Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ पौष ४ शुक्रबार ०८:२५:००
Read Time : > 1 मिनेट
विश्व

ट्रम्पविरुद्धको महाभियोग  प्रस्ताव तल्लो सदनबाट पारित

Read Time : > 1 मिनेट
२०७६ पौष ४ शुक्रबार ०८:२५:००

सिनेटबाट ट्रम्पविरुद्धको प्रस्ताव पारित हुने सम्भावना न्यून

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाभियोग लगाउने प्रस्ताव अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले पारित गरेको छ । लामो तिक्ततापूर्ण बहसपछि ट्रम्पलाई महाभियोग लगाउने प्रस्तावको पक्षमा बहुमतले मतदान गरेका थिए । 

शक्तिको दुरुपयोग गरेको र आफूविरुद्धको अनुसन्धान प्रक्रियालाई अस्वीकार गरी कंग्रेसमा बाधा पुर्‍याएको आरोपमा उनीविरुद्ध महाभियोग प्रस्ताव पेस गरिएको थियो । प्रस्तावमाथि बुधबार भएको मतदानमा महाभियोग लगाउने पक्षमा २३० र विपक्षमा १९७ मत खसेको थियो । ४३५ सदस्य रहेको तल्लो सदनमा महाभियोग पारित हुनका लागि सामान्य बहुमत अर्थात् २१६ मत आवश्यक थियो । तल्लो सदनबाट पारित भएको महाभियोग प्रस्ताव माथिल्लो सदन सिनेटबाट पारित भएपछि मात्र उनीमाथि महाभियोग लाग्नेछ । त्यस्तो अवस्थामा उनी स्वतः पदमुक्त हुनेछन् । 

महाभियोग सामना गर्ने तेस्रा राष्ट्रपति बने ट्रम्प
डोनाल्ड ट्रम्प अमेरिकी इतिहासमा महाभियोग सामना गर्ने तेस्रो राष्ट्रपति बनेका छन् । यसअघि डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति बनेका एन्ड्रयु जोनसनले पनि महाभियोग सामना गरेका थिए ।

अमेरिकी गृहयुद्ध र दक्षिणी राज्यलाई केन्द्रमा एकीकरण गर्ने विषयमा मतदभेद बढ्दा एकलौटी ढंगले एक मन्त्रीलाई पदमुक्त गरेपछि सन् १८६८ को फेब्रुअरी २४ मा उनीविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको थियो । हाउस अफ रिप्रिजेन्टेटिभले उनलाई महाभियोग लगाउने पक्षमा मतदान गरेको थियो । तर, एक महिनाको सुनुवाइपछि सिनेटमा भएको मतदानमा एक मतको अन्तरले उनीविरुद्धको प्रस्ताव विफल भएको थियो ।

त्यस्तै, ४२औँ राष्ट्रपति बिल क्लिन्टनले महाभियोग सामना गरेका थिए । एक व्यापारीलाई झुटो बयान दिन लगाएर कानुनको अपमान गरेको र आफूभन्दा उमेर कम भएकी मोनिका लेविन्स्कीसँगको यौनसम्बन्ध लुकाउन झुटो बयान दिएको विषयमा सन् १९९९ मा क्लिन्टनले महाभियोग सामना गरेका थिए । संसद्मा आफूविरुद्ध महाभियोगको चर्चा चलेपछि रिपब्लिकन राष्ट्रपति रिचर्ड निक्सनले पदबाट राजीनामा दिएका थिए । महाभियोग प्रस्ताव अमेरिकी संविधानअनुसार सदनमार्फत राष्ट्रपतिलाई हटाउने संवैधानिक माध्यम हो । तर, अमेरिकी माथिल्लो सदनले पारित गरेपछि मात्र यो प्रस्ताव लागू हुनेछ ।

महाभियोग प्रस्तावले मलाई केही हुन्न
आफूमाथि अमेरिकी संसद्को तल्लो सदनले महाभियोग प्रस्ताव पारित गरेकोमा ट्रम्पले विरोध गरेका छन् । आफूविरुद्धको प्रस्तावमा मतदान भइरहँदा ट्रम्प उपराष्ट्रपति माइक पेन्ससँगै मिसिगनको एक चुनावी सभालाई सम्बोधन गरिरहेका थिए । ‘अमेरिकाको राष्ट्रपतिका रूपमा काम गरिरहन मविरुद्ध भएको मतदानले केही गर्दैन ।’

उनले आफूमाथि ‘कु’ प्रयास भएको बताएका छन् । संसद्मा मतदान हुने अघिल्लो दिन ट्रम्पले हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख नेन्सी पेलोसीलाई ६ पृष्ठ लामो एक पत्र लेख्दै पेलोसीले ‘अमेरिकाको प्रजातन्त्रविरुद्ध खुला युद्ध घोषणा गरेको’ उनले आरोप लगाएका थिए । पत्रलाई राष्ट्रपतिले गरेको असाधारण हस्तक्षेप बताइएको छ ।

सिनेटबाट ट्रम्पविरुद्धको प्रस्ताव पारित हुने सम्भावना न्यून
ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव तल्लो सदनबाट पारित भए पनि माथिल्लो सदन सिनेटबाट पारित हुन सहज छैन । सिनेटमा ट्रम्पको पार्टी रिपब्लिकनको बहुमत छ । सय सदस्यीय सिनेटमा रिपब्लिकनका ५३ सांसद छन् । महाभियोग लाग्न तल्लो सदनबाट पारित प्रस्तावलाई सिनेटका दुईतिहाइ सदस्य अर्थात् ६७ जनाले मतदान गर्नुपर्नेछ । तसर्थ ट्रम्पविरुद्ध महाभियोग लगाउने प्रस्तावमाथि डेमोक्रेटिकका अतिरिक्त केही रिपब्लिकन सांसदले पनि मदतान गर्नुपर्छ, जुन असम्भव देखिन्छ ।