मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ पौष ७ सोमबार ०७:०२:००
Read Time : < 1 मिनेट
समाचार

गाउँपालिका अध्यक्ष जेल चलान : सवारी ज्यान मुद्दामा २९ दिन कैद भुक्तान गर्नुपर्ने अदालतको फैसला

Read Time : < 1 मिनेट
२०७६ पौष ७ सोमबार ०७:०२:००

सवारी ज्यान मुद्दा लागेका विश्रामपुर गाउँपालिकाका अध्यक्ष अमिरीलाल राउत जेल चलान भएका छन् । अदालतको आदेशबमोजिम सजाय भुक्तान नगरेका राउतलाई आइतबार प्रहरीले पक्राउ गरी वीरगन्ज कारागार चलान गरेको हो ।

इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरी टोलीले राउतलाई उनको घरबाटै पक्राउ गरी अदालतको फैसला कार्यान्वयनका लागि कारागार चलान गरेको प्रहरी उपरीक्षक विकासराज खनालले बताए ।

त्रिभुवन राजपथको वीरगन्ज–पथलैया सडकखण्डको छातापिपरा भन्ने स्थानमा राउत सवार ना.४प ३७४५ नम्बरको मोटरसाइकलले २८ माघ ०६२ मा पैदलयात्री हहियादेवी थारूलाई ठक्कर दिई घाइते बनाएको थियो । उपचारका क्रममा वीरगन्जस्थित नारायणी क्षेत्रीय अस्पतालमा उनको निधन भएको थियो । निधनपछि थारूका आफन्त लखनलाल चौधरीले प्रहरीमा राउतविरुद्ध किटानी जाहेरी दिएका थिए । तत्कालै प्रहरीले पक्राउ गरी अदालत पठाएका थियो ।

अदालतले दुई हजार र एक महिना जेल सजायको फैसला सुनायो । उनले दुई हजार रुपैयाँ जरिवाना तिरे पनि जेल सजाय भुक्तान भने गरेका थिएनन् । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६१ को ३ बमोजिम अधिकतम एक वर्ष कैद र दुई हजार रुपैयाँ जरिवानाको व्यवस्था छ । तत्कालीन अवस्थामा धरौटी बुझाई रिहा भएका राउतलाई पूर्ण फैसलाबमोजिम भुक्तान गर्नुपर्ने जेल सजाय नकाटेकाले प्रहरीले पक्राउ गरी जेल चलान गरेको हो । अदालतको फैसलाअनुसार उनले २९ दिन कैद भुक्तानी गर्नुपर्नेछ ।

स्थानीय निर्वाचनमा तत्कालीन फोरम लोकतान्त्रिक पार्टीबाट उम्मेदवार भई निर्वाचित राउतको उम्मेदवारीमा कसैले दाबी विरोध नगरेका कारण उनी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भए ।