मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ पौष ६ आइतबार १०:५६:००
Read Time : > 1 मिनेट
सप्तरंग

लोकदोहोरी प्रतियोगिताले डिप्रेसनमा पुर्‍यायो

Read Time : > 1 मिनेट
२०७६ पौष ६ आइतबार १०:५६:००

सांगीतिक क्षेत्रमा विभिन्न उतारचढाव आए । ती सबैलाई म सामान्य मान्छु । किनकि, संघर्ष नगरी सफलताको स्वाद चाख्न सकिँदैन । संघर्षका विभिन्न चरण मेरो जीवनका अविस्मरणीय पल हुन् । ‘गलबन्दी च्यातियो’ बोलको गीत विवादमा फस्यो । त्यतिवेला आफूलाई संयमित राखेँ । समस्या समाधान भएपछि निकै आराम महसुस भयो । समस्या पर्दाको क्षण मात्र ठूलो लाग्ने रहेछ । तर, समस्या हुन् या सुख, दुवै क्षणिक हुँदा रहेछन् । ‘गलबन्दी च्यातियो’ गीतको विवादबाट त्यही पाठ सिकेँ ।

प्रकाश सपुत

त्यसभन्दा नमिठो पाठ एक लोकदोहोरी प्रतियोगिताले सिकाएको छ । ‘प्लस टु’ सकेर म एक निजी कार्यालयमा कार्यरत थिएँ । सोही समयमा एक लोकदोहोरी प्रतियोगितामा भाग लिएँ र अन्तिम प्रतिस्पर्धासम्म पुगेँ । त्यो प्रतियोगिता आफैँले जित्छु भन्ने लागेको थियो । पुरस्कारको राशि पनि एक लाख रुपैयाँभन्दा बढी थियो । त्यस रकमबाट घरव्यवहार टार्छु भन्ने कल्पनासमेत गरिसकेको थिएँ । त्यही कल्पनाले काम गरिरहेको अफिस पनि छोडायो । तर, मैले उपाधि हात पार्न सकिनँ ।

लोकदोहोरी जित्ने आशाले घरको कमजोर आर्थिक अवस्थाका बाबजुद जागिर पनि छाडेँ । परिवारबाट विदेश जान दबाब आयो । प्रतियोगिता जितेको भए संगीत क्षेत्रमा राम्रो छवि बन्ने आशामा थिएँ । जित्न नसक्दा डिप्रेसनमा पुगेँ । त्यस्तो अवस्था लामो समय रह्यो । त्यस घटनाले अत्यधिक आशा पनि घातक हुने रहेछ भन्ने पाठ सिकायो । म ‘डाउन टु अर्थ’ स्वभावको छु । पेसागत हिसाबले सेलेब्रिटीको रूपमा चिनिए पनि मलाई साधारण जीवनयापनमा रुचि छ । फुर्सदको समयमा छरछिमेकमा भलाकुसारी गर्छु । छोरीलाई स्कुल पुर्‍याउँछु, सब्जी किनेर ल्याउँछु अनि घरायसी काममा आफूलाई व्यस्त राख्छु ।

संगीतबाहेक पुस्तक पढ्ने र फिल्म हेर्ने सोख छ । रोमान्टिक लभस्टोरी फिल्म बढी मन पर्छ । यथार्थपरक धारका फिल्म पनि हेर्ने गर्छु । त्यस्ता फिल्मले हामी कस्तो जीवन बाँचिरहेका छौँ भन्ने महसुस गराउँछन् । तर, कमर्सियल र कन्टेन्टमा आधारित दुवै प्रकारका फिल्म खेल्ने कलाकारहरूलाई उत्तिकै सम्मान गर्छु । नेपाली फिल्ममा अनमोल केसी, प्रदीप खड्का, पल शाह, दयाहाङ राई, सौगात मल्ल सबै उत्तिकै प्रिय लाग्छन् । बलिउड फिल्म ‘ग्याङ्स अफ वासेपुर’ हलमा गएर हेर्न पाइनँ । युट्युबमा हेरेको उक्त फिल्मले मन छोयो । यसको सिक्वेल पनि हेर्ने सोचमा छु ।

यात्राका क्रममा पुस्तक अध्ययन गर्न रुचाउँछु । अहिले अमर न्यौपानेको ‘गुलाबी उमेर’ र हिन्दू ग्रन्थ ‘गीता’ पढिरहेको छु । ‘गीता’ धार्मिक वा आध्यात्मिक चिन्तनभन्दा पनि साहित्यिक दृष्टिले अध्ययन गरिरहेको छु । पुस्तक अध्ययन र फिल्म हेर्दा विभिन्न जनराबारे जानकारी पाइने रहेछ । आफ्नो बुझाइ र सिकाइको दायरा फराकिलो पार्नुपर्छ भन्ने लाग्छ ।