१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ मङ्सिर ३० सोमबार ११:०४:००
Read Time : > 1 मिनेट
खेलकुद

पोखरा नौ विकेटले विजयी

Read Time : > 1 मिनेट
२०७६ मङ्सिर ३० सोमबार ११:०४:००

दोस्रो पोखरा प्रिमियर टी–१० (पिपिएल) लिगमा साबिक विजेता पोखरा पल्टनले काठमाडौं गोल्डेन्स वारियर्समाथि नौ विकेटको सानदार जित दर्ता गरेको छ । टस हारेर पहिलो ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा आठ विकेटको क्षतिमा ११५ रनको योगफल तयार गरेको थियो । पोखराले १४.१ ओभरमा एक विकेटको क्षतिमा ११९ रन जोड्दै सानदार जित हात पार्‍यो । 

भुर्तेलको विस्फोटक ब्याटिङ
लक्ष्य पछ्याएको इनिङमा पोखराका लागि कुशल भुर्तेलले विस्फोटक ब्याटिङ गरेका थिए । उनले ४३ बलको सामना गर्दै पाँच छक्का र चार चौकाको सहयोगमा सर्वाधिक ६५ रन योगदान दिए । कुशलले दोस्रो विकेटका लागि रवि इन्दर सिंहसँग ९.५ ओभरमा ८८ रनको साझेदारी गरे ।

रवि इन्दरले वसन्त रेग्मीले फ्याँकेको व्यक्तिगत ३.१ ओभरमा छक्का प्रहार गर्दै पोखरालाई जित दिलाए । रवि इन्दरले ३२ बलमा पाँच चौका र एक छक्का प्रहार गरी ३८ रन बटुले । यसअघि पोखराका ओपनर आसिफ सेख १४ रनमा आउट भएका थिए । उनले १० बलमा एक चौका प्रहार गरे । काठमाडौंका सुसन भारीले एक विकेट लिएका थिए ।

काठमाडौंको फितलो ब्याटिङ
गत सिजनमा काठमाडौंका लागि विदेशी खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका थिए । यस सिजनमा पनि विदेशी खेलाडीकै कारण काठमाडौं स्कोर बोर्डमा सय रन कटाउन सफल भएको हो । काठमाडौंले स्कोर बोर्डमा ४५ रन बनाउँदा महत्वपूर्ण चार विकेट गुमाएको थियो ।

भारतीय खेलाडी सुबोध भाटीले सर्वाधिक ४५ रन जोडे । २९ बलको सामना गरेका भाटीले चार चौका चार छक्का प्रहार गरेका थिए । गत सिजनमा उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेका गौरव तोमरले सात बलमा दुई छक्कासहित १३ रन जोेडे । 

आठ ब्याट्सम्यान चुके
पहिलो ब्याटिङ गरेको काठमाडौंका नौ ब्याट्सम्यानले दोहोरो रन कटाउन सकेनन् । कप्तान ज्ञानेन्द्र मल्लले पाँच बलमा एक रन मात्र बनाए । जय किसनले नौ, वसन्त रेग्मीले आठ, पृथु बास्कोटाले सात, सुवास खकुरेलले ६ र पवन सर्राफले ६ रन जोडेका थिए । पोखराका ललितनारायण राजवंशी, रासिद खान र कुशल मल्लले समान दुई विकेट लिए । प्रथामेस डेकले एक विकेट हात पारे ।    

कम रनमा समेट्ने उद्देश्य पूरा 
शरद भेषवाकर, कप्तान पोखरा उद्घाटन खेलमा हामी सोचेजस्तो नतिजा निकाल्न सफल भयौँ । काठमाडौंलाई थोरै रनमा समेट्ने लक्ष्य राख्दै मैदानमा उत्रिएका थियौँ । अरू खेलमा थप मिहिनेतसहित गल्ती सच्याउने प्रयास गर्छौं । कुशलको ब्याटिङ राम्रै भयो ।

सोचेजस्तो भएन
ज्ञानेन्द्र मल्ल, कप्तान, काठमाडौं पहिलो खेल हामीले सोचेजस्तो भएन । सुरुदेखि नै राम्रो गर्ने प्रयासमा थियौँ । तर, जति गरे पनि क्रमिक रूपमा गल्ती भए, त्यसलाई अन्तिमसम्म सुधार गर्न नसक्दा फराकिलो हारको सामना गर्न बाध्य भयौँ । पोखरालाई स्कोर बोर्डमा ठूलो योगफल दिन सकेनौँ जुन हारको कारण बन्यो । 

आजको खेल
पहिलो खेल विराटनगर र धनगढी
दोस्राें खेल काठमाडौं र बुटवल