मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नौरियल रोउबिनी
२०७६ पौष ७ सोमबार १३:१९:००
Read Time : > 4 मिनेट
दृष्टिकोण

विश्व अर्थतन्त्र जोखिमउन्मुख छ

अमेरिका र चीन दुवै व्यापारयुद्ध रोक्न सहमत हुन खोजिरहेका भए पनि आउँदो नोभेम्बरमा अमेरिकामा निर्वाचन सकिएपछि ध्रुवीकरण बढ्दै जाने निश्चितप्रायः छ

Read Time : > 4 मिनेट
नौरियल रोउबिनी
२०७६ पौष ७ सोमबार १३:१९:००

बितेको मे र अगस्ट महिनामा, अमेरिका र चीनबीचको व्यापार एवं प्रविधि द्वन्द्व गहिरिएसँगै सेयर बजार तीव्र रूपले ओरालो लागेको थियो भने ऋणपत्रको प्रतिफल ऐतिहासिक न्यून स्तरमा खस्किएको थियो । तर, त्यो त ऊ वेलाको कुरा हो । त्यसयता, वित्तीय बजार पुनः एकपटक उत्साहित भएको छ । अमेरिकी र अन्य ठाउँका सेयर नयाँ उचाइमा पुगेका छन् । साथै, सेयरको मूल्यमा सम्भावित नाटकीय वृद्घिको चर्चा पनि चलेका छन् । वित्तीय बजारको यो उत्साह व्यापार पुनर्वहाली नभइहाल्ने सम्भावना देखिएसँगै सेलाएको छ । अहिलेको विश्वव्यापी सुस्ती, सुस्त आर्थिक वृद्घि र स्थिर मुद्रास्फीति सँगसँगै सन् २०२० मा पनि जारी रहने आकलन छ ।

भर्खरै जोखिमरहित देखिएको बजार अचानक जोखिमतर्फ देखिएको छ । यसले चारवटा सकारात्मक विकासक्रमतर्फ संकेत गरेको छ । चीन र अमेरिका पहिलो चरणको सम्झौतामा पुग्ने र त्यसले कम्तीमा पनि उनीहरूबीच जारी व्यापार एवं प्रविधियुद्ध थप नचर्कने र केही समयका लागि भए पनि रोकिने देखिन्छ । 

दोस्रो बेलायतमा आगामी डिसेम्बर १२ मा निर्वाचन हुने नहुने अनिश्चयका बीच पनि प्रधानमन्त्री बोरिस जोनसनले युरोपेली संघसँग बेलायतको आंशिक बहिर्गमनको (सफ्ट ब्रेक्जिट) सम्झौता गर्ने प्रयास गरेका छन् । यसबाट बेलायतको दुर्घटनाग्रस्त बहिर्गमनको सम्भावना घटेको छ ।

तेस्रो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध ‘सर्जिकल स्ट्राइक’ले पूर्णस्तरको युद्ध निम्त्याउने र तेलको मूल्य अकासिने कुरा बुझेर मध्यपूर्वमा इरानको उक्साहटलाई संयमतापूर्वक सामना गरेको छ । त्यसैगरी, अमेरिकी फेडरल रिजर्भ, युरोपेली केन्द्रीय बैंक र अन्य प्रमुख केन्द्रीय बैंक, मौद्रिक नीति खुकुलो बनाएर भूराजनीतिक तनावलाई चिर्दै अगाडि बढेका छन् । केन्द्रीय बैंक एकपटक फेरि अर्थतन्त्रलाई सुस्तीबाट उद्धार गर्न अघि सरेका छन् । अहिले, अमेरिकाको उपभोग, सेवा र उत्पादन क्षेत्र स्थिर छ । 

तैपनि, विश्व अर्थतन्त्रमा सबै कुरा ठिकठाक भनिहाल्ने अवस्था छैन । पहिलो त चीन, जर्मनी एवं जापानका पछिल्ला तथ्यांकले आर्थिक सुस्तीको गति कम बने पनि त्यो अझै जारी रहेको देखाउँछ । दोस्रो कुरा, अमेरिका र चीन दुवै व्यापारयुद्ध रोक्ने सहमत हुन खोजिरहेका भए पनि विश्वका दुई शक्तिशाली राष्ट्रबीचको जारी धु्रवीकरण आउँदो नोभेम्बरमा अमेरिकामा निर्वाचन सकिएपछि बढ्दै जाने निश्चितप्राय छ । अब हुने शीत युद्ध, माध्यमिक एवं दीर्घकालीन हिसाबले त्यति भयानक नहुने आशा भने गर्न सकिन्छ । 

