मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ मङ्सिर ३० सोमबार ०८:३०:००
Read Time : > 2 मिनेट
राजनीति

कांग्रेस किचलो : पौडेल पक्षविना सानेपामा केन्द्रीय समिति

Read Time : > 2 मिनेट
२०७६ मङ्सिर ३० सोमबार ०८:३०:००

१४औँ महाधिवेशनको कार्यतालिका ल्याउन तयार नभएकामा आपत्ति जनाउँदै आएको रामचन्द्र पौडेल पक्ष आइतबारको केन्द्रीय समितिको बैठकमा पनि सहभागी भएन । बिहीबारको बैठक पनि पौडेल पक्षका नेताहरूले बहिष्कार गरेका थिए । 

असन्तुष्ट पक्षका नेता रामचन्द्र पौडेललाई मनाउन सभापति शेरबहादुर देउवा शनिबार बोहोराटारस्थित उनको निवास पुगेका थिए । तर, पौडेलले १४औँ महाधिवेशनको कार्यतालिका जसरी पनि ल्याउन आग्रह गरे । आगामी फागुनमा कार्यसमितिको चारवर्षे कार्यकाल सकिँदै छ । तर, कार्यसमितिको म्याद एक वर्ष थप्न सकिने विधान छ । अर्को वर्षको फागुनसम्म १४औँं महाधिवेशन गरिसक्नुपर्ने भए पनि तत्काल सदस्यता नवीकरण र वितरण गरी क्यालेन्डर सार्वजनिक नगरे एक वर्ष म्याद थप्दा पनि महाधिवेशन हुन नसक्ने बुझाइ पौडेल र सिटौला पक्षको छ । 

आइतबार पौडेल परिवारका साथ पाथीभरा दर्शनमा गए । देउवाले पौडेलपक्ष सहभागी नभए पनि केन्द्रीय समिति बैठक गरे । तर, पहिलो बैठकमा प्रस्ताव भएका मुख्य एजेन्डामा छलफल नै नगरी बैठक सकियो । सामान्य केही विषयमा मात्रै निर्णय गरेर बैठक सोमबार बस्ने गरी स्थगित भयो । 

बैठकमा सभापति देउवा, उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार एवं केन्द्रीय सदस्यद्वय बालकृष्ण खाण र रमेश लेखकले मात्र भनाइ राखे । देउवाले कम्युनिस्टहरू अधिनायकवादको बाटोमा अघि बढिरहेको भन्दै एकत्रित र बलियो कांग्रेसले मात्र उनीहरूको प्रयासलाई विफल बनाउन सकिने बताए । गुटबन्दीको अन्त्य गर्दै एकताबद्ध पार्टीले मात्र सरकारलाई दबाब दिन सकिने उनको भनाइ थियो । 

संस्थापन पक्षीय नेता एवं सहमहामन्त्री डा. प्रकाशशरण महतले बैठकमा एजेन्डा पेस भएको बताउँदै सहमतिको प्रयास पनि जारी रहेको जानकारी दिए । ‘हामीले महाधिवेशनको कार्यतालिका ननिकाल्ने भनेका छैनौँ । निर्वाचन समितिले समायोजन सकेपछि यसमा अघि बढ्न तयार छौँ । सभापतिले बारम्बार भनिरहनुभएको छ,’ महतले भने, ‘उहाँहरूलाई चुनावी ‘इस्यु’ चाहिएको छ । यसैले जबर्जस्ती ग-यो वा गर्दै गरेन भनेर देखाउने पक्षमा उहाँहरू हुनहुन्छ ।’  

सभापति सबैलाई मिलाएरै पार्टी चलाउन तयार रहेको उनले दाबी गरे । सहमतिको प्रयास भइरहेको बताउँदै उनले केन्द्रीय समितिमा पेस भएका एजेन्डामाथि सोमबारको बैठकमा छलफल हुने जानकारी दिए ।

पौडेल पक्षलाई मनाउने प्रयासमै संस्थापन
पौडेल पाथीभरा गए पनि संस्थापन पक्षले सहमतिको प्रयास छोडेको छैन । उपसभापति विमलेन्द्र निधि सहमतिको प्रयासका लागि महामन्त्री डा. शशांक कोइरालालाई भेट्न उनकै निवास महाराजगन्ज पुगेका छन् । निधिले शशांकलाई आफूहरू सहमतिमा नै अघि बढ्न तयार रहेको बताएका थिए । पार्टी संरचना समायोजन समितिले काम सकाउनेबित्तिकै १४औँ महाधिवेशनको तालिका सार्वजनिक गर्न आफूहरूलाई कुनै समस्या नहुने निधिले बताएका थिए ।

निधिले आइतबार नेता प्रकाशमान सिंहसँग पनि छलफल गरेका थिए । ‘पौडेल पक्षको मुख्य माग नै महाधिवेशनको क्यालेन्डर आउनुप¥यो भन्ने छ । उपसभापति निधिसँग पनि महामन्त्रीले यही कुरा राख्नुभयो,’ कोइरालाका स्वकीय सचिव भरत तिवारीले नयाँ पत्रिकासित भने, ‘उहाँहरूले पार्टी संरचनाको समायोजन भएपछि कार्यतालिका ल्याउन 
तयार छौँ भन्नुभयो ।’ 

देउवालाई गलाउने र थकाउने पक्षमा पौडेल पक्ष
कांग्रेसमा तत्कालीन सभापति सुशील कोइरालाले सभापति भएको तीन वर्ष (२०७०) मा विभाग गठन गर्दा देउवा पक्षले नै विभागीय संयोजक र अञ्चल संयोजकबाट राजीनामा दिएको थियो । त्यसपछि कुनै पनि विभाग सक्रिय भएनन् । सभापतिमा चुनिएको चार वर्ष पुग्न तीन महिना बाँकी हुँदा विभाग गठनकै विषयमा देउवा पनि विवादमा परे ।  इतिहासमै गलत नजिर रहेकोले देउवाले पेलेर बहुमतका आधारमा विभाग गठन र महत्वपूर्ण निर्णय गर्न नसक्ने बुझाइ पौडेल पक्षको छ ।

कोइरालानिवासमा पौडेलपक्षीय भेला
कार्यतालिकालाई मुख्य एजेन्डा बनाएको पौडेल पक्ष निरन्तर गुटगत छलफलमा केन्द्रित छ । संस्थापनले सानेपामा केन्द्रीय समितिको बैठक गरेकै साँझ आइतबार पनि पौडेल पक्षले आन्तरिक छलफल ग-यो ।

१४औँ महाधिवेशनको कार्यतालिका, केन्द्रीय विभाग बढाउन नहुने, तरुण दल वा नेविसंघमध्ये एकको नेतृत्व पाउनुपर्ने, क्रियाशील सदस्यको विवरण वार्ता टोलीसमक्ष पेस गर्नुपर्ने, क्रियाशील सदस्य छानबिनका लागि समिति बनाउनुपर्नेलगायतका विषयमा सहमति नभएसम्म बैठकमा सहभागी नहुने निर्णय भेलाले केन्द्रीय सदस्य कल्याण गुरुङले जानकारी दिए ।  महामन्त्री डा. शशांक कोइरालाको निवास महाराजगन्जमा भएको भेलामा  पौडेल पक्षका अधिकांश केन्द्रीय सदस्य सहभागी थिए ।