मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ पौष ७ सोमबार ०६:४७:००
Read Time : > 2 मिनेट
मुख्य समाचार

फोहोरले फेरि भरियो सिसडोल

Read Time : > 2 मिनेट
२०७६ पौष ७ सोमबार ०६:४७:००

मुस्किलले दुई महिना फोहोर व्यवस्थापन गर्न सकिने, तर बन्चरेडाँडामा पूर्वाधार तयार भएन

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको सिसडोल फेरि भरिएको छ । पटक–पटक क्षमता विस्तार गरिएको सिसडोलमा अब मुस्किलले दुई महिना मात्र फोहोर व्यवस्थापन गर्न सक्ने अवस्था छ । काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले अहिले नै फोहोर व्यवस्थापन गर्न समस्या नरहे पनि फागुनसम्म बन्चरेडाँडा स्यानिटरी ल्यान्डफिल्ड साइटमा पूर्वाधार तयार नभए समस्या आउने बताएको छ । ‘मन्त्रालयका अनुसार बन्चरेडाँडामा फागुनसम्म फोहोर फाल्न सकिन्छ भन्ने छ । सिसडोलको क्षमता सकिएको छ । अब करिब दुई महिना मात्रै फोहोर व्यवस्थापन गर्न सकिने अवस्था छ,’ काठमाडौं महानगरको वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठले भने । 

काठमाडौं उपत्यकामा दैनिक ८५३ टन फोहोर उत्पादन हुन्छ । उत्यकामा दुई महानगरसहित १८ स्थानीय तह छन् । भक्तपुर नगरपालिकाबाहेकका अन्य महानगर र नगरपालिकामा वार्षिक तीन लाख ७० हजार ८० टन फोहोर उत्पादन हुने गरेको छ । तर, उपत्यकाको फोहोर व्यवस्थापन १४ वर्षयता सिसडोलकै भरमा छ । सिसडोललाई निजी, गुठी र सार्वजनिक गरी ४५१ रोपनी जग्गा अधिग्रहण गरी तीन वर्षका लागि भनेर ०६२ मा अल्पकालीन ल्यान्डफिल साइट बनाइएको थियो ।

०५१ मा सरकारले ककनी गाउँपालिका–२ र धादिङको धुनिबेँसी नगरपालिका–१ को बीचमा पर्ने बन्चरेडाँडामा दीर्घकालीन स्यानिटरी ल्यान्डफिल्ड साइट निर्माण गर्ने निर्णय गरेको थियो । तर, बन्चरेडाँडामा दीर्घकालीन ल्यान्डफिलल्ड साइट विकासका लागि लागत जुटाउन तथा पूर्वाधार विकास गर्न समय लाग्ने भन्दै तत्कालीन अवस्थामा बन्चरेडाँडाको प्रवेश मार्गमा पर्ने सिसडोललाई ०६२ देखि अल्पकालीन ल्यान्डफिल्ड साइटका रूपमा प्रयोग गरिँदै आइएको छ । 

 ट-यो १ पुसको समयसीमा
सरकारले ल्यान्डफिल्ड साइट बनाउने निर्णय गरेको २५ वर्षसम्म पनि बन्चरेडाँडामा पूर्वाधार तयार भइसकेको छैन । गत वैशाखबाट मात्रै बन्चरेडाँडामा पूर्वाधार निर्माणको काम अघि बढेको थियो । १ पुसबाट बन्चरेडाँडामा फोहोर फाल्ने गरी काम अघि बढाइएको दाबी गरिए पनि सो समयसमेत गुज्रिएको छ । सहरी विकास तथा भवन निर्माण विभागका अनुसार अहिले फोहोर फाल्ने मुख्य स्थानमा फाउन्डेसन, कार्यालय प्रयोजनका लागि भवन निर्माणलगायतका काम धमाधम भइरहेको छ ।

मुख्य स्थानलाई दुई भागमा विभाजन गरी कम्तीमा एक भागमा छिट्टै फोहोर फाल्न मिल्ने गरी काम अघि बढेको विभागले जानकारी दिएको छ । ‘अहिले तीव्र गतिमा काम भइरहेको छ । चाँडोभन्दा चाँडो फोहोर फाल्न सकिने अवस्था बनाउन हामी लागिपरेका छौँ,’ विभागका महानिर्देशक मणिराम गेलालले भने । तर, १ पुसको समयसीमा टरेपछि बन्चरेडाँडा ल्यान्डफिल्ड साइट कहिलेसम्म तयार हुन्छ भनेर नतोक्ने बताए । ‘चाँडै सक्ने लक्ष्य छ । तर, कहिलेसम्म तयार हुन्छ भनेर मिति तोकेका छैनौँ,’ उनले भने । आयोजना निर्माणको पहिलो चरणको लागत ३४ करोड ६८ लाख रुपैयाँ छ । 

 लगानी बोर्डले हात झिक्यो
काठमाडौं महानगरपालिकाको फोहोर व्यवस्थापनबाट लगानी बोर्डले हात झिकेको छ । फोहोर व्यवस्थापनको जिम्मा निजी कम्पनीलाई दिन भूमिका खेलेको बोर्डले दुई वर्षपछि हात झिकेको हो । बोर्डले निजी कम्पनी नेपवेस्टसँग फोहोर व्यवस्थापनको प्रारम्भिक सहमति दुई वर्षअघि नै गरेको थियो ।

फोहोर व्यवस्थापन गर्ने विषयमा महानगरले नै चासो नदिएकाले फाइल फिर्ता गरिएको बोर्डका कार्यकारी निर्देशक महाप्रसाद अधिकारीले बताए । ‘नयाँ ऐनअनुसार फोहोर व्यवस्थापनको काम बोर्डले हेर्दैन । त्यो स्थानीय तहकै जिम्मेवारी हो । त्यसैले नेपवेस्टसँगको परियोजना अघि बढाउने जिम्मा महानगरलाई नै दिएका हौँ,’ अधिकारीले भने, ‘हामीले साइन गरेको पिडिए, माइन्युटलगायतका सबै कागजात महानगरलाई बुझाएका छौँ ।’

 हामी आफैँ सक्षम छौँ :  मेयर शाक्य  
काठमाडौं महानगरपालिकाका मेयर 

विद्यासुन्दर शाक्यले महानगर क्षेत्रको फोहोर व्यवस्थापन गर्न आफूहरू सक्षम रहेको बताएका छन् । ‘अहिले पनि हामी आफैँले फोहोर व्यवस्थापन गरिरहेका छौंँ,’ शाक्यले भने, ‘लगानी बोर्डले फाइल फिर्ता गरेपछि फोहोर व्यवस्थापनमा समस्या आउने भन्ने हुँदैन । फोहोर व्यवस्थापन गर्ने दायित्व हाम्रै हो । हामी पूरा गर्छौँ ।’ 

लगानी बोर्डले कागजात बुझाइसकेकाले चाँडै आवश्यक निर्णय लिएर अघि बढ्नेसमेत उनले बताए । ‘सिसडोल भरिएको अवस्थामा बन्चरेडाँडामा ल्यान्डफिल्ड साइट बनिरहेको छ । हामीले बन्चरेडाँडामा चाँडोभन्दा चाँडो पूर्वाधार बनाइसक्न नेपाल सरकारसँग आग्रह गरिरहेका छौँ । त्यसैले फोहोर व्यवस्थापनमा समस्या आउँदैन,’ उनले भने ।