मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
पुष्प ढुंगाना / अच्युत पुरी
२०७५ पौष २ सोमबार ०८:५१:००
Read Time : > 7 मिनेट
मुख्य समाचार

पर्यटकलाई बिरामी बनाउँदै हेलिकोप्टरबाट उद्धारका नाममा भएका लुटको पर्दाफास

Read Time : > 7 मिनेट
पुष्प ढुंगाना / अच्युत पुरी
२०७५ पौष २ सोमबार ०८:५१:००

पर्यटन मन्त्रालयबाट गठित समितिको खुलासा– उद्धार उडानका नाममा लुट

पदयात्रा र पर्वतारोहणमा जाने पर्यटकलाई लेक लाग्न सक्छ, उनीहरू बिरामी हुन सक्छन् वा दुर्घटनामा पर्न सक्छन्, तर पर्यटकलाई योजनाबद्ध रूपमा औषधि खुवाएर बिरामी पारी उद्धारका नाममा पैसा असुल्ने गिरोह सक्रिय रहेको गुनासो बढेपछि पर्यटन मन्त्रालयले गत जेठमा सत्य–तथ्य विवरण पत्ता लगाई कारबाहीको सिफारिस गर्न समिति बनाएको थियो ।

पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा गठित समितिमा पर्यटन विभागका महानिर्देशक डुन्डुराज घिमिरे, राजस्व विभागका उपमहानिर्देशक यज्ञप्रसाद ढुंगेल, नेपाल प्रहरीका डिआइजी मनोज न्यौपाने, नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक सुवास झा सदस्य तथा पर्यटन मन्त्रालयका उपसचिव प्रकाश शर्मा ढकाल सदस्यसचिव थिए । उद्धारका नाममा भएका लुटको पर्दाफास गर्दै समितिले तयार पारेको प्रतिवेदन नयाँ पत्रिकाले प्राप्त गरेको छ ।

-हेली एभरेस्ट : दुई हजार दुई सय ३० उद्धार, बिरामीको विवरण छैन

सन् २०१५ देखि २०१८ मे ३० सम्म साढे तीन वर्षमा यो हेलिकोप्टरले दुई हजार दुई सय ३० उद्धार उडान गरेको छ । तर, बिरामी कुन अस्पताल लगियो भन्ने विवरण छैन । जब कि, पर्यटकका नामबाट रुटअनुसार ७६ हजारदेखि आठ लाखसम्म असुल गरिएको छ ।

-मनाङ एयर : एक हजार नौ सय १० उद्धार, प्रतिउडान नौ लाखसम्म असुल

मनाङ एयरले यो अवधिमा एक हजार नौ सय १० उद्धार उडान गरेको छ । सरकारी टोलीले नमुना परीक्षण गर्दा रुटअनुसार एक उद्धारको नौ लाख रुपैयाँसम्म संकलन गरिएको पाएको छ । केही बिरामीलाई स्वाकोन, नर्भिक, वयोधा अस्पतालमा लगेको जनाए पनि अधिकांश बिरामीलाई कहाँ लगियो भन्ने जानकारी दिएको छैन ।

-अल्टिच्युड एयर : तीन सय ८३ उद्धार, तर अस्पतालको ठेगान छैन

साढे तीन वर्षमा तीन सय ८३ उद्धार उडान गरेको यो हेलिकोप्टर कम्पनीले बिरामी कुन अस्पताल लगियो भन्ने जानकारी दिएको छैन । प्रतिउडान एक लाख ५० हजारदेखि पाँच लाख ६० हजारसम्म संकलन गरेको छ ।

सिम्रिक एयर : एक उडानबाट २४ लाख १६ हजारसम्म असुली

यो एयरलाइन्सले सो अवधिमा तीन सय ५१ उद्धार उडान गरी पर्यटकबाट एउटा रुटको ७६ हजारदेखि २४ लाख १६ हजारसम्म रकम उठाएको छ । तर, बिरामीलाई कुन अस्पताल लगियो भन्ने विवरण उल्लेख छैन ।

