मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ मङ्सिर ३० सोमबार ०९:४८:००
Read Time : > 1 मिनेट
प्रदेश

कृषि कर्मले आम्दानीसँगै स्वास्थ्य पनि सुध्रियो

Read Time : > 1 मिनेट
२०७६ मङ्सिर ३० सोमबार ०९:४८:००

बोगटान फुड्सिल गाउँपालिका–४ सात्फरीका लक्ष्मणबहादुर बम प्रायः करेसाबारीमै भेटिन्छन् । कोलाखानका पुराना व्यापारीको रूपमा चिनिएका लक्ष्मण बमले  पछिल्लो समय तरकारी तथा फलफूल खेती सुरु गरेका हुन् ।  

दुई दशकदेखि खुद्रा व्यापार गर्र्दै आएका बम कृषि पेसामा लागेपछि बढी सन्तुष्टि प्राप्त भएको बताउँछन् । बमले भने, ‘मलाई व्यापार भन्दा पनि कृषि पेसाबाट सन्तुष्टि मिलेको छ, आफैँले लगाएको फलफूल फलेको देख्दा मनै फुरुंग हुन्छ, बिहान बारीमा नपुगेसम्म चित्तै बुझ्दैन ।’

बमको बारीमा अहिले अर्गानिक काउली, बन्दा, भेडे खुर्सानी, गोलभेँडा, स्थानीय जातको खुर्सानी लटरम्म फलेका छन् । मौसमअनुसारको तरकारी फलाउने बमले भने, ‘मैले यो बारीमा सुन्तला, मौसम, कागती, अनारलगायत घेरै प्रजातिका फलफूल लगाएको छु । आफैँले रोपेको बिरुवाबाट प्रतिफल आउँदा ठूलो सन्तुष्टि प्राप्त हुँदो रहेछ ।’ 

जिल्ला सदरमुकामदेखि टाढा रहेको कोलाखानमा उत्पादन भएको तरकारी आसपासका स्थानीय बजार तथा गाउँहरूमा बिक्री हुने गरेको बमले बताए । मौसम अनुसारका फलफूल तथा तरकारीको बेर्ना उत्पादन गरेर स्थानीय गाउँहरूमा बिक्री गर्ने गरेको उनले बताए । 

कृषि काममा संलग्न हुँदा आम्दानीका साथसाथै स्वास्थ्य पनि सुध्रिएको बमले सुनाए । ४५ वर्षीय बमले भने, ‘मेरा स्वास्थ्य बिग्रँदै गएकोमा चिन्ता लागेको थियो, पसलबाट फुर्सद हुनेबित्तिकै बारीमा काम गर्दा एक प्रकारको कडा शारीरिक व्यायाम हुने भएकाले  स्वास्थ्य ठीक र मन सन्तुष्ट भएको उनले बताए । व्यस्त हुँदा सकारात्मक सोचको पनि विकास हने अनुभव उनले सुनाए । 

कृषिबाट राम्रो आम्दानी लिन सकिन्छ भन्ने विश्वास दिलाउन कृषि पेसा सुरु गरेको बमले  बताए । उनले भने, ‘गाउँमा धेरै युवाहरू फुर्सदिला देखिन्छन्,  तिनिहरूलाई पनि कर्म गर्दा हुँदो रहेछ भन्ने परोस् र मेरो पनि खाली समयको सदुपयोग होस् भनेर कृषि पेसामा संलग्न भएको हुँ ।’ 

पहाडमा पाखो जमिन प्रशस्त भए पनि त्यसमा उब्जनी नगरेर काम गर्न यहाँका युवा  भारत जाने गरेको  देख्दा बमलाई दुःख लाग्छ  ।  उनले थपे, ‘आफ्नै घरमा बसेर आफ्नै माटोमा मिहिनेत गर्ने हो भने भारतभन्दा तेब्बर पैसा यही छ ।’ आफूले यहाँको सम्भावना प्रमाणित गरेर देखाउन पनि कृषि पेसा अपनाएको उनले सुनाए ।

त्यसको प्रतिफल पनि प्राप्त भएको बताउँदै उनले भने, ‘तरकारीबाट मात्रै मैले वार्षिक दुई लाखसम्म आम्दानी गर्ने गरेको छु । अर्को वर्षदेखि फलफूल पनि फल्छ । त्यसले मेरो आम्दानी अझ बढ्नेछ ।’