मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ पौष ५ शनिबार १०:२२:००
Read Time : > 2 मिनेट
सप्तरंग

एउटै खुट्टाले  ४५ मिनेट नृत्य

Read Time : > 2 मिनेट
२०७६ पौष ५ शनिबार १०:२२:००

चितवनकी सीता सुवेदीको संघर्ष कतिपयका लागि आश्चर्य त धेरैका लागि प्रेरणा हो । उनी देश मात्र होइन विदेशसम्मको नृत्य यात्रामा निस्किरहेकी हुन्छिन् ।  सीताको यो यात्रा भने पटक्कै सहज थिएन । १२ वर्षको कलिलो उमेरमा बोनम्यारो क्यान्सरले एउटा खुट्टा सधैँका लागि गुमाउनुपरेपछि सीता नराम्ररी टुटिन् । कयौँ सपना एकाएक टुक्रिए । त्योमध्येको एउटा सपना थियो कुशल डान्सर बन्ने । त्यति काँचो उमेरमै देब्रे खुट्टाको घुँडाभन्दा माथिबाटै काटिएपछि बच्चैदेखि बोकेको त्यो सपना पनि उनीसँगै घाइते बन्यो ।

सुकन्याको साथ शरीरबाट एउटा खुट्टा सधैंका लागि अलग्गिएपछि पूरै टुटेकी सीतालाई हिम्मत र हौसला दिन पुगिन् पारिजातकी बहिनी सुकन्या वाइवा । सीतामा आत्मविश्वासको जग बसाएर सुकन्या फर्किइन् । नृत्य नै सिकेर अगाडि बढ्ने प्रेरणा भने गायन गुरु धनबहादुर गोपालीले दिए । फेरि टुसाएको आत्मविश्वासले पढाइलाई निरन्तरता दिइन् । कलेज पढ्ने भइसक्दा उनमा केही गरेरै देखाउँछु भन्ने दृढता बलियो भइसकेको थियो । 

कत्थकमा गोल्ड मेडल
नृत्यमा कत्थक विधा रोजेकी उनले पद्यकन्या कलेजबाट संगीत र नेपाली विषयमा क्याम्पस टप गरिन् । कत्थकको दोस्रो वर्षको गोल्ड मेडलिस्टसमेत बनेकी उनी हाल कलानिधि इन्दिरा संगीत महाविद्यालय पुल्चोकमा कत्थककै तेस्रो वर्षमा अध्ययनरत छिन् । 

१२ वर्षको कलिलो उमेरमा बोनम्यारो क्यान्सरले एउटा खुट्टा सधैँका लागि गुमाएपछि सीता नराम्ररी टुटिन् । कलिलो उमेरमै देब्रे खुट्टाको घुँडाभन्दा माथिबाटै काटेपछि बच्चैदेखि बोकेको डान्सर बन्ने सपना पनि घाइते बन्यो ।

सीताले गर्ने कत्थक नृत्य शास्त्रीय विधाको नृत्य हो । ‘यो कथालाई वाचन गर्दै संगीत र तालको लयमा गरिन्छ,’ उनले भनिन्, ‘अर्थात्, कत्थक कथासहित समेटिएको नृत्य हो ।’ कलेजको परीक्षाकै वेला कत्थकमा ४५ मिनेट गरेको नृत्य नै उनको पहिलो स्टेज सो थियो । त्यति लामो समय दुई खुट्टाले पनि गाह्रो हुन्छ, एउटै खुट्टाले नृत्य गर्नु चानचुने कुरा थिएन । 

‘स्ट्रगल कहाँ हुन्नँ र ?,’ सीता प्रश्न गर्छिन्, ‘तर, अस्तित्व बनाउन यो समाजसँग जुध्ने क्षमता आफैँ बनाउनुपर्ने रहेछ ।’ परीक्षामा लामो समय नाचेको भए पनि अरू स्टेजमा थोरै समयमा धेरै कथा पस्किनुपर्ने बाध्यता हुने अनुभव उनले संगालेकी छिन् । 

