१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ मङ्सिर ३० सोमबार ०९:३४:००
Read Time : < 1 मिनेट
प्रदेश

विद्युत् अवरोधले गर्भवतीको शल्यक्रिया रोकियो 

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर ३० सोमबार ०९:३४:००


जेनेरेटरले पनि काम गरेन, हिउँ पन्छाएर हेलिकोप्टरबाट उद्धार

विद्युत् अवरुद्ध हुँदा डोल्पामा एक गर्भवतीको शल्यक्रिया रोकिएको छ । उनको हेलिकोप्टरबाट उद्धार गरेर सुर्खेत लगिएको छ । काइके गाउँपालिका–२ सहरतारा गाउँकी ३२ वर्षीया पासाङ रोकायालाई सुत्केरी बेथा लागेपछि शुक्रबार जिल्ला अस्पताल ल्याइएको थियो । एक दिनसम्म सुत्केरी हुन नसकेपछि शनिबार शल्यक्रियाको तयारी गरिएको थियो । भोल्टेज कम भएपछि अस्पतालका आवश्यक उपकरण सञ्चालन भएनन् । 

त्यसपछि स्थानीय जैरीगाड जलविद्युत् आयोजनालाई भोल्टज बढाउन आग्रह गरिएको थियो । ‘जैरीगाड जलविद्युत्बाट भोल्टेज बढाएर विद्युत् छोड्न लगाउँदा अस्पतालको विद्युत्लाइन सर्ट भयो, त्यसपछि शल्यक्रिया गर्न सकिएन,’ जिल्ला अस्पतालका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा.शंकरप्रसाद राउतले भने । 

त्यसपछि जेनेरेटर चलाइएको थियो । जेनेरेटर चलाउँदा पनि उपकरण नचलेपछि शल्यक्रिया गर्न नसकिएको डा.रावतले बताए । ‘जति कोसिस गर्दा पनि विद्युत्को भरपर्दो विद्युत् आपूर्ति नहुँदा उपकरण चल्न सकेनन् । शल्यक्रिया गर्न सकिएन’ डा.रावतले भने । त्यसपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेतस्थित प्रादेशिक अस्पताल लगिएको छ । 

चार लाख ८० हजारको जेनेरेटरले काम गरेन
विद्युत् आपूर्ति सहज नभएपछि जिल्ला अस्पतालका लागि एक वर्षअघि जेनेरेटर खरिद गरिएको थियो । जसमा कर्णाली प्रदेश सरकारले चार लाख ८० हजार प्रदान गरेको थियो ।

‘नयाँ जेनेरेटरले राम्रोसँग १५ घन्टा पनि काम गरेन,’ अस्पतालका प्रमुख डा.सिजन रावलले भने । अस्पतालमा दुइटा जेनेरेटर छन् । पुरानो जेनेरेटर काम गर्न छोडेपछि नयाँ खरिद गरिएको थियो । नयाँ जेनेरेटर पनि काम गर्न छाडेको उनले बताए ।