-एयर डाइनेस्टी : एक हजार तीन सय ४५ उद्धार, १० लाखसम्म असुली

सन् २०१५ देखि २०१८ मे ३० सम्म साढे तीन वर्षमा एक हजार तीन सय ४५ उद्धार उडान गरेको छ । प्रतिउडान एक लाख ५० हजारदेखि १० लाखसम्म लिएर केही बिरामीलाई ग्रान्डी, टिचिङ, मेडिसिटी, मणिपाल र वयोधा हस्पिटलमा लगिएको छ । तर, उद्धार गरेर ल्याइएका धेरै बिरामी कहाँ लगिएको भन्ने जानकारी दिएको छैन ।

-फिस्टेल एयर : पाँच सय ११ उद्धार, बिरामी स्वाकोन, नर्भिक र वयोधामा

सो अवधिमा फिस्टेल एयरले पाँच सय ११ उद्धार उडान गरेको छ । रुटअनुसार एक लाख ६० हजारदेखि ६ लाखसम्म लिएर उद्धार गरिएको बिरामीलाई स्वाकोन, नर्भिक, वयोधा अस्पतालमा लगिएको छ । तर, धेरै बिरामी कहाँ लगियो भन्ने जानकारी दिएको छैन ।

-माउन्टेन हेलिकोप्टर : दुई सय ९६ उद्धार, प्रतिउडान साढे सात लाखसम्म असुली

सन् २०१५ देखि २०१८ मे ३० सम्म माउन्टेन एयरले दुई सय ९६ उद्धार उडान गरेको छ । एउटा रुटको सात हजार पाँच सय डलर अर्थात् सात लाख ५० हजारसम्म असुलेको छ । यो हेलिकोप्टरले टिचिङ र गंगालाल मात्र होइन, ग्रान्डी, वयोधा, मेडिसिटी र न्युरो अस्पतालमा बिरामी ओसारेको छ ।

-प्रभु हेलिकोप्टर : एक सय ६२ उडान, प्रतिउडान तीन लाख ६० हजारसम्म असुली

सो अवधिमा प्रभु हेलिकोप्टरले एक सय ६२ उद्धार उडान गरी एक उडानको तीन लाख ६० हजारसम्म रकम लिएको छ । तर, बिरामीलाई कुन अस्पताल लगियो भन्ने जानकारी माग्दा पनि सरकारलाई दिएको छैन ।

-श्री एयरलाइन्सका २७ उडान, कैलाश हेलिकोप्टरका दुई महिनामै १९ उडान

सो अवधिमा श्री एयरलायन्सले २७ उद्धार उडान गरेको छ । बिरामीबाट एक लाख ८० हजारदेखि १५ लाखसम्म उठाएर सिबेक, ग्रान्डी र नर्भिक अस्पतालमा लगेको छ ।
सन् २०१८ अप्रिल र मेमा मात्रै कैलाश हेलिकोप्टरले १९ उद्धार उडान गरेको छ । एउटा रुटको दुई लाख ५० हजारदेखि १७ लाखसम्म रकम असुलेको छ ।

पर्यटककाे उपचारमा अस्पतालमा अस्वभाविक बिल

पदयात्रा वा पर्वतारोहणमा गएका पर्यटकलाई नियोजित रूपमा बिरामी बनाएर उद्धार तथा उपचारका नाममा ठगी भइरहेको पुष्टि भएको छ । सरकारी छानबिन कार्यदलले चार वर्षसम्मका घटना अध्ययन गरेर पर्यटकको फेक रेस्क्यु भएको निष्कर्ष निकालेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय संयोजकत्वको कार्यदलले गरेको छानबिनमा ट्राभल एजेन्सी, उद्धार कम्पनी र अस्पतालहरूले फेक रेस्क्युबाट ब्रह्मलुट मच्चाएको ठहर गरेको छ ।

