मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका
२०७५ पौष ३० सोमबार ०९:१२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

युवक संगठनको वनभोजमा पारस: चार घण्टा बिताए , कफीमात्रै पिए 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष ३० सोमबार ०९:१२:००

पूर्वयुवराज पारस शाह पछिल्लो समय आम नागरिकसंग नजिक हुन खोजिरहेका छन् । १४ भदौमा तीन चीरामा विभक्त राष्ट्रिय प्रजातन्त्र पार्टीका युवा नेताहरुसंग भेटघाट गरेका पारस शनिबार एउटा वनभोज कार्यक्रममा पुगेर चार घण्टा बिताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको युवा संगठनको ललितपुर जिल्ला कार्यसमितिले ललितपुरको लेलेमा आयोजना गरेको वनभोज कार्यक्रममा पारसले चार घण्टा बिताएका हुन ।

चार घण्टा बसाइका क्रममा उनले स्थानीय र वनभोजमा गएका युवाहरुसंग खुलेर कुराकानी गरेको बनभोजमा सहभागी पूर्व मन्त्री विराज विष्टले जानकारी दिए । ‘वनभोजमा आएर बस्नुभयो, यहाँ उपस्थित युवा साथीहरुसंग कुराकानी गर्नुभयो’ विष्टले नयाँ पत्रिकासंग भने ।  तर, पारसको बनभोजमा उपस्थिति पूर्व निर्धारित नभई संयोग मात्र थियो । ‘उहाँ(पारस) पूर्व निर्धारित कार्यक्रम अनुरुप हाम्रो वनभोज कार्याक्रममा आउनु भएको होइन, संयोगले आएर हामीसंग केहि समय बिताउनु भएको हो’ विष्टले भने । 

विष्टका अनुसार करिव साढे तीन सय युवा उपस्थित बनभोजमा खाना आफै पकाएर खाने प्रवन्ध गरिएको थियो । तर, खाना पकाउन लागेको बेलामा स्टोभ बिग्रिएपछि स्थानीय बासिन्दा भएकाले विराज आफै स्टोभ मर्मत गर्न निस्किए । उनी स्टोभ खोज्न निस्कनु नै पारस बनभोजमा पुग्ने संयोग बन्यो । स्टोभ मर्मत गरी फर्कदै गर्दा वनभोजस्थल नजिकै सहयोगीहरुसंगै पारस भेटिए ।

लेलेबाट करिव २० मिनेट लाग्ने दलचोकी डाडोमा रहेको मनकामना मन्दिरको दर्शन गरी फर्केका पारसलाई विराजले सात दोवाटोमा भेटाएका थिए । ‘बनभोजस्थल नजिकै दोबाटोमा स्टोभ मर्मत गरेर फर्कदै गर्दा उहाँलाई भेटाएपछि मैले हाम्रो कार्यक्रमबारे जानकारी गराउदै कार्यक्रममा सहभागि हुन आग्रह गरे । उहाँले मेरो अनुरोध स्वीकार्नु भयो’ विष्टले भने ‘दलचोकीमा अवस्थितमनकामना मन्दिरमा दर्शन गरेर फर्कदैगर्दा उहाँ दोवाटोमा पुग्नु भएको रहेछ ।’

अकस्मात पारस वनभोजस्थलमा पुगेपछि उनलाई स्वागत गर्न युवाहरुलाई अफ्टेरो परेको पनि विष्टले बताए । तर, आफुहरुले हतारहतार फूलमाला र खादाको व्यवस्था गरी स्वागत गरेको विष्टको भनाई थियो । उनलाई सम्मान गरेपछि युवाहरुले राजा र राजतन्त्रको पक्षमा नारा समेत लगाएका थिए । ‘पारस आऊ, देश बचाऊ’ भन्दै नारा लगाएपनि पारस भने चुप लागेर बसेका थिए । 

पारस साँढे ११ बजेबाट करिव साढे तीन बजेसम्म बसेका थिए । बसाईका क्रममा पारसले युवाहरुसंग कुराकानी गरेपछि राजनीतिक विषय भने नउठाएको विष्टले बताए । पारसले युवाहरुलाई कहाँबाट आउनु भएको के गर्नुहुन्छ भनेर चासो राखेका थिए ।  त्यसपछि युवाहरुले पारसलाई तपाई कताबाट यहाँ आइपुग्नु भयो भनेर जिज्ञासा राखेका थिए । ‘सुनाकोठी बस्दाखेरी यो मेरो घुमीरहने स्थान थियो । सम्झना आइरहन्थ्यो । त्यही सम्झना मेटाउन मनकामना मन्दिरमा आएको थिएँ’ युवाहरुसँग पारसले भने, ‘आजकल सुनाकोठी नबस्ने भएकाले धेरै समयपछि पुरानो ठाउँमा आउँदा तपाईंहरुसँग भेट भयो ।’

वनभोजमा सहभागी भएपनि पारसले कफी मात्रै पिएका विष्टले जानकारी दिए । उनीसंगै गएका सहयोगीले भने वनभोजमा पाकेका खानेकुरा खाएका थिए । ‘उहाँले कफी मात्रै पिउनु भयो । हामीले खानेकुरामा अलिक धेरै पिरो हालेका थियौ । धेरै पिरोले असर गर्ने भएकाले सायद कफीबाहेक अरु चिज नखानु भएको होला’ विष्टले भने ‘उहाँसंग आएका सहयोगीहरुले भने खानेकुरा खानुभयो ।’

तस्बिर सौजन्य : विराज विष्ट