मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ मङ्सिर ३० सोमबार ०८:१२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

जडीबुटी खोज्न गएका १२ बेपत्ता 

Read Time : > 1 मिनेट
२०७६ मङ्सिर ३० सोमबार ०८:१२:००

जुम्लाको तिला गाउँपालिका–९ स्थित सेरा फूलबारी पाटनमा जडीबुटी संकलन गर्न गएका १२ जना बेपत्ता भएका छन् । बिहीबार पाटनमा जडीबुटी संकलनका लागि गएका स्थानीयहरू सम्पर्कमा नआएका हुन् । बेपत्ता हुनेमा तिला गाउँपालिका–९ ढिपु गाउँका धनबहादुर बोहोरा, छविराज बोहोरा, जंग रावत, सुमबहादुर बोहोरा, नरवीर बोहोरा, तुलु बोहोरा, ननिलाल रावत, सूर्य रावत, कल्पना बोहोरा, लाउरी बोहोरा, रेश्मा बोहोरा र मनमाया बोहोरा छन् । उनीहरू आइतबारसम्म सम्पर्कमा आएका छैनन् । तिला गाउँपालिका–९ का वडाध्यक्ष शेरबहादुर बोहोराले बेपत्ता भएकाको अवस्थाबारे कुनै जानकारी नभएको जानकारी दिए । उनीहरूसँग सम्पर्कसमेत हुन नसकेको बताए ।

सेतक चिनी, भुल्ते, धुपी, पदमचाललगायतका जडीबुटी संकलनका लागि उनीहरू पाटनतिर गएका थिए । एउटै गाउँका १२ जना बेपत्ता भएपछि गाउँमा चिन्ता उत्पन्न भएको छ । ‘जडीबुटी संकलन गर्न जानेहरू कुनै ओढारमा बसेका हुन सक्छन् । कुनै सम्पर्क हुन सकेको छैन । हिउँ परेकाले उनीहरू चिसोले कठ्यांग्रिने सम्भावना छ,’ वडाध्यक्ष बोहोराले भने । जिल्ला प्रशासन कार्यालय जुम्ला, जिल्ला प्रहरी कार्यालयले बेपत्ता भएकाबारे गृह मन्त्रालयमा जानकारी गराइसकेको बताएका छन् । पूmलबारी पाटनमा पुग्न गाउँदेखि झन्डै दुई दिन लाग्ने स्थानीयको भनाइ छ । 

जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्रप्रसाद श्रेष्ठ भन्छन् ‘जडीबुटी संकलन गर्न जाँदा बेपत्ता हुनु निकै दुःखद कुरा हो । उनीहरूको उद्धारका लागि हेलिकोप्टरको व्यवस्था गरिदिन गृह मन्त्रालयसँग माग गरेका छौँ ।’
 

चिसोले कठ्यांग्रिएर एकको मृत्यु
पाटनबाट सेतक चिनी ल्याएर आएका एकजनाको आइतबार मृत्यु भएको छ । चिसोले कठ्यांग्रिएर तिला गाउँपालिका–९ का बिनबहादुर बोहोराको मृत्यु भएको हो । पाटनबाट घर फर्कने क्रममा उनको बीचबाटोमै मृत्यु भएको वडाध्यक्ष बोहोराले बताए । बोहोरासँगै गएका चारजना सकुशल फर्केका छन् । भारी हिमपातका कारण शव खोज्न कठिन भएको छ ।

उद्धार गर्न सरकारसँग स्थानीयको माग
केही दिनदेखि परेको भारी हिमपातका कारण जनजीवन कष्टकर बनेको छ । गाउँमा झन्डै दुई फिटसम्म हिउँ जमेको छ । फूलबारी पाटनमा हिँडेर जान सकिने अवस्था छैन । धेरै हिउँ परेकाले बेपत्ता भएकाको तत्काल उद्धार गरिदिन स्थानीयले सरकारसमक्ष माग गरेका छन् । बाक्लो हिउँका कारण हेलिकोप्टरबाहेकको विकल्प नरहेको स्थानीय बताउँछन् ।

वडाध्यक्ष बोहोराले उद्धारका लागि पहल गरिदिन स्थानीय प्रशासनलाई आग्रह गरेको जानकारी दिए । सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्रप्रसाद श्रेष्ठका अनुसार बेपत्ता भएकाको उद्धारका लागि गृह मन्त्रालयमा पत्र पठाइएको छ । ‘यो निकै दुःखद हो । उद्धारका लागि गृह मन्त्रालयलाई हेलिकोप्टरको व्यवस्था गरिदिन माग गरेका छौँ,’ उनले भने ।