मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ मङ्सिर ३० सोमबार १०:५७:००
Read Time : > 2 मिनेट
सप्तरंग

साहित्य महोत्सव : नेता नर्सरीबाट जन्माउने होइन

Read Time : > 2 मिनेट
२०७६ मङ्सिर ३० सोमबार १०:५७:००

‘नेता नर्सरीमा बिरुवा सार्नका लागि मलजल गरी ठिक्क पारेर हुर्काएजसरी जन्मिँदैन । प्रतिकूल परिस्थितिलाई अनुकूल बनाउने र संघर्षले नेता स्थापित गर्ने हो,’ नयाँ पुस्ताको नेता आउने आधार गुमेको सन्दर्भसँग असहमति जनाउँदै फेवा किनारमा उपस्थित दर्शकलाई कांग्रेस केन्द्रीय सदस्य नेता गगन थापा जवाफ दिँदै थिए ।

पोखरामा जारी आठौँ संस्करणको आइएमई नेपाल साहित्य महोत्सवको तेस्रो दिनको पहिलो सत्रमा नयाँ पत्रिकाका सम्पादक उमेश चौहान, पूर्वस्वास्थ्यमन्त्री गगन थापा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्न लागिपरेका पूर्वपत्रकार रवीन्द्र मिश्रले सवाल–जवाफ गरेका थिए । मन्त्री भट्टराईले इमानदारिता र पारदर्शिता देखाउँदै जनतालाई बोलेरभन्दा पनि व्यवहारमा जवाफ दिनुपर्ने बताए । मिश्रले गगन र योगेशलगायतलाई अपवादका नेता भने र अरूलाई खराब कित्तामा उतारे । सवाल–जवाफ र बौद्धिकताको परीक्षण साँच्चै रोचक थियो । ‘अबको नेतृत्व कस्तो ?’ सेसन सकिएको पत्तो नै भएन ।

दोस्रो सेसन थियो ‘पावरिङ सस्टेनेब्ली’ । यसमा गफिए, नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, प्रियन्था विजयातुंगा र रूपक डी शर्मा । उनीहरूले दक्षिण एसियाली मुलुकमा ऊर्जाको अवस्थाबारे मात्र बताएनन्, सँगै नेपालमा यसको सम्भावना र वस्तुस्थितिबारे पनि चर्चा गरे । अपार सम्भावना भएको नेपालमा ऊर्जा क्षेत्रमा व्यापक परिवर्तन गर्न सकिने उनीहरूको भनाइ थियो । नेपालमा उत्पादित बिजुलीको विश्वबजारका बारेमा पनि यो कार्यक्रममा वक्ताहरूले कुरा उठाए ।

यही समयमा ‘ट्रान्सलेसिङ साउथ एसिया’ विषयमा अन्तरसंवाद भयो । यसमा अरुणभ सिन्हा, रिफात मुनिम, कर्मेन विक्रमागामागे र अमिशराज मुल्मीले छलफल गरे । अर्काे सेसन थियो, मुर्झाएको निबन्ध । रोशन शेरचन, गीता त्रिपाठी, रमेश सायन र विमल आचार्यबीच चलेको छलफलमा पछिल्लो समय नेपाली निबन्धको अवस्थाबारेको प्रस्तुति रह्यो । सोही समयमा ‘कथाका अन्तर्कथा’ शीर्षक सेसन पनि चल्यो । सञ्जीव उप्रेती, मुना चौधरी र छुदेन काविमोसँग संवाद गरे, गुरुङ सुशान्तले । यसमा वक्ताहरूले कथालेखन, पात्रको प्रस्तुति, घटनाक्रम आदिबारे चर्चा–परिचर्चा गरे । साथै, कथाका अन्तर्वस्तुबारे पनि उनीहरूले छलफल गरे । दार्जिलिङ, कालिम्पोङलगायत भारतका नेपालीभाषी क्षेत्रमा नेपाली साहित्यको अवस्थाबारे पनि चर्चा परिचर्चा भयो ।

पर्यटनमन्त्री योगेश भट्टराईले इमानदारिता र पारदर्शिता देखाउँदै जनतालाई बोलेरभन्दा पनि व्यवहारमा जवाफ दिनुपर्ने बताए । रवीन्द्र मिश्रले गगन थापा र मन्त्री भट्टराईलगायतलाई अपवादका नेता भने र अरूलाई खराब कित्तामा उतारे ।

महोत्सवमा अर्काे सेसन थियो, नेपाली समाजको वर्गविन्यास । यो सेसनमा विश्लेषक आहुतिले प्रवचन दिए । यसमा नेपालमा भइरहेको वर्गविन्यासको अवस्थाबारे उनले विषद व्याख्या विश्लेषण गरे । ‘हामीले बाँच्न चाहेको नेपाल’ शीर्षक सेसन महोत्सवको आकर्षण थियो । यसमा सहभागी थिए, शृंखला खतिवडा, सुम्निमा उदास, रेसु अर्याल ढुंगाना र गनेस पौडेल । छलफलमा उनीहरूले नयाँ पुस्ताले कस्तो नेपालको अपेक्षा गरेको छ भन्ने विषयमा आ–आफ्ना धारणा राखे ।

यही समयमा अली मियाँ कक्षमा भवसागर घिमिरेको हजुरबाको बगैँचा र हेमलता राईको पुस्तक ‘चंगा चैट’ विमोचन भयो । साथै, ‘किन हुर्किनुपर्छ बालसाहित्य’ शीर्षकमा संवाद पनि भयो । यसमा सहभागी थिए, शाश्वत पराजुली, हेमलता राई र भवसागर घिमिरे । बालबालिकाको बौद्धिक एवं मानसिक विकासका लागि बालसाहित्यको उल्लेख्य भूमिका रहेको उनीहरूले बताए ।

महोत्सवको अर्काे सेसन थियो, राइटिङ इन द एज अफ पपुलिजम । यसमा जेरेमी थम्बिङ, हरिश नाम्बियर, जमिल जन कोचाई र अनाघा नीलकन्टनबीच अन्तरसंवाद चल्यो । लोकप्रिय हुने युगमा लेखनको अवस्थाबारे उनले छलफल गरे । यही समयमा चल्यो, आर्टिफिसियल इन्टेलिजेन्स र कलाको नयाँ परिभाषा । यो सेसनमा विशेष खनाल, विनोद भट्टराई, सुरेश मानन्धर र नीरञ्जन श्रेष्ठबीच अन्तरसंवाद चल्यो । पछिल्लो समय नेपाललगायत मुलुकमा फस्टाइरहेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को अवस्था र प्रभावबारे उनीहरूले चर्चा परिचर्चा गरे । आइतबारको अन्तिम सेसन थियो, नेपाली बजारको विश्वव्यापीकरण । यो सेसनमा उद्योगी एवं अर्बपति विनोद चौधरीलाई संवादमा ल्याए, प्रतीक प्रधानले । यो सेसनमा चौधरीले नेपाली ब्रान्ड र बजारलाई विश्वव्यापीकरण गर्दाका अप्ठ्याराबारे चर्चा गरे ।