मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका इस्लामावाद
२०७६ मङ्सिर ३० सोमबार ०९:२७:००
Read Time : > 1 मिनेट
विश्व

प्रधानमन्त्रीका भतिजा खोज्दै प्रहरी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका इस्लामावाद
२०७६ मङ्सिर ३० सोमबार ०९:२७:००

पाक अस्पतालमा वकिलको तोडफोड 

पाकिस्तानी प्रहरीले अस्पतालमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा प्रधानमन्त्री इमरान खानका भतिजालाई पक्राउ गर्न खोजिरहेको छ । लाहोर प्रहरीले प्रधानमन्त्रीका भतिजा हसन नियाजीको घरमा छापा मारेको छ । हसन अहिले फरार छन् । चिकित्सकसँग भएको विवादपछि हसनसहित सयौँ वकिलले लाहोरको पन्जाब इन्स्टिच्युट अफ कार्डियोलोजी (पिआइसी)मा तोडफोड गरेका थिए । स्थिति नियन्त्रणमा लिन दंगा प्रहरी परिचालन गरिएको थियो । वकिलको प्रदर्शनपछि अस्तव्यस्त बनेको अस्पतालमा तीनजना बिरामीको उपचार अभावमा मृत्यु भएको थियो । 

सुट र टाई लगाएका वकिलहरूले अस्पतालका कर्मचारीलाई कुटपिट गरेको र भौतिक सम्पत्ति तोडफोड गरेको तस्बिर सार्वजनिक भएपछि उनीहरूको चर्को आलोचना भएको छ । हसनको तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा व्यापक सेयर गर्दै सर्वसाधारणले आक्रोश पोखेका छन् । पिआइसीका डाक्टरहरूले एउटा भिडियोमा वकिलहरूको खिल्ली उडाएको र अस्पतालका कर्मचारीले आफ्ना एक सहकर्मीलाई कुटेको भन्दै वकिलहरू प्रदर्शनमा उत्रिएका थिए । यसअघि वकिलहरूले सो अस्पतालमा उपयुक्त उपचारको व्यवस्था नभएको बताएका थिए ।

अस्पतालमा भएको हिंसामा संलग्न रहेको हसनले स्विकारेको अस्पतालले ट्विटमार्फत जनाएको छ । बुधबारको हिंसामा संलग्नताबारे हसनका काका तथा प्रधानमन्त्री खानको कुनै प्रतिक्रिया आएको छैन ।आक्रमणको भिडियो फुटेजमा हसन मुख्य भूमिकामा देखिन्छन् । उनले अस्पतालका कर्मचारीलाई निर्घात पिट्नेदेखि अस्पतालका फर्निचरलगायत भौतिक सम्पत्ति तोडफोड गर्नुका साथै प्रहरी गाडीमा आगजनीसमेत गरेका छन् ।

आक्रमणपछि उनी भागेका थिए । प्रधानमन्त्रीको निर्देशनमा उनलाई अज्ञात स्थलमा लुकाइएको विपक्षीले आरोप लगाएका छन् । हिंसामा संलग्न रहेको आरोपमा प्रहरीले मुद्दा लगाउन खोजेको सूचीमा उनको नाम नभएपछि सर्वसाधारण चकित परेका छन् ।हसनलाई भिडियो फुटेजमार्फत पहिचान गरिएको र अहिले उनको खोजी भइरहेको पन्जाब प्रान्तका प्रहरी प्रमुखले बताए । ‘लाहोरस्थित उनको घरमा शुक्रबार र शनिबार प्रहरीले छापा मारेको छ । उनी फरार छन् । सम्भवतः उनी कुनै गोप्य स्थानमा लुकेको हुनुपर्छ,’ प्रहरी प्रवक्ता वासिम बटले भने ।