१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ मङ्सिर ३० सोमबार ०९:००:००
Read Time : < 1 मिनेट
प्रदेश

सडक कालोपत्रे गरेको  एक सातामै उप्कियो 

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर ३० सोमबार ०९:००:००

गोरखा नगरपालिका–१३ को अबुबाबिर्ती सडक एक साताअघि गरेको कालोपत्रे उप्किएको छ । २० र २५ मंसिरमा यो सडकको आठ सय मिटर खण्ड गण्डकी प्रदेशअन्तर्गत पूर्वाधार विकास कार्यालय लमजुङले कालोपत्रे गरेको थियो । 

गोरखा नगरपालिका–१३ का सुजन गर्ताैलाका अनुसार सडक कालोपत्रेका क्रममा चरम लापरबाही भएको छ । उनले भने, ‘गाउँले व्यस्त भएका वेलामा मात्रै पिच गरेका थिए । स्थानीयले देख्छन् कि भनेर रातारात कालोपत्रे गरिएको थियो ।’  

यस्तै, पालुङटार नगरपालिका–९ बिर्तीका दीपक अधिकारीले पनि कालोपत्रे गर्दा गुणस्तरहीन सामाना प्रयो गरेको आरोप लगाए । ‘खाल्डाखुल्डीमा अलकत्रा हालेर टाल्ने काम मात्र भएको छ,’ उनले भने । आठ सय मिटर कालपत्रे छिटो सक्ने हतारले लापबाही भएको उनको भनाइ छ । गुणस्तरहीन काम भएको भन्दै स्थानीय पनि आक्रोशित भएका छन् ।  

‘तापक्रम नमिल्दा कालोपत्रे उप्कियो’
करिब ७० लाखको लागतमा प्रजिल कन्स्ट्रक्सनसँग सडक कालोपत्रेको ठेक्का सम्झौता भएको थियो ।  फागुन ०७५ मा ठेक्का सम्झौता भएर असार ०७६ सम्म सक्नुपर्ने थियो । तर, समयमै काम नसकिएपछि ६ महिना म्याद थप गरिएको पूर्वाधार विकास कार्यालयका इन्जिनियर प्रल्हलाद लामिछानेले बताए ।

स्थानीयले विरोध गरे पनि इन्जिनियर लामिछानेले भने तापक्रम नमिलेका कारण कालोपत्रे उप्किएको दाबी गरे । लामिछानेका अनुसार चिसो ठाउँ भएकाले अलकत्रा राम्रोसँग जम्न सकेन । गण्डकी प्रदेशका सांसद हरिशरण आचार्यले पनि सडक कालोपत्रेका क्रममा भइरहको कामप्रति असन्तृष्टि जनाएका थिए ।

उनले ठेकेदारलाई सम्झौता गरेअनरूप गुणस्तरीय र टिकाउ काम गर्न सुझाब दिएका थिए । अबुबाबिर्ती सडक गोरखा नगरपालिका–१३ हुँदै पालुङटार नगरपालिकाको केन्द्र जोड्ने मुख्य मार्ग हो ।