Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७६ मङ्सिर ३० सोमबार ०७:५७:००
Read Time : > 1 मिनेट
समाचार

धम्की दिँदै रकम  असुल्ने चार पक्राउ

Read Time : > 1 मिनेट
२०७६ मङ्सिर ३० सोमबार ०७:५७:००

धम्की दिँदै उद्योगीहरूबाट रकम असुल्ने एक समूहलाई बारा प्रहरीले प्रक्राउ गरेको छ । वीरगन्ज–पथलैया औद्योगिक करिडोरमा रहेका विभिन्न उद्योगमा फोन गरी सञ्चालकलाई धम्की दिँदै फिरौती उठाउने समूहका चारजनालाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा प्रमोद साह गोढ, देवशंकर राम, अक्षेलाल गोसाई र दीपेन्द्रकुमार धानुक छन् । प्रमोद साह यसअघि नै अवैध हातहतियार खरखजाना मुद्दामा सजाय भुक्तान गरेका व्यक्ति हुन् । 

इँटाभट्टा सञ्चालकसँग १५ लाख माग
प्रहरीका अनुसार उनीहरूले परवानीपुर गाउँपालिकामा रहेको एमएस इँटा उद्योगका सञ्चालक मनोजप्रसाद साह तेलीलाई पटक–पटक फोन गरी १५ लाख फिरौती रकम माग गरेका थिए । तर सञ्चालक साहले दिन अस्वीकार गरेपछि केही समयअघि उनको उद्योगमा बम विस्फोट गराइएको थियो ।

बम विस्फोटपछि समेत उनीहरूले पटक–पटक फोन गरी साहसँग रकम माग गर्दै आएका थिए । भनेजति रकम नदिए घरमा समेत बम विस्फोट गराउने धम्की उनीहरूले दिएपछि मनोजले प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय सिमरासँगको समन्वयमा मनोजले तीन लाख रुपैयाँ रकम दिन बोलाएका वेला उनीहरू पक्राउ परेका हुन् ।

सुरुमा फिरौती लिन आएका देवशंकर रामलाई प्रहरीले पक्राउ गरेको थियो । रामले नै आफ्नो समूहमा संलग्न अन्य व्यक्तिको विवरण दिएपछि थप तीनजना पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक विश्वराज खनालले जानकारी दिए । 

उनीहरूले प्रसौनी गाउँपालिका–४ बस्ने नन्दकिशोर प्रसाद कुम्हाललाई फोन गरी ५० लाख रुपैयाँ माग गरेका प्रहरीले जनाएको छ । ‘परवानीपुर–४ स्थित नारायणी आयल रिफाइनरीका सञ्चालकलाई समेत धम्की दिँदै उनीहरूले मोटो रकम माग गरेका पाइएको छ,’ खनालले भने, ‘रकम नपