मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७६ पौष २ बुधबार ०७:२६:००
Read Time : > 1 मिनेट
विश्व

मुसर्रफका उतारचढाबका दुई दशक

Read Time : > 1 मिनेट
२०७६ पौष २ बुधबार ०७:२६:००

विशेष अदालतद्वारा मृत्युदण्डको फैसला सुनाइएका पाकिस्तानका पूर्वसैनिक शासक परवेज मुसर्रफले पछिल्लो दुई दशकमा विभिन्न उतारचढाब सामना गरे । सन् १९९९ मा आफ्नो हातमा शासन लिएपछि उनीमाथि बारम्बार षड्यन्त्र र हत्या प्रयास भए । उनले आफूलाई मुस्लिम लडाकु र पश्चिमाबीचको संघर्षको अग्रभागमा उभ्याए । सन् २००७ मा संकटकाल लागू गरी कानुनविपरीत संविधान निलम्बन गरेको उनीमाथि आरोप लागेको थियो । शक्तिमा पुगेको २० वर्षपछि देशद्रोहको आरोपमा उनलाई मृत्युदण्ड सुनाइएको छ ।

परवेज मुसर्रफको जन्म सन् १९४३ को अगस्टमा दिल्लीको एउटा उर्दूभाषी परिवारमा भएको थियो । सन् १९४७ मा भारतीय उपमहाद्वीपको विभाजनपछि उनका अभिभावक पाकिस्तान पुगेका थिए । सेनामा लामो ‘करिअर’पछि मुसर्रफ सन् १९९८ मा तत्कालीन प्रधानमन्त्री नवाज सरिफको शासनकालमा सेना प्रमुख बनेका थिए । सेनाका अन्य वरिष्ठ जनरलमध्येबाट मुसर्रफलाई सेना प्रमुखमा छनोट गरी सरिफले वास्तवमै ठूलो जोखिम मोलेका थिए ।

आर्थिक समस्या र विवादास्पद सुधार, कस्मिर संकटका कारण सरिफको लोकप्रियता खस्किएको थियो । कस्मिरमा गुमेको भूभाग पुनः नियन्त्रण राख्ने प्रयास विफल भएपछि पाकिस्तानले आत्मग्लानि अनुभूति गरेको थियो भने सेना त्यसको सम्पूर्ण दोष लिन तयार थिएन । सरिफले जनरल मुसर्रफलाई विस्थापित गर्ने योजना गरिरहेका वेला चलाख मुसर्रफले सैन्य कु गरी सरिफलाई पदच्युत गरिदिए ।

अमेरिकामा सेप्टेम्बर ११ को हमलापछि सन् २००१ मा अमेरिकाका तत्कालीन राष्ट्रपति जर्ज डब्लु बुसले अगाडि सारेको अतिवादीविरुद्धको युद्धमा उनले समर्थन गरेर शक्ति राष्ट्रलाई रिजाए । तर, त्यतिवेला उनले दोहोरो दबाब सामना गर्नुपर्‍यो । पाकिस्तानमा आश्रय लिएमा अतिवादीविरुद्ध कारबाही गर्न अमेरिकाले दिएको दबाब र पाकिस्तानमा विकास भइरहेको अमेरिकाविरोधी गतिविधि सन्तुलन राख्नु मुसर्रफका लागि चुनौती थियो ।

अलकायदा र तालिबानलाई सहानुभूति राख्ने लडाकुका गतिविधि नियन्त्रण गर्न पर्याप्त कदम नचालेको भन्दै नेटो र अफगान सरकारले उनको आलोचना गरेका थिए । अलकायदाका तत्कालीन नेता ओसामा बिन लादेन सन् २०११ मा पाकिस्तानको मिलिटेरी एकेडेमीनजिक लुकेको अवस्थामा भेटिएपछि अतिवादीविरुद्ध उनका पूर्वप्रतिबद्धतामाथि अन्तर्राष्ट्रिय समुदायले प्रश्न उठाएका थिए ।

शक्तिबाट पलायन
सत्तामा रहँदा जनरल मुसर्रफको देशको न्यायपालिकासँग टक्कर परेको थियो । सन् २००१ को जुनमा सैन्य प्रमुख रहेकै वेला आफैँलाई राष्ट्रपति घोषित गरेका मुसर्रफले सन् २००२ अप्रिलमा एक विवादास्पद जनमत संग्रह गराई पाँच वर्षका लागि राष्ट्रपति बने ।

२००७ को नोभेम्बरमा आपतकाल घोषणा गरी सन् १९७३ को संविधान निलम्बन गरेर सर्वोच्च अदालतका प्रधानन्यायाधीशलाई पदमुक्त गरिदिए । सेनाप्रमुखको जिम्मा एक वरिष्ठ जनरललाई दिएर पूर्णकालीन राजनीतिमा लागेका मुसर्रफले सन् २००७ को नोभेम्बरमा नागरिक राष्ट्रपतिको शपथ लिएका थिए ।

२००८ मा मुसर्रफले संकटकाल लागू गरी आफ्नो कार्यकाल लम्ब्याउने प्रयत्न गरेका थिए । सोही वर्षको फेब्रुअरीमा उनको पार्टीले चुनाव हार्‍यो । प्रमुख राजनीतिक दलहरूले उनीविरुद्ध महाअभियोग लगाउने सहमति गरे । महाअभियोगबाट बच्न सोही वर्षको अगस्टमा उनले पदबाट राजीनामा दिए र स्वनिर्वासनमा गए ।

परवेज मुसर्रफ

  • सन् १९४३ : भारतको नयाँदिल्लीमा जन्म
  • सन् १९६१ : पाकिस्तान मिलिटरी एकेडेमीमा आबद्ध
  • सन् १९९९ : रक्तपातविहीन कुको नेतृत्व  
  • सन् २००१ : राष्ट्रपति
  • सन् २००७ : संविधान निलम्बन
  • सन् २००८ : राष्ट्रपतिबाट राजीनामापछि स्वैच्छिक निर्वासन 
  • सन् २०१३ : स्वदेश फिर्ता 
  • सन् २०१४ : राज्यद्रोहमा अभियुक्त ठहर