल तथा शेफोक्सोन्डो पुग्ने पर्यटकहरुले यो मार्ग प्रयोग गर्ने गरेका छन् । सल्यान, रुकुम, जाजरकोट तथा डोल्पा पुग्नका लागि कर्णाली प्रदेशको प्रवेशद्वारको रुपमा यो ठाउँ रहेको छ ।