मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ पौष २ बुधबार ०६:४५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

केयूमा आन्दोलन चर्किंदै : रजिस्ट्रार बर्खास्त गर्न माग गर्दै प्राध्यापक र कर्मचारी आन्दोलित

Read Time : < 1 मिनेट
२०७६ पौष २ बुधबार ०६:४५:००

काठमाडौं विश्वविद्यालय (केयू)मा आन्दोलन चर्किंदै गएको छ । काठमाडौं विश्वविद्यालय प्राध्यापक संघ र काठमाडौं विश्वविद्यालय कर्मचारी संघसँग काठमाडौं विश्वविद्यालय कार्यकारी परिषद्ले गठन गरेको अधिकारसम्पन्न वार्ताटोलीले गरेको सम्झौता कार्यान्वयन नभएको भन्दै प्राध्यापक र कर्मचारीले आन्दोलन चर्काएका हुन् । 

विश्वविद्यालयका उपकुलपति, रजिस्ट्रार, डिनहरू, प्राध्यापकहरू तथा कर्मचारीहरूको उपस्थितिमा भएको सम्झौता कार्यान्वयन गर्न पटक–पटक स्मरण गराउँदा पनि कार्यान्वयन नगरेको उनीहरूको भनाइ छ । केही महिनाअगाडि काठमाडौं विश्वविद्यालय प्राध्यापक संघ र कर्मचारी सघंले आफ्नो हक अधिकारका लागि आन्दोलन गरेको थियो । आन्दोलनपश्चात् विश्वविद्यालय प्रशासनले सम्झौता गरेको थियो । 

सम्झौता कार्यान्वयन गर्न पटक–पटक काठमाडौं विश्वविद्यालय प्राधापक संघ र कर्मचारी संघले विज्ञप्तिमार्फत जानकारी गराउँदासमेत केयू प्रशासनले नटेरेको प्राध्यापक संघका सभापति डा. वेदमणि दाहालले बताए । सम्झौता कार्यान्वयन गरी परिस्थितिलाई सहज बनाउँदै जानुपर्नेमा उल्टै रजिस्ट्रारले काभ्रेका प्रमुख जिल्ला अधिकारी, धुलिखेल नगरपालिकाका प्रमुख र प्रहरी प्रमुखलगायतलाई भ्रममा पारी प्राज्ञिक स्वतन्त्रतामाथि आँच पुर्‍याएको दाहालले बताए । 

रजिस्ट्रार बर्खास्तीको माग
सम्झौता कार्यान्वयनमा विश्वविद्यालयका रजिस्ट्रारले जिम्मेवारी लिन नसकेको भन्दै विश्वविद्यालयका प्राध्यापक संघ र कर्मचारी संघले रजिस्ट्रारको बर्खास्तीको माग गरेका छन् । ‘पटक–पटक उपकुलपतिका कारणले गर्न नसकेको भनाइ दोहोर्‍याएको परिप्रेक्षमा उपकुलपतिले रजिस्ट्रार डा. सुबोध शर्मालाई बर्खास्ती गरी सम्झौता कार्यान्वयन एक हप्ताभित्रमा गर्नुपर्ने हामीले माग राखेका छौँ,’ दाहालले भने । 

सो समयभित्रमा उपकुलपतिले सम्झौता कार्यान्वयन नगरेमा स्वयं उपकुलपतिको राजीनामा मागी अझ कडा आन्दोलनको घोषणा गर्ने पनि उनको भनाइ छ । घोषित आन्दोलनले विद्यार्थीको पठनपाठनलगायत अन्य शैक्षिक क्रियाकलापमा कुनै अवरोध नपर्ने दाहालले जानकारी दिए ।