अभ्यासका लागि पहिलेदेखि नै नाच्ने गरे पनि पेसागत रूपमा उनले स्टेज उक्लिन थालेको चार वर्ष भयो । नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहल, राष्ट्रिय नाचघर, टुँडिखेलस्थित खुलामञ्च हुँदै नेपालका धेरै जिल्लामा आयोजना हुने मेला–महोत्सवमा उनले आफ्नो नृत्यकला प्रदर्शन गरिसकेकी छिन् । 

आफ्नै कलेजको पहिलो स्टेज सोमा पारिश्रमिक लिएर नृत्य गर्ने सौभाग्य पाएकी उनलाई सुरुमा स्टेज पाउन निकै मुस्किल थियो । ‘धेरैले पत्याएनन्, कतिले त हाँसेर उडाए,’ उनले भनिन्, ‘र, पनि, हिम्मत हारिनन्, बाबुआमा, भाइबहिनीभन्दा अघि जेठी छोरी हुनुको आत्मबोधले मलाई पछाडि हट्न दिएन ।’ करिब ७० स्टेजमा पर्फम गरिसकेकी उनले सजिलो कुनै पनि क्षेत्रमा नभएको र समाजलाई सहज बनाउन आफैँले प्रेरित गर्ने हो भन्ने आत्मज्ञान बटुलिन् । 

०५६ सालमा खुट्टा काटिँदा संसार सकिएको ठानेकी सीतालाई आज प्रोफेसनल डान्सरको रूपमा देश/विदेशका स्टेजमा नृत्य गरिरहँदा मेरो एउटा खुट्टा छैन भन्ने हेक्का नै हुँदैन ।

अपांगता भएको व्यक्ति भनेर दयाको पात्रको रूपमा कार्यक्रममा उनलाई नृत्यांगनाको रूपमा राख्न खोजे । ‘कला हेरेर प्राथमिकतामा राख्ने गर्नूस्, कमजोरी हेरेर होइन,’ भन्ने आग्रह गर्दै त्यसको सामना गरिरहिन् ।

अन्तर्राष्ट्रिय यात्रा
अब नृत्य उनको प्रोफेसन हो । राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय रूपमा पनि स्टेज सो गरिसकेपछि उनको हिम्मत निकै बढेको छ ।  यसै सिलसिलामा एउटा खुट्टाले नाचेर शास्त्रीय विधामा योगदान पुर्‍याएबापत उनले ‘कालिका सम्मान ०७६’ प्राप्त गरिन् । 

स्टेजमा नृत्य गर्छु भन्दा पहिला हाँसेर उडाउने साथी यतिवेला भने उनको प्रशंसा मात्र होइन, सपोर्ट गर्छन् । ‘अपमानित यस्तोवेला हुनुपर्छ जस्तो लाग्छ, जतिवेला मान्छेले आफूसँग सबै चिज भएर पनि केही गर्न सक्दैन, म त प्रयास गर्दैछु,’ उनको यही सकारात्मक सोचले नै हुनुपर्छ, ‘विचरा के गर्छौँ र जिन्दगीमा’ भन्नेलाई गतिलो जवाफ बनेको छ उनको नृत्य । 

अध्ययनमा भाइको साथ पाइन् उनले । अहिले भने नृत्य गरेरै  आर्थिक पाटो बलियो बन्दै गएको उनले सुनाइन् । ०५६ सालमा खुट्टा काटिँदा संसार सकिएको ठानेकी सीतालाई आज प्रोफेसनल डान्सरको रूपमा देश/विदेशका स्टेजमा नृत्य गरिरहँदा मेरो एउटा खुट्टा छैन भन्ने हेक्का नै हुँदैन ।

अचेल यही जीवन बढो सुन्दर लाग्छ उनलाई । नृत्यको समयमा कृतिम खुट्टाको प्रयोग गर्दिनन् उनी । आफू अपांग भए पनि केही गरेर यो समाजलाई देखाउनुथियो, देखाउँदै छिन् उनी ।  यतिवेला कोरियाका विभिन्न स्टेजमा छाइरहेकी उनी अन्तर्राष्ट्रिय अपांगता दिवसको दिन त्यहीँ सम्पन्न हुने कार्यक्रममा कत्थक नृत्य देखाउँदैछिन् । आटे अपांगता भएकाले पनि सांगले भन्दा राम्रो गर्न सक्ने आत्मविश्वासका साथ जिन्दगीभर नृत्य गरिरहने अठोट उनको छ ।