सहरमा नाटक
‘सुस्ताको माटोले के बोल्छ, हामीलाई थाहा छ । सुस्ता हाम्रो माटो हो,’ सुस्तावासीले सीमा सुरक्षामा खटिएका भारतीय सीमा सुरक्षा बल (एसएसबी)का अधिकृतलाई भन्दै थिए । एसएसबीका अधिकृतले उनीहरूलाई ‘सुस्ता भारतमा पर्छ’ भन्दै थर्काउँछन् ।
नेपाल सरकारसँग कुरा गर्छु भन्दै ती अधिकृतले सुस्तावासीलाई लोभ र लालच पनि देखाउँछन् । तर, नेपाली भूमि मिच्न नदिनेमा स्थानीय बासिन्दा अडिन्छन् । आफ्नो माटोका लागि ज्यान दिन तयार रहेको उनीहरूको भनाइ हुन्छ । तर दुर्भाग्य ! सीमा छुट्याई उभिएको जंगेपिलर रातारात एसएसबीका सुरक्षाकर्मीले लुकाइदिन्छन् र सीमा मिचिन्छ ।
यो संवाद हो, नाटक ‘जंगेपिलर’को । ७–८ पुसमा राष्ट्रिय नाचघरमा मञ्चन भएको नाटकमा सुस्तावासीको कहिल्यै नसुल्झिएको पीडा प्रतिबिम्बित छ । सुस्तामा नेपालको वास्तविक भूमि ४० हजार नौ सय ८० हेक्टर हो । त्यसमा १४ हजार हेक्टर भारतीय अतिक्रमणमा परेको छ । नेपालसँग औपचारिक रूपमा सात हजार हेक्टर मात्रै छ । बाँकी १९ हजार नौ सय ८० हेक्टरलाई विवादित क्षेत्र भनिएको छ ।
अतिक्रमित भूमि फिर्ता ल्याउन स्थानीय बासिन्दा र एसएसबीबीच पटक–पटक विवाद हुँदै आएको छ । भारतीय सुरक्षाकर्मीको हेपाइ र धम्की सहँदै आएका छन्, स्थानीयवासीले । राज्यले आफ्नो आवाज नसुनेको गुनासो सुस्तावासीको छ । बाँकी भूभाग पनि भारतीय पक्षको अतिक्रमणमा पर्ने त्रासमा रहन्छन्, उनीहरू । त्रासमा बाँचिरहेका सुस्तावासीको पीडालाई नाटकमार्फत उजागर गरिएको हो ।
लेखक तथा निर्देशक किशोर अनुरागले दुई वर्षअघि स्थलगत अवलोकनपछि यो नाटक लेखेका थिए । नाटकमा मुख्य पात्रको भूमिकामा अनुराग नै छन् । सांस्कृतिक संस्थानको आयोजनामा यो नाटक मञ्चन भएको हो । सिमानामा रहेका जंगेपिलरहरू दिनप्रतिदिन हराउने क्रम जारी छ । ती पिलर कहाँ जान्छन्, कसले सार्छ र किन हराउँछन् भन्ने विषयलाई चित्रण गरिएको छ, ‘जंगेपिलर’मा ।