१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
भारत डोगरा
२०७६ पौष २ बुधबार ०८:४३:००
Read Time : > 1 मिनेट
दृष्टिकोण

कुपोषणविरुद्ध नागरिक प्रयासको खाँचो

Read Time : > 1 मिनेट
भारत डोगरा
२०७६ पौष २ बुधबार ०८:४३:००

निर्धन भूमिहीन परिवारलाई थोरै पनि जमिन प्राप्त हुन सक्यो भने भोक र कुपोषणलाई टाढा राख्न सहयोग पुग्छ

भोकमरी र कुपोषणलाई स्थायी रूपमा हटाउन आर्थिक विषमता र अन्याय कम गर्नुपर्छ । मौसम परिवर्तनको समयमा कुपोषणलाई टाढा राख्ने सबैभन्दा उचित भोजन–मिश्रण के हो ? यसबारे ठूलै चर्चा भइरहेको छ । देशको विशेष स्थितिलाई हेर्दै हामीले अपेक्षाकृत रूपमा कम खर्चमा उपलब्ध हुने पौष्टिक खाद्य के हुन सक्छ भनेर ध्यान दिनुपर्छ । भारत सरकारले ‘मिड–डे मिल’जस्ता विभिन्न कार्यक्रम चलाइरहेको छ, तर यसको कार्यान्वयनमा कमजोरी देखिएको छ । निर्धन भूमिहीन परिवारलाई थोरै पनि जमिन प्राप्त हुन सक्यो भने भोक र कुपोषणलाई टाढा राख्न सहयोग पुग्छ । 

सरकारी नीति भोक र कुपोषण कम गर्नेमा केन्द्रित हुनुपर्छ, यसमा द्विविधा छैन । गैरसरकारीस्तरबाट पनि यससम्बन्धी उपयुक्त कदम उठाउन जरुरी छ । कुनै समय अनेक गैरसरकारी संगठन यस दिशामा सक्रिय थिए, तर अब उनीहरूको सक्रियता कम भएको छ । आमनागरिक प्रायः यी संस्थाकै माध्यमबाट सामाजिक प्रयासमा जोडिन्थे, अहिले उनीहरूको पनि सक्रियता कम भएको छ । त्यसैले, भयावह स्थिति हेर्दै भोक र कुपोषणविरुद्ध नागरिक प्रयास सुरु गर्ने समय फेरि आएको छ ।

क्षेत्र विशेषको अर्थिक चक्र र रोजगार उपलब्धिअनुसार कुन महिना वा सप्ताह अधिक भोक र कुपोषणको अवस्था सिर्जना हुन्छ भन्नेतर्फ पनि ध्यान दिन जरुरी छ । जाडोमा भोकको मार धेरै नै महसुस हुन्छ, दिन छोटा हुन्छन् र गाउँबाट दैनिक मजदुरीमा निस्कनेका लागि रोजगारीका सम्भावना थोरै हुन्छन् । त्यसैले, यस मौसममा नागरिक वा नागरिक संगठन भोक र कुपोषणविरुद्ध अधिक सक्रिय हुन जरुरी छ ।

विशेष परिस्थितिमा स्थानीय सरकारले स्कुलका लागि ‘मिड डे मिल’ बनाउन सक्छ भने वृद्ध, असहाय र आवश्यकता पर्नेहरूका लागि भोजन उपलब्ध गराउन सक्छ

जुन गाउँ वा सहरी बस्तीमा विपन्नता अधिक स्तरमा छ, त्यहाँ ‘फुड किट’को व्यवस्था गर्न सकिन्छ । यसअन्तर्गत एक परिवारका लागि झन्डै १०–१५ दिनका लागि अन्न, आलु, दाल, नुन तथा बच्चाका लागि बिस्कुटलगायतको प्याकेज तयार गर्न सकिन्छ । बस्तीका सबै परिवारका लागि यस्तो व्यवस्था हुन सक्यो भने उनीहरूलाई अवश्यै राहत पुग्नेछ । विपत्को समय प्रभावित व्यक्तिका लागि यस्तो व्यवस्था गर्ने चलन छ । 

दोस्रो व्यवस्था ती गाउँ वा बस्तीका लागि उचित छ, जहाँ केही परिवार विशेष समय भोकबाट पीडित छन् । उनीहरूका लागि गाउँमा अन्न बैंक बनाउन सकिन्छ । गाउँमा एक समिति गठन गर्न सकिन्छ, जसले यो तय गरोस् कि कुन परिवारले यस बैंकबाट अन्न लिन सक्छ । अन्नबाली भित्र्रयाएपछि कुनै परिवार चाहन्छन् भने यस बैंकमा अन्न फिर्ता गर्न सक्छन् । 

गाउँ वा बस्तीमा दिनमा एकपटक भोजन कार्यक्रमको पनि व्यवस्था गर्न सकिन्छ, यद्यपि दैनिक स्तरमा यो जिम्मेवारी सम्हाल्न कठिन छ । तर, विशेष परिस्थितिमा स्थानीय सरकारले यस्तो गर्न सक्छ । स्कुलका लागि मिड डे मिल बनाउन सकिन्छ भने वृद्ध, असहाय र आवश्यकता पर्नेहरूका लागि भोजन तयार गर्न सकिन्छ । सरकार आफ्नो कल्याणकारी भूमिकाबाट हटेजस्तो देखिन्छ । बजारमुखी आर्थिक नीतिहरूले ठूलो संख्याका व्यक्तिलाई किनारामा ल्याइदिएको छ । त्यसैले पनि भोक र कुपोषण टाढा गर्नका लागि स्थानीय तथा सामुदायिकस्तरमा कदम उठाउन जरुरी छ । 
(पत्रकार तथा अभियन्ता डोगरा विकास, मानवअधिकार र समाज सुधारबारे लेख्छन्)अमर उजाला डटकमबाट