१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ पौष ८ मंगलबार ०९:२९:००
Read Time : > 1 मिनेट
सप्तरंग

अलाहावादको कोर्समा शास्त्रीय संगीत

Read Time : > 1 मिनेट
२०७६ पौष ८ मंगलबार ०९:२९:००

संगीत स्कुल

‘हेर्दा सानै देखिन्छु, तर मैले संगीत पढाउन थालेको १३ वर्ष भयो,’ यसो भनिरहँदा संगीतसाधक उमेशराज खड्काको अनुहारमा खुसी झल्किन्थ्यो । उनको खुसीको रहस्य थियो, महाराजगन्जमा भर्खरै सञ्चालनमा आएको ‘ईश्वरीय संगीत पाठशाला’ । लामो समय अन्यत्र काम गरेपछि आफैँ केही गर्ने हुटहुटी भयो, उनलाई । त्यही हुटहुटीले उनलाई संगीत पाठशाला खोल्ने चेत जगाइदियो ।

बाल्यकालमा पाँचथरस्थित घरमा हजुरबाले बाकसमा राखेका ‘महाभारत’, ‘कृष्णचरित्र’लगायत धार्मिक ग्रन्थहरू फेला पारे । त्यतिवेलासम्म हजुरबाको देहान्त भइसकेको थियो । गोठालो जाँदा ती ग्रन्थ साथमै लिएर जान थाले । बिस्तारै उनलाई स्थानीय लोकगीतहरू संकलन गर्ने इच्छा जाग्यो । एसएलसीपछि झापामा कलेज पढ्दै गर्दा संगीत सिक्ने ठाउँ खोजी गरे । बिर्तामोडको एउटा गाडीमा ‘सनलाइट संगीत विद्यालय’को विज्ञापन टाँसिएको थियो । त्यसैलाई पछ्याउँदै संगीत प्रशिक्षक कृष्ण योञ्जनसँग पुगे ।

तीन वर्ष संगीत सिकेपछि भारत अलाहावादमा गुरु ऋषिकेशबाट चार वर्ष शास्त्रीय संगीत सिके । त्यहाँबाट काठमाडौं आएर धनबहादुर गोपालीबाट थप चार वर्ष संगीत सिके । अहिले आफैँ सञ्चालक रहेको ‘ईश्वरीय संगीत पाठशाला’मा गायन सिकाउँछन्, उनी । यस पाठशालामा खासगरी शास्त्रीय संगीत सिकाइन्छ । लोक र आधुनिक गीत/संगीत पनि सिक्न पाउँछन्, विद्यार्थीले ।

‘शास्त्रीय संगीत नै सबै संगीतको व्याकरण हो,’ उनी भन्छन् । भारत अलाहावादस्थित प्रयाग संगीत समितिको पाठ्यक्रम पछ्याइएको छ, पाठशालामा । खड्काले पनि त्यहीँबाट संगीतमा स्नातकोत्तर गरेका हुन् । विद्यार्थीको सैद्धान्तिक र प्रयोगात्मक जाँच अलाहावादकै गुरुहरू आएर गराउँछन् । ६ वर्षको कोर्स सकेपछि ‘ब्याचलर अफ म्युजिक’सम्मको प्रमाणपत्र पाउँछन्, विद्यार्थीले । पाठशाला सञ्चालनमा आशिष थापालगायत युवा सहभागी छन् ।

भारत अलाहावादस्थित प्रयाग संगीत समितिको पाठ्यक्रम पछ्याइएको छ, पाठशालामा । विद्यार्थीको सैद्धान्तिक र प्रयोगात्मक जाँच अलाहावादकै गुरुहरू आएर गराउँछन् ।

आर्थिक कारणले सहरका संगीत विद्यालयहरूमा पुग्न नसकेका विद्यार्थीका लागि गुरुकुल परम्परामा आधारित रहेर प्रशिक्षण दिइने गरेको खड्का बताउँछन् । घर भाडामा लिएर संगीत होस्टेल नै सञ्चालन गरिरहेका छन् । दुर्गम क्षेत्रबाट आएका विद्यार्थीलाई होस्टेलमा बस्ने र संगीत सिक्ने निःशुल्क व्यवस्था छ, यहाँ । अन्य विद्यार्थीले मासिक एक हजार पाँच सय रुपैयाँ तिरेर संगीत सिक्न पाउँछन् । दैनिक एक घन्टाको कक्षा सञ्चालन हुन्छ ।

पाठशालामा गायनमा खड्का, तबलामा समिटे, गितारमा मदन गुरुङलगायतले सिकाउँछन् । किबोर्डका प्रशिक्षक पनि भित्र्रयाउने तयारीमा छन् । हरेक महिनाको अन्तिम शनिबार सांगीतिक क्षेत्रका हस्तीहरू ल्याएर कार्यक्रम गरिन्छ । ‘नयाँलाई प्रोत्साहन र पुरानालाई मञ्च दिनु हाम्रो उद्देश्य हो,’ खड्का भन्छन् । अहिले डाक्टर, इन्जिनियर, उद्यमी, प्रहरीलगायत क्षेत्रका प्रशिक्षार्थीहरूले संगीत सिकिरहेका छन्, यहाँ ।