उनीहरूले ६३.५ प्रतिशतसम्म नाफा असुलेका छन् । कार्यदलले सन् २०१५ देखि २०१८ सम्म १२ कम्पनीले गरेको रेस्क्यु घटनाको अध्ययन गरेको थियो । प्रतिवेदनअनुसार सन् २०१५ मा ९ हजार १ सय ६२ पर्यटकले पर्वतारोहण तथा पदयात्रा गरेका थिए ।

त्यसमध्ये १२.४२ प्रतिशतलाई आकस्मिक उद्धार गरिएको थियो । यस्तै, सन् २०१६ मा ६६ हजार ४ सय ९० र २०१७ मा ७५ हजार २ सय १७ पर्यटक पर्वतारोहण तथा पदयात्रामा गएका थिए । उनीहरूमध्ये क्रमशः २.२३ र ४.५१ प्रतिशतलाई आकस्मिक उद्धार गरिएको थियो । 

६ ठूला अस्पतालले अस्वाभाविक शुल्क असुलेको निष्कर्ष, केहीले राजस्व छलेको शंका 

पर्यटकलाई फेक रेस्क्यु गरी महँगा अस्पताल लैजाने र चर्को बिल दाबी गर्ने गरिएको अध्ययन कार्यदलको निष्कर्ष छ । यस्ता ६ अस्पतालमाथि कार्यदलले अध्ययन गरेको थियो । ६ अस्पताललाई सन् २०१५ जनवरीदेखि २०१८ मे ३० सम्मका बिरामीको नामसहित संख्या, उपचार खर्च, उद्धार गर्ने कम्पनीलगायतको विवरण माग गरेको थियो । ती अस्पतालले आफूअनुकूल हुने गरी बिरामी संख्या र उपचार खर्च पेस गरेका छन् ।

त्यो तथ्यांकका आधारमा पनि अस्पतालहरूले बिरामीको उपचारमा अस्वाभाविक बिल दाबी गरेको देखिएको कार्यदलले प्रतिवेदनमा औँल्याएको छ । ६ अस्पतालले ६ हजार ३ सय २ जनाको उपचार गर्दा ८९ करोड ६५ लाख ३४ हजार ३ सय ९१ रुपैयाँ खर्च दाबी गरेको देखिएको छ । 
अस्पतालले उद्धार गरिएका पर्यटकलाई चिकित्सकीय मर्यादाभित्र रहेर उपचार भएकोमा समेत शंका गरेको छ । यसबारे थप छानबिन गर्न स्वास्थ्य मन्त्रालयलाई सुझाब दिएको छ । 

स्वाकोन अस्पतालमा फेक रेस्क्युका सबैभन्दा धेरै बिरामीको उपचार, बुझायो झुटो विवरण 

स्वाकोन अस्पतालमा फेक रेस्क्युका सबैभन्दा धेरै बिरामीको उपचार हुने गरेको देखिएको छ । अस्पतालले दुई हजार २३ को उपचार गरेको जनाएको छ । त्यसबापत बिमा कम्पनीबाट ३१ करोड ९८ लाख ६१ हजार रुपैयाँ असुलेको छ । स्वाकोनले उपचार गरेको बिरामी संख्या र दाबी गरेको खर्चका आधारमा एक विरामीबराबर औसतमा एक लाख ५८ हजार खर्च भएको देखिन्छ । तर, अस्पताले ती बिरामी कस्ता समस्यामा थिए र कुन प्रकृतिको उपचार गरेको हो भन्ने खुलाएको छैन । 

समिट हेलिकोप्टर्सले सन् २०१८ मार्च २२ मा मनाङबाट एक पर्यटकलाई उद्धार गरी स्वाकोन अस्पताल लगेको देखिन्छ । तर, अस्पतालले कार्यदललाई दिएको विवरणमा सो मितिमा उक्त बिरामी ल्याएको उल्लेख गरेको छैन । स्वाकोनले वास्तविक कारोबार नदेखाई राजस्व छलेको ठहर गर्दै थप छानबिनका लागि राजस्व अनुसन्धान विभागलाई सिफारिस गरेको छ । 

५ कम्पनीलाई विदेशी मुद्रा अपचलनको कारबाही 

छानबिन कार्यदलले ५ हेलिकोप्टर तथा उद्धार कम्पनीमाथि थप छानबिन गर्न नेपाल राष्ट्र बैंकसमक्ष सिफारिस गरेको छ । हिमालयन हेली चार्टर, नेपाल रेस्क्यु एन्ड मेडिकल एसिस्ट्यान्स, माउन्टेन रेस्क्यु सर्भिस, माउन्टेन हेली चार्टर सर्भिस र इगल हेली चार्टर सर्भिसमाथि छानबिनको सिफारिस गरेको हो । ती कम्पनीले पर्यटक उद्धारका क्रममा अमेरिकी डलरमा भाडा दाबी गरेको, तर विदेशी मुद्राको कारोबारको इजाजत नलिएको कार्यदलले जनाएको छ । 

१५ कम्पनीमाथि राजस्व अनुसन्धानले थाल्यो छानबिन 

फेक रेस्क्युमार्फत मानव उद्धारमा अस्वाभाविक नाफा असुलेको र राजस्व छलेको आरोप लागेका १५ कम्पनीमाथि राजस्व अनुसन्धान विभागले छानबिन थालेको छ । ८ ट्राभल–ट्रेकिङ तथा उद्धार कम्पनी, ३ हेलिकोप्टर कम्पनी र ४ अस्पतालमाथि छानबिन सुरु गरेको हो । ती कम्पनीले गलत लेखा विवरण तयार गरेको र एकआपसमा नमिल्ने विवरण तयारको भन्दै छानबिन कार्यदलले गरेको सिफारिसका आधारमा छानबिन भएको छ । राजस्व चुहावट ऐन, २०५२ अनुसार अनुसन्धान भएको विभागले जनाएको छ । 

अस्पताल : सिवेक अस्पताल, वयोधा अस्पताल, इरा हेल्थ सेन्टर र स्वाकोन इन्टरनेसनल अस्पताल
उद्धार कम्पनी : इजी हेली चार्टर सर्भिस, फ्लाइट कनेक्सन डोमेस्टिक प्रालि, माउन्टेन रेस्क्यु सर्भिस, हिमालयन सोसियल जर्नी ट्रेकिङ प्रालि, अल्पाइन रेस्क्यु प्रालि, कैलाश चार्टर रेस्क्यु प्रालि, माउन्टेन हेली चार्टर सर्भिस, इगल हेली चार्टर सर्भिस प्रालि । 
हेली कम्पनी : एभरेस्ट प्रालि, मनाङ एयर र एयर डाइनेस्टि हेली सर्भिस प्रालि । 

हेली कम्पनीको बदनियत 

छानबिन कार्यदलले हेली कम्पनीहरूले पनि बदमासी गरेको ठहर गरेको छ । हेली एभरेस्टले कुल २ हजार २ सय ३० पर्यटकको उद्धार गरेको देखिए पनि ती बिरामीलाई कुन अस्पताल लगियो भन्ने खुलाएको छैन । 

यस्तै, मनाङ एयरले एक हजार नौ सय १० पर्यटक उद्धार गरेको थियो । ती बिरामीलाई स्वाकोन, नर्भिक, वयोधालगायत अस्पतालमा लगेको देखिन्छ । तर, अधिकांश अस्पतालको विवरण खुलाएको छैन । यस कम्पनीले तिरेको राजस्वमाथि छानबिन गर्न सिफारिस भएको छ । 

यस्तै, एक हजार तीन सय ४५ पर्यटक उद्धार गरेको एयर डाइनेस्टी हेली सर्भिसले रुटअनुसार दश हजार डलरसम्म भाडा लिएको छ । तर, कम्पनीले नियमअनुसार राजस्व तिरेकोप्रति शंक गर्दै कार्यदलले छानबिन गर्न कार्यदलले राजस्व अनुसन्धान विभागलाई सिफारिस गरेको छ ।

नर्भिक : एउटा बिरामीको उपचारमा ६० लाख
सात सय ६५ जनाको उपचारमा १५ करोड

वयोधा :  एउटै बिरामीको 
उपचारमा २५ लाख
६ सय ९७ जनाको उपचार गर्दा १५ करोड ५५ लाख

ग्रान्डी : एक वर्षको मात्रै विवरण सरकारलाई उपलब्ध
२४ पर्यटकको उपचार 
खर्च ८५ लाख

इरा हेल्थ : बिमा 
कम्पनीबाट ११ करोड असुल
एक हजार एक सय ३० जनाको उपचार

स्वाकोन : बिमा 
कम्पनीबाट ३२ करोड असुल
दुई हजार २३ को उपचार गरेको दाबी

सिबेक : बिमा कम्पनीबाट 
१४ करोड असुल
एक हजार ६ सय ६३ पर्यटकको उपचार

अन्तर्राष्ट्रिय  मिडियामा देशको असीमित बदनाम

२२ जुन २०१३ मा ब्रिटिस माउन्टेरियरिङ काउन्सिल (बिएमसी)मा ‘हाई फ्लाइङ : हेलिकोप्टर रेस्क्यु इन नेपाल इन्भेस्टिगेटेड’ शीर्षकमा एक समाचार छापिएको छ । जसमा आकस्मिक उद्धारका नाममा पछिल्लो समय हेलिकोप्टर र ट्राभल कम्पनी तथा अस्पतालको मिलेमतो हुने गरेको उल्लेख छ । नियमनको अभावमा नेपालमा यस प्रकारको विकृति बढेको समाचारको सार छ । 

२० मार्च २०१६ मा अमेरिकाबाट म्यारी सीले ट्रिप एडभाइजरनामक विश्वप्रसिद्ध ट्राभल साइटमा लेखे, ‘पदयात्री : हेलिकोप्टर रेस्क्युका नाममा हुने ठगीबाट सावधान रहनु’ जहाँ उनले नेपालमा पदयात्राका दौरान हेलिकोप्टर रेस्क्युका नाममा आफूले भोगेको पक्षलाई उजागर गरेका छन् । उक्त यात्राका क्रममा आफ्नो साथीलाई खुम्बु पदयात्राको लोबुचे भन्ने स्थानमा बिरामी पर्दा उद्धार गरेर कम अल्टिच्युडमा झार्ने र बाँकी सदस्य भने पदयात्रा पूरा गर्ने योजनामा थिए ।

तर, गाइडले साथीलाई हेलिकोप्टर उद्धारको सल्लाह दिए र सबैजना सोही हेलिकोप्टरमा फर्किए । साथी ठीक भइसकेको थियो, तर गाइडले स्वकान इन्टरनेसनल अस्पतालका डाक्टरको हवाला दिँदै आवश्यक परीक्षणका लागि अस्पतालमा भर्ना हुन सल्लाह दिएको उल्लेख गरेका थिए । त्यसक्रममा गाइडले आफूहरूको पासपोर्ट मागेको र तीन दिनसम्म गायब बनाएको उल्लेख छ ।

किनकि पदयात्री अस्पतालबाट भाग्न नसकून् । अस्पतालमा अनावश्यक चेक गर्दै अधिक बिल उठाउने र बीमा कम्पनीबाट रकम भुक्तानी गर्न अस्पतालको रिपोर्टमा अतिरन्जित विवरण उल्लेख भएकोसमेत उनले त्यहाँ उल्लेख गरेका छन् । 

२६ अगस्ट २०१८ मा एडभेन्चर स्पोर्टस्मा स्टेफन निस्टलर लेख्छन्, ‘नेपालमा हुने नक्कली उद्धारका विरुद्ध लडौँ । खासगरी नेपाल सरकारले नक्कली उद्धार सम्बन्धमा कार्यविधि बनाएर कडा नीति ल्याएपछि उनले यसलाई प्रकाशित गरेका छन् । जहाँ उनले लेखेका छन्, ‘अब फेक रेस्क्युका नाममा धन्दा चलाउनेको हावा फुस्केको छ ।’ ४ सेप्टेम्बर २०१८ मा द न्युयोर्क टाइम्सका लागि काई स्चुल्तज लेख्छन्, ‘सगरमाथानजिकै पदयात्रीमाथि हेलिकोप्टर बचाउका नाममा धोका ।’

यस स्टोरीमा उनले सन् २०१६ मै सगरमाथा क्षेत्रमा एक अस्टियाली पदयात्री जेफ्री चाङमाथि भएको घटनालाई उदाहरणका रूपमा प्रस्तुत गरेका छन् । उनलाई सामान्य उपचारपछि ठीक हुने अवस्थामा पनि गाइडले काठमाडौंबाट हेलिकोप्टर मगाएर अस्पताल भर्ना गरेको, पासपोर्ट कैयौँ दिनसम्म जफत गरी राखेको र अस्पतालको रिपोर्टमा अतिरिन्जत विवरण राखेको उल्लेख छ । यो स्टोरी पनि सरकारले फेक रेस्क्युका विषयमा अध्ययन सुरु गरेपछि लेखिएको हो । 

२२ अगस्ट २०१८ मा डेलीमेल डटकममा हिमालय हेलिकोप्टर रेस्क्यु घोटाला शीर्षकमा समाचार छापिएको छ । जहाँ पदयात्रीलाई बिरामी भएको दबाब सिर्जना गरेर बीमा कम्पनीमार्फत ठूलो रकम असुल–उपर हुने गरेको विषय उल्लेख छ । यस समाचारमा सन् २०१७ मा पर्यटकको बिमा कभर गर्दा सबैभन्दा महँगो भुक्तानी नेपालमा भएको विषयलाई उल्लेख गर्दै फेक रेस्क्यु मुख्य कारण रहेको बताइएको छ । 

१८ जुन २०१८ मा एएफपीले गरेको रिपोर्टिङलाई याहुले छापेको छ । जहाँ भनिएको छ, ‘बिमा दाबी गर्न नेपालमा अनावश्यक उद्धारको क्रम बढ्दो छ । यस स्टोरीमा पनि स्वस्थ पर्यटकलाई पनि हेलिकोप्टरमार्फत रेस्क्यु गर्ने र उनीहरूमार्फत बीमा रकम दाबी गर्ने प्रवृत्तिबारे उल्लेख छ । ४ सेप्टेम्बर २०१८ मा सिएनएनले पनि यस विषयलाई प्राथमिकताका साथ छापेको थियो । नेपालमा हेलिकोप्टर रेस्क्युका नाममा घोटाला भइरहेको र त्यसविरुद्ध सरकारले कदम चालेको उल्लेख छ ।

द न्युयोर्क टाइम्स : ‘सगरमाथानजिकै पदयात्रीमाथि हेलिकोप्टर बचाउका नाममा धोका’

ट्रिप एडभाइजर : ‘पदयात्री हेलिकोप्टर रेस्क्युका नाममा हुने ठगीबाट सावधान रहनु’

एडभेन्चर स्पोर्टस् : ‘नेपालमा हुने नक्कली उद्धारविरुद्ध लडौँ’

डेलीमेल : हिमालय हेलिकोप्टर रेस्क्यु घोटाला

एएफपी : बिमा दाबी गर्न नेपालमा अनावश्यक उद्धार बढ्दो

सिएनएन : पर्यटकलाई हेलिकोप्टर उद्धारका नाममा भएको लुटविरुद्ध नेपाल सरकारको कदम