तेस्रो, चीनले हङकङमा जारी तनावको सामना गर्न निकै संयमता अपनाए पनि हङकङको तनावले त्यहाँको अवस्थालाई निकै खराब बनाइरहेको छ । सन् २०२० मा बलपूर्वक दमनको सम्भावना देखिन्छ । यी तमाम विषयबीच हङ्कङमा हुने चीनको कुनै पनि सशस्त्र बलको दमनले अमेरिकासँगको कुनै पनि व्यापार सम्झौतालाई भंग गरेर वित्तीय बजारमा झट्का दिन सक्छ । साथै, ताइवानलाई पनि स्वतन्त्रताको पक्षधरतर्फ धकेल्न सक्छ, जुन बेइजिङका लागि खतरा हुन सक्छ ।

ट्रम्पको ‘अमेरिका पहिलो’ भन्ने व्यापार विदेश नीतिले अन्तर्राष्ट्रिय व्यवस्था ध्वस्त पार्न सक्ने जोखिम निम्त्याएको छ । फ्रान्सेली राष्ट्रपति इम्यानुयल म्याक्रोंजस्ता युरोपका केही नेता नाटो अब अचेत अवस्थामा पुगेको भन्दै चिन्ता व्यक्त गर्दै छन् भने अमेरिकाचाहिँ जापान र दक्षिण कोरियाजस्ता आफ्ना एसियाली मित्रलाई सहयोग गर्नुको सट्टा झन् भड्काइरहेको छ ।

चौथो, आधिकारिक रूपले बेलायतको ‘पूर्ण बहिर्गमन’ नहुन पनि सक्छ । तर, अहिले पनि युरोजोन एउटा गहिरो समस्याबाट ग्रस्त छ, जुन समस्या बेलायतको बहिर्गमनसँग सम्बन्धित होइन । जर्मनीलगायत युरोपेली मुलुक निरन्तर माग बढाउन  संघर्षरत छन् । इसिबी गर्भनिङ काउन्सिलको एकतिहाइले अहिले कै चालू चरणको खुकुलोपनको विरोध गरिसकेको परिप्रेच्छमा युरोपेली केन्द्रीय बैंक(इसिबी)की अध्यक्ष क्रिस्टिन लागार्दले पनि मौद्रिक नीतिमार्फत प्रोत्साहन उपलब्ध गराउन सक्ने छैनन् । 

वृद्ध जनसंख्यामा भइरहेको वृद्घि, चिनियाँ मागमा आएको कमी एवं कार्बन उत्सर्जनका नयाँ मापदण्डको लागतका अलवा ट्रम्पको जर्मन तथा अन्य युरोपेली कारमाथि अतिरिक्त महसुल लगाउने निरन्तरको धम्कीका कारण पनि युरोप निकै संवेदनशील मोडमा छ । जर्मनी, स्पेन, फ्रान्स र इटालीजस्ता युरोेपका प्रमुख अर्थतन्त्रले राजनीतिक झमेलाको सामना गरिरहेका छन्, जुन आर्थिक समस्यामा परिणत हुन सक्छ । 

पाँचौँ, अमेरिकी नेतृत्वको प्रतिबन्धले हाल इरानका सडकमा प्रदर्शन बढाउनमा इन्धनको काम गरिरहेको सन्दर्भमा अमेरिकाको अहिलेको कदमको लागत बढाउन व्यापक क्षेत्रमा अस्थिरता भड्काउनुबाहेक अर्काे विकल्प इरानी शासकसँग पनि छैन । मध्यपूर्व पहिल्यैदेखि तनावग्रस्त छँदै छ । इराक र लेबनानमा व्यापक आन्दोलन चर्किएको छ । ती देश ऋण, बैंकिङ संकटका कारण लगभग टाट पल्टिने अवस्थामा पुगेका छन् भने त्यहाँ मुद्रा कागजको खोस्टामा परिणत हुनै लागेको अवस्था छ । अहिले त्यहाँ राजनीतिक शून्यताको अवस्था रहेकाले इरान समर्थित हेजबुल्लाहले इजरायलमा आक्रमण गर्ने निर्णय गर्न सक्छन् । टर्कीको सिरियामाथिको हस्तक्षेपले इराकको कुर्दिस्तानबाट भइरहेको तेल आपूर्ति अवरुद्ध हुनेजस्ता नयाँ जोखिम सिर्जना गरेको छ । यमनको शीत युद्ध तत्काल अन्त्य हुने छाँट देखिएको छैन । त्यसैगरी, इजरायल अहिले सरकारविहीन छ । यो क्षेत्र बारुदको थुप्रो बनेको छ, कुनै पनि विस्फोटले तेल आपूर्ति बन्द भएर नयाँ अध्यायको जोखिम निम्त्याउनेछ । 

अर्काे कुरा, केन्द्रीय बैंकहरू अर्थतन्त्रलाई भरथेग गर्न सक्ने अधिकतम सीमामा पुगिरहेका छन् । त्यसभन्दा अगाडि उनीहरूले गर्न सक्ने केही बाँकी छैन । वित्तीय नीति, राजनीति र उच्च ऋणको चेपुवामा निकम्मा बनेका छन् ।  निश्चित छ, अब कतै आर्थिक मन्दी वा संकट आइहाल्यो भने त्यहाँका नीति निर्माताले अझ थप अपरम्परागत नीति पछ्याउनुको विकल्प हुने छैन । 

त्यसैगरी, विश्वव्यापीकरण, व्यापार, बसाइँसराइ र प्रविधिविरुद्धको लोकप्रियतावादी आक्रमण अधिकांश स्थानमा थप खराब बन्दै गएका छन् । यस दौडमा अधिकांश राष्ट्र«ले वस्तु, पुँजी, श्रम, प्रविधि र तथ्यांकको गतिशीलतामाथि रोक लगाउने नीति पछ्याउन सक्छन् । बोलिभिया, चिली, इक्ेवडर, इजिप्ट, फ्रान्स, स्पेन, हङकङ, इन्डोनेसिया, इराक, इरान र लेबनानमा हालै भएका आन्दोलनले विभिन्न कारणलाई देखाए पनि सबै राष्ट्रले आर्थिक समस्या, असमानता र अन्य विषयवस्तुमाथिको बढ्दो राजनीतिक क्रोधको अनुभव गरिरहेका छन् । 

त्यसैगरी, ट्रम्पअन्तर्गतको अमेरिका अनिश्चयको सबैभन्दा ठूलो स्रोत बन्न सक्छ । ट्रम्पको ‘अमेरिका पहिलो’ भन्ने व्यापार विदेश नीतिले अन्तर्राष्ट्रिय व्यवस्था ध्वस्त पार्न सक्ने जोखिम निम्त्याएको छ । फ्रान्सेली राष्ट्रपति इम्यानुयल म्याक्रोनजस्ता युरोपका केही नेता नाटो अब अचेत अवस्थामा पुगेको भन्दै चिन्ता व्यक्त गर्दैछन् भने अमेरिकाचाहिँ जापान र दक्षिण कोरियाजस्ता आफ्ना एसियाली मित्रलाई सहयोग गर्नुको सट्टा झन् भड्काइरहेको छ । अमेरिकाको महाअभियोग प्रकरणले अझ द्विपक्षीय गत्यावरोध एवं युद्ध निम्त्याउन सक्छ । त्यसैगरी, नामांकनको दौडमा रहेका केही डेमोक्र्याट नीति निर्माणको स्थानमा रहेकाले तीनले पनि वित्तीय बजारलाई हतास बनाउन सक्छन् । 

अन्ततः मध्यकालीन प्रवृत्तिले पनि थप आर्थिक क्षति र विघटन निम्त्याउन सक्छ । विकसित मुलुक र उदीयमान मुलुकमा पाका उमेरको जनसांखिक वृद्घिले सम्भावित आर्थिक वृद्घिमा कमी ल्याउनेछ भने बसाइँसराइ माथिको प्रतिबन्धले समस्या झन् चर्काउनेछ । चरम प्रतिकूल मौसमी घटना निरन्तर विनाशकारी र खतरनाक बन्दै गइरहेका छन् । जलवायु परिवर्तनले पहिल्यैबाट महँगो आर्थिक क्षति पु¥याइरहेको छ । त्यसैगरी, प्रविधिगत नवप्रवर्तनले एकातिर दीर्घकालीन रूपमा अर्थतन्त्रको आकारलाई बिस्तार गरिरहेको छ भने कृत्रिम बौद्धिकता र स्वचालनले भने रोजगारी खोसेर पहिल्यै नै उचाइमा रहेको असमानतालाई थप फराकिलो बनाउँदै छ । आगामी आर्थिक संकटले चरम ऋण र बैकहरू टाट पल्टिने लहर निम्त्याउनेछ ।

वित्तीय बजार र वास्तविक अर्थतन्त्रबीचको सम्बन्ध विच्छेदन अब स्पष्ट रेखांकित हुँदै गएको देखिन्छ । लगानीकर्ता, अल्पकालीन जोखिममा आएको कमी र केन्द्रीय बैंक मौद्रिक खुकुलोपनको नीतितर्फ फर्किएका कारण खुसी छन् । तर, विश्व अर्थतन्त्रका आधारभूत जोखिम भने यथावतै छन् । यथार्थमा मध्यकालीन दृष्टिकोणबाट हेर्दा भने ती जोखिम थप खराब अवस्थामा पुगेका छन् ।


लेखक न्युयोर्क विश्वविद्यालयको ‘स्टर्न स्कुल अफ बिजनेस’मा अर्थशास्त्रका प्राध्यापक छन् ।