१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ पौष ६ आइतबार ०७:०५:००
Read Time : < 1 मिनेट
समाचार

नयाँ पत्रिका समाचार प्रभाव : प्रदेश सरकारले स्वयंसेवक शिक्षक खटाउने

Read Time : < 1 मिनेट
२०७६ पौष ६ आइतबार ०७:०५:००

जिल्लाका दुई दर्जनभन्दा बढी विद्यालयमा गणित र विज्ञान विषयका शिक्षक अभाव भएपछि प्रदेश सरकारले वैकल्पिक व्यवस्थाका लागि स्वयंसेवक शिक्षक खटाउने भएको छ । पटक–पटक आवेदन माग गर्दा पनि कसैले निवेदन नदिएपछि विद्यार्थीले शिक्षक पाउन सकिरहेका थिएनन् । केही विद्यालयका विद्यार्थीले विषयगत शिक्षक नै नदेखी परीक्षा दिनुपर्ने बाधयतासमेत रहेको छ ।

उत्तरी पाँचथरको याङवरक गाउँपालिकाका केही विद्यालयले अध्यापन अनुमतिपत्र नै नभएकालाई शिक्षक नियुक्त गरेको र जिल्लाका केही विद्यालयमा फरक विषयका शिक्षकले नै जेनतेन ती विषय पढाउँदै आएको समाचार नयाँ पत्रिकामा सार्वजनिक भएपछि प्रदेश सरकारले त्यस्तो कदम चालेको हो ।

पहिलो चरणमा प्रदेश सरकारले जिल्लाका तीन विद्यालयमा स्वयंसेवक शिक्षकको व्यवस्था गरिदिएको जिल्ला शिक्षा समन्वय इकाई पाँचथरका प्रमुख युगमणि सबेहाङले जानकारी दिए । तत्कालका लागि फालेलुङ गाउँपालिका–२ को सिद्धेश्वरी मावि जिमाहा, मिक्लाजुङ–३ को चन्द्रोदय मावि अरुबोटे र फाल्गुनन्द–६ को ज्योति मावि आङसाराङमा प्रदेश सरकारले एक÷एकजना स्वयंसेवक शिक्षक खटाउने भएको छ । नियुक्ति प्रक्रिया पूरा भएपछि उनीहरूको सेवा–सुविधा प्रदेश सरकारले व्यहोर्ने बताइएको छ ।

पाँचथरमा हाल तीन सय ८५ वटा सामुदायिक विद्यालय छन् । सामुदायिक विद्यालयमध्ये मावि सञ्चालन भइरहेका १८ विद्यालयमा एउटा पनि दरबन्दी छैन । त्यस्तै आधारभूत विद्यालयमध्येका ५२ वटामा पनि खाली दरबन्दी नरहेको जिल्ला शिक्षा समन्वय इकाई कार्यालयले जनाएको छ । जिल्लाका अधिकांश विद्यालयमा दरबन्दीको अभाव रहेको इकाई प्रमुख सबेहाङले बताए ।

जिल्लामा दरबन्दी शून्य भएका विद्यालयको संख्या ७० वटा छन् । दरबन्दी अभावमा पढाइ प्रभावित भएका विद्यालयहरूका लागि प्रदेश सरकारले गरेको सानो पहलले पनि ठूलो सहयोग पुगेको सरोकारवालाहरूले बताएका छन् । उनीहरूले प्रदेश सरकारको यस्तो कार्य अन्यत्रसमेत विस्तार गर्नुपर्ने बताएका छन् ।