मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ पौष २ बुधबार १०:४९:००
Read Time : > 1 मिनेट
सप्तरंग

रंगमञ्चमा मार्क्स फर्किए

Read Time : > 1 मिनेट
२०७६ पौष २ बुधबार १०:४९:००

सहरमा नाटक 

एक सय ४० वर्षअघि कार्ल मार्क्सले भोगेको जीवन कस्तो थियो ? यही प्रश्नको जवाफ खोज्दै अमेरिकी लेखक तथा इतिहासकार हवार्ड जिनले सन् १९९९ मा तयार पारेको नाटक ‘माक्र्स इन सोहो’को नेपाली अनुवाद १ पुसदेखि नेपाल प्रज्ञा प्रतिष्ठानमा मञ्चन गरिएको छ । त्यसको नेपाली शीर्षक जुराइएको छ– ‘मार्क्स फर्किए’ । नाटकमा कार्ल मार्क्सको जीवनदर्शन चित्रण गरिएको छ । लन्डनको ‘सोहो बस्ती’ फर्किन खोजिरहेका मार्क्सलाई उनका पथप्रदर्शकले भाषिक अज्ञानतावश नेपालको नाटक मञ्चन भइरहेको हलमा ल्याइपु-याएको दृश्यबाट नाटक सुरु हुन्छ ।

कालो लङकोटमा तालु खुइलिएका कार्ल मार्क्स अर्थात् रंगकर्मी सुनील पोखरेललाई सोधिन्छ, ‘तपाईं किन फर्केर आउनुभएको ?’ उनी जवाफ दिन्छन्, ‘आफूमाथि लागेको दाग मेटाउन फर्केर आएँ, तर म मार्क्सवादीचाहिँ होइन नि ।’ उनी भन्दै जान्छन्, ‘दास क्यापिटल छापिएपछि मेरा विरोधी धेरै थिए । अहिले तपाईंको गल्लीमा मान्छेहरू सडिरहेको देखेँ, तर अलि पर पुगेपछि धनी व्यक्तिहरू देखेँ  । मान्छेहरू यहाँ पैसाले नियन्त्रित छन् ।’मार्क्सको विवाह, संघर्ष, परिवार इत्यादिबारे नाटकमा संवाद चलिरहन्छ । धनी र गरिबबारे सवालजवाफ चल्छ । पुँजीवाद, भौतिकवाद, समाजवाद, वर्गसत्तालगायत विविध पाटोमा बहस चल्छ ।

नाटकलाई दामोदर उपाध्यायले नेपालीमा अनुवाद गरेका हुन् । यस नाटकको परिकल्पना र निर्देशन सुनील पोखरेल र प्रवीण खतिवडाले गरेका छन् । माक्र्स जन्मेको दुई सय वर्ष पुग्न लागेको सन्दर्भमा ‘कार्ल मार्क्स जन्म द्विशतवार्षिकी समारोह समिति’ र नेपाल अध्ययन केन्द्रको आयोजनामा ३ पुससम्म प्रज्ञा प्रतिष्ठानमा यो नाटक देखाइँदै छ ।

नाटकमा कार्ल मार्क्सको विचारलाई सहज रूपमा देखाउने प्रयास गरेको छु । उनको स्वरूपभन्दा पनि विचार प्रस्तुत गर्नेतर्फ ध्यान दिएको छु ।

खतिवडाका अनुसार नेपाल अध्ययन केन्द्रले यो नाटक मञ्चनका लागि प्रस्ताव गरेको हो । ‘नाटकको कथावस्तु रोचक लाग्यो,’ उनी भन्छन्, ‘नाटक जति पढ्दै गएँ, त्यति नै राम्रो लाग्दै गयो र प्रस्ताव स्विकारेँ ।’ अमेरिकी लेखक जिनले यसलाई एकल प्रस्तुति गर्न मिल्ने हिसाबबाट लेखेका थिए । नेपाली अनुवादमा भने त्यसलाई ‘मल्टी कास्ट’ अर्थात् धेरै कलाकारको अभिनय रहने गरी तयार पारिएको छ । मार्क्सकी पत्नी जेनी र छोरी इलोनरको प्रसंगमा महिला पात्रलाई नै उभ्याइएको छ । नाटकमा मुख्य पात्र र कोरस गरी १२ कलाकारको अभिनय छ ।

मार्क्सको भूमिकामा छन्, रंगकर्मी पोखरेल । ‘उहाँको लुक्सले कार्ल मार्क्सलाई क्यारी गर्न सक्थ्यो,’ खतिवडा भन्छन्, ‘नाटककोे प्रस्ताव आउँदा नै उहाँलाई मार्क्स बनाउन आग्रह गरिएको थियो ।’ पोखरेलको निर्देशन र अभिनय रहने भएपछि ‘आरोहण’ र ‘गुरुकुल’कै ब्यानरमा मञ्चन गर्ने निर्णय भयो । पटकथा पढ्नासाथ पोखरेल पनि नाटक मञ्चन गरिहाल्न उत्साहित भए । ‘मार्क्सको भूमिका गर्दा रमाइलो लागेको छ,’ पोखरेल भन्छन्, ‘पटकथामा रहेको विचारलाई सहज रूपमा देखाउने प्रयास गरेको छु । मैले उनको स्वरूपभन्दा पनि विचार प्रस्तुत गर्नेतर्फ ध्यान दिएको छु ।’ नाटकमा आरोहणकै कलाकारहरू निशा शर्मा, कमलमणि नेपाल, प्रवीण खतिवडा, सरस्वती चौधरी, रामभजन कामत, राम न्यौपाने, अञ्जु देउजा, सुरज तमू, सुमित तामाङ, मौसम खड्का, सविन भट्टराई, उत्तमराज पाण्डेलगायतको भूमिका छ ।

‘मार्क्सको खाँचो रहेको बहस अहिले पनि समाजमा सुनिने गरेको छ,’ खतिवडा भन्छन्, ‘त्यसैले माक्र्सका विचार र त्यसभन्दा बाहिर निस्केर उनको जिन्दगीको भोगाइ कस्तो रहेछ भनेर थाहा पाउन पनि यो नाटक उपयोगी छ ।’ नाटकका पात्रहरूले मार्क्स पात्रसँग अनेकौँ सवाल गर्छन् । र,मार्क्स पात्रले उनीहरूको जिज्ञासा शान्त गराउँछन् । यही नै नाटकको मूल पाटो हो ।

फाेटाे : संजित परियार