मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका इलाम
२०७६ पौष ४ शुक्रबार ०९:३३:००
Read Time : < 1 मिनेट
प्रदेश

एकै वर्ष ४९ नवजात शिशुको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका इलाम
२०७६ पौष ४ शुक्रबार ०९:३३:००

इलाममा एक वर्षमै ४९ जना नवजात शिशुको मृत्यु भएको पाइएको छ । सन् २०१९ को हालसम्ममा ४९ नवजात शिशुको मृत्यु भएको ‘बर्न हर्ट वल्र्डवाइड’ नामक गैरसरकारी संस्थाले पहिचान गरेको हो ।

जन्मेको २८ दिनभित्रै ती शिशुको मृत्यु भएको बर्न हर्टले जनाएको छ । इलाममा मातृशिशु स्वास्थ्यको क्षेत्रमा सन् २०१८ देखि काम गर्दै आएको बर्न हर्टले जनाएअनुसार सूर्योदय नगरपालिकामा सबैभन्दा बढी नवजात शिशुको मृत्यु भएको पाइएको छ । सूर्योदयमा १६ जना, इलाम नगरपालिका, फाकफोकथुम गाउँपालिका र चुलाचुली गाउँपालिकामा पाँच–पाँचजना नवजात शिशुको मृत्यु भएको पुष्टि भएको छ ।

त्यसैगरी, एक वर्षको अवधिमा माई नगरपालिका, देउमाई नगरपालिका र माईजोगमाई गाउँपालिकामा चार–चारजना नवजात शिशुको मृत्यु भएको छ । सन्दकपुर गाउँपालिकामा तीन, माङ्सेबुङ गाउँपालिकामा दुई र रोङ गाउँपालिकामा एकजना नवजात शिशुुले ज्यान गुमाएका छन् । अधिकांश शिशुको घरैमा मृत्यु भएको पाइएको छ । केहीको स्वास्थ्यसंस्था लैजाँदा बाटैमा र कतिपयको स्वास्थ्यसंस्थामै मृत्यु भएको पनि प्रतिवेदनमा उल्लेख छ । समय नपुगी जन्मेका, घरमै सुत्केरी गराउँदा र नवजात शिशु स्याहारबारे जानकारी नहुँदा नवजात शिशुको मृत्यु हुने गरेको बताइएको छ ।

‘हामीले सूचना पाएपछि स्थानीय स्वास्थ्यसंस्थाका स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकालाई लगेरै घटनाबारे बुझ्छौँ’, बर्न हर्टका इलाम संयोजक सन्दीप गुरुङले भने, ‘अहिले नवजात शिशुको मृत्यु भएमा रिपोर्टिङ गर्ने चलन बढेकाले पनि संख्या बढी देखिएको हो ।’