मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रवि सेञ्चुरी
२०७६ मङ्सिर ३० सोमबार ०९:१२:००
Read Time : > 2 मिनेट
दृष्टिकोण

भ्रमण वर्ष : आयको अवसर

Read Time : > 2 मिनेट
रवि सेञ्चुरी
२०७६ मङ्सिर ३० सोमबार ०९:१२:००

भ्रमण वर्ष २०२० आउन अब केही दिन मात्र बाँकी छ । ०७४ साउन २९मा नेपाल सरकारले २०२० लाई भ्रमण वर्ष मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षको अवसरमा सरकारले २० लाख पर्यटक नेपाल भित्र्रयाउने लक्ष्य राखेको छ । ‘एक्पेरियन्स नेपाल’ भन्ने मूल नाराका साथ अहिले भ्रमण वर्षको प्रचार प्रचार गरिँदै छ ।

भ्रमण वर्ष मनाउने तयारी गरिरहँदा हामी पर्यटकलाई स्वागत गर्न कत्तिको तयारी अवस्थामा छौँ ? कति काम भए, कति हुन बाँकी छ ? नेपालमा पर्यटक किन आउने ? उनीहरूका लागि सरकारले कस्तो सेवा–सुविधाको व्यवस्था गरेको छ ? यस भ्रमण वर्षले नेपाल र नेपालीलाई के–कसरी फाइदा पु-याउँछ ? नेपालले १९९८, २०११मा पनि भ्रमण वर्ष मनाएको थियो । ती भ्रमण वर्षभन्दा २०२० कसरी प्रभावकारी हुन सक्छ ? सफल बनाउने आधार के–के हुन् ? यी आजका प्रमुख विषय हुन् । 

नेपाल एउटा भूपरिवेष्ठित र अल्पविकसित देश हो । लामो समयको अस्थिर राजनीतिक वातावरणबाट स्थिर राजनीति र विकासतिर लम्किँदै छ । त्यसैले पनि भ्रमण वर्षले सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक रूपमा महत्व छ । विश्वमा तीव्र  रूपमा फस्टाएको व्यवसायमध्ये पर्यटन व्यवसाय पनि एक हो । नेपालले पनि पर्यटन व्यवसायका माध्यमबाट लाखौँ जनतालाई रोजगारी तथा व्यवसायका माध्यमद्वारा उनीहरूको साथै राष्ट्रको आर्थिक विकास गर्न सक्छ । तर, त्यसका लागि राज्य र सम्बन्धित पक्ष कत्तिको गम्भीर छ, त्यसमा भर पर्छ ।

भमर्ण वर्ष मनाइरहँदा योसँग सम्बन्धित पक्षबारे बहस र छलफल हुन आवश्यक छ । त्यसमा देशको पूर्वाधार, शान्तिसुरक्षा, यातायात माध्यम, खानपिन, स्वास्थ्योपचार, सरसफाइ, मनोरञ्जनका पक्ष पर्छन् । हामीले पर्यटक भित्र्रयाउने कुरा गर्दा प्राथमिकता पनि छुट्याउनुपर्ने हुन्छ । हाम्रो प्राथमिकता खर्च गर्न सक्ने पर्यटकमा हुुनुपर्छ, किनकि अझै पनि नेपाल आउने अधिकांश पर्यटकले त्यति खर्च गरेको पाइँदैन । 

नेपाली समाजमा विद्यमान जाति, समुदाय, क्षेत्र, भाषिकले आफ्नो भाषा र पहिचानको माध्यमबाट पर्यटन विकासमा टेवा पु-याउँदै भ्रमण वर्ष सफल पार्नुका साथै आयआर्जनसँंग जोड्ने अवसर पनि सिर्जना होस्

सन् २०१८को पर्यटनको तथ्यांक हेर्दा नेपालमा हवाईमार्गबाट नौ लाख ६९ हजार दुई सय ८७ र स्थलगत दुई लाख तीन हजार सात सय ८५ गरी जम्मा ११ लाख ७३ हजार ७२ जना पर्यटक नेपाल आएको देखिन्छ । यस्तो अवस्थामा सन् २०२०मा कसरी २० लाख पर्यटक ल्याउन सकिन्छ ? त्यसका लागि तयारी कस्तो छ ? नेपाल भ्रमणमा आउनुको उद्देश्य हेर्दा छुट्टि र मनोरञ्जनका लागि ६.४९ प्रतिशत, धार्मिक यात्रा २४.८६ प्रतिशत, पदयात्रा र हिमाल आरोहणमा ५५.५४ प्रतिशत र अन्य ४१.४२ प्रतिशत रहेको छ । यी उद्देश्यसँग सम्बन्धित पूर्वाधार कत्तिको निर्माण गरिएको छ, त्यसमा ध्यान दिनुपर्छ ।

नेपाल भ्रमणमा आउने पर्यटकको औसत बसाइ १२.४ दिन रहेको छ । यस्तो अवस्थामा कसरी उनीहरूको बसाइलाई लम्ब्याउन सकिन्छ भनेर सरकार र सम्बन्धित निकायले ध्यान दिन जरुरी छ । पर्यटकको संख्या वृद्धिका लागि पर्यटक देशकोे हरेक क्षेत्रमा पुग्न सकून् भन्नेमा केन्द्र, प्रदेश र स्थानीय तहसँग कत्तिको सहकार्य गरिएको छ भन्ने विषयले पनि भ्रमण वर्षको सफलतालाई निधारण गर्छ ।

पर्यटकको बसाइलाई उत्कृष्ट बनाउने हो भने राम्रो होेटल वा होमस्टेको आवश्यकता हुन्छ नै, साथमा दक्ष गाइडको पनि उत्तिकै भूमिका हुन्छ । यसका निम्ति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानी वृद्धि गराउनुपर्नेछ । ०७२ सालको भूकम्पले भत्काएका आठ सय ९१ सम्पदामध्ये तीन सय ८७ को पुनर्निर्माण सम्पन्न भइसकेको छ, तर अझै पाँच सय चारको पुनर्निर्माण हुन बाँकी छ । त्यस्तै, भैरहवा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्पन्न भएर सुचारु हुन केही समय लाग्ने देखिन्छ । यस्तो अवस्थामा नेपाल भ्रमण वर्ष सफल तुल्याउने चुनौती छ । तर, चुनौतीसँगसँगै अवसर पनि आउने हुनाले भ्रमण वर्ष नेपालका लागि एउटा सुनौलो अवसर हो । नेपाली समाजमा अवस्थित जाति, समुदाय, क्षेत्र, भाषिकले आफ्नो भाषा र पहिचानको माध्यमबाट पर्यटन विकासमा टेवा पु-याउँदै भ्रमण वर्ष सफल पार्नुका साथै आयआर्जनसँंग जोड्ने अवसर पनि सिर्जना होस् । 
(लेखक समता फाउन्डेसनमा आबद्ध छन्)