१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ पौष ६ आइतबार ०९:३८:००
Read Time : < 1 मिनेट
समाचार

दुर्लभ चराको वासस्थान बन्दै शुक्लाफाँटा

Read Time : < 1 मिनेट
२०७६ पौष ६ आइतबार ०९:३८:००

जैविक विविधताले भरिपूर्ण कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज संसारकै दुर्लभ चराचुरुंगीको वासस्थान बन्दै गएको छ । केही वर्षयता निकुञ्जमा दुर्लभ चराका प्रजाति बढ्दै गएका छन् । सात वर्ष अघि निकुञ्जमा चार सय २४ प्रजातिका चरा थिए भने अहिले वृद्धि भएर चार सय ५० प्रजातिका चरा पुगेका छन् ।

वासस्थान सुरक्षित भएर नै चरा प्रजातिको संख्या वृद्धि भएको निकुञ्जको अध्ययनले देखाएको छ । निकुञ्जको तथ्यांकअनुसार, सन् २०१२ सम्ममा चार सय २४ प्रजातिका चरा थिए भने अहिले २६ प्रजातिका चरा बढेका हुन् । 

हालै निकुञ्जले गरेको चरा प्रजातिको सर्वेक्षणअनुसार, नेपालमा पाइने चराको प्रजातिमध्ये शुक्लाफाँटा निकुञ्जमा मात्रै ५०.७३ प्रतिशत चरा प्रजाति रहेका छन् । नेपालमा आठ सय ८७ प्रजातिका चरा पाइन्छन् ।

संसारकै दुर्लभ २३ प्रजाति, नेपालका दुर्लभ ७४ र साइटिस सूचिका ६९ प्रजातिका चरा शुक्लाफाँटामा रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मणप्रसाद ढकालले बताए । यसैलाई प्राथमिकतामा राखेर निकुञ्जले ‘बर्ड अफ शुक्लाफाँटा नेसनल पार्क’ पुस्तकसमेत प्रकाशन गरेको छ । 

संसारकै दुर्लभ चरा प्रजातिमध्ये शुक्लाफाँटामा खरमुजुर, सानो खरमुजुर, सुन गिद्ध, डंगर गिद्ध, सानी छैरो गिद्ध, सेतो गिद्ध, बगाले बगेडी, उत्क्रोसी फ्यालफ्याते, सिमतिवा, कैलोटासके हाँस, सारस, भुँडीफोर पाइन्छन् । 

त्यस्तै, गरुड, घुँडिफोर गरुड, गोमायु महाथिल, लघु महाथिल, जीवाहार महाचिल, बोक्सी चिल, राजधनेश, राजलाहाँग्रे, काँसे घाँसेधरी, नरेक्ट भ्याकुर, सेतोकण्ठे घिप्सी र सुनौलो लोधरा निकुञ्जमा रहेका छन् । 

शुक्लाफाँटामा सरिसृप, उभयचर, माछा, लगायत, विभिन्न प्रजातिका वन्यजन्तु वनस्पतिले भरिभराउ भएको शुक्लाफाँटा अब भने चराको पनि राम्रो वासस्थान बनेको छ । विगतका तथ्यांक, अध्ययन र सर्वेक्षण गरेर चरा प्रजातिको संख्या पत्ता लगाइएको वार्डेन ढकालले बताए ।