गीत संवाद
‘पाइनँ खबर, घर फर्की आउनुहोस् मेरो हजुर’ । यो सदाबहार गीतले हरिदेवी कोइरालालाई लोकगायिकाको परिचय दियो । ०४० को दशकमा यो गीत लोकप्रिय भएपछि उनको गायनले फराकिलो माहोल पायो । ‘लाहुर गएका श्रीमान्को सम्झनामा पिरोलिएका मेरै गाउँका महिलाको कथा थियो, यो गीत,’ उनी भन्छिन् ।
०४० को दशकमा नेपालबाट अर्को देशको सेनामा भर्ती हुने प्रचलन बाक्लो थियो । बेलायत र भारतीय गोर्खा सेनामा भर्ना हुनेहरूको केन्द्र नै थियो, लमजुङ । लाहुर गएका श्रीमान्को सम्झनामा पिरोलिएका गाउँका महिलाको पीडा उनले सानैदेखि महसुस गरेकी थिइन् । रेडियोमा गीत बज्न थालेपछि कतिपयले आफ्नै पीडा गाइदिएकामा उनको सराहना पनि गरेका थिए । सिंगो गाउँका अधिकांश युवा लाहुरे थिए ।
पानी–पँधेरो, घाँस–दाउरा र मेलापातका क्रममा उनी गुरुङ समुदायले गुनगुनाउने लोकगीतबाट प्रभावित थिइन् । लाहुर गएका श्रीमान्को खबर श्रीमतीहरूले लामो समय पाउँदैनथे । अहिलेजस्तो इन्टरनेटको नामोनिसान थिएन । चिठीपत्रबाटै खबर आदान–प्रदान हुन्थ्यो । श्रीमान्ले पठाएको चिठी धेरै सातापछि मात्र गाउँ पुग्थ्यो ।
साथीभाइ छुट्टीमा आउँदा लाहुरबाट चिठीका साथमा मसला, साबुन, कपडालगायत पठाइदिन्थे । त्यतिवेला आफ्ना खसम नै आएको अनुभूति गर्थे उनीहरूले । ‘लाहुरेले पठाएको कोसेली पनि लाहुरे आएजस्तै हुन्थ्यो,’ कोइराला भन्छिन्, ‘त्यसैले आफ्नै गाउँ र महिलाहरूको पीडालाई गीतमा उनेँ ।’
त्यतिवेला गीत रेकर्ड गर्न काठमाडौं नै जानुपथ्र्यो । उनी पनि यो गीत लिएर रेडियो नेपाल पुगिन् । रेकर्ड भएको दुई महिनापछि रेडियोमा बज्न थाल्यो । ‘०४० सालतिर रेकर्ड भएको यो गीतले श्रीमान् लाहुर गएका महिला र उनीहरूका परिवारलाई छोयो,’ उनी भन्छिन् । गाउँमा पानासोनिक रेडियो हुन्थे ।
टेलिभिजन त काठमाडौंमै भर्खर खुल्दै थियो । रेडियोमा सुनेका भरमा गीत हिट हुन्थे । रेडियोमा पनि आधुनिकभन्दा लोकलयकै गीत बढी सुनिन्थे । किनकि, लोकगीतमा जनजीवनका मौलिक शब्द हुन्थे । पछिल्ला दिनमा लोकगीतमै लोकलय र मौलिक शब्दहरू छुटिरहेजस्तो लाग्छ, उनलाई । भन्छिन्, ‘लोक शिष्टता, लोक पृथकता तथा भूगोल र परिवेश चित्रण भएका लोकगीत मात्र बाँच्ने हुन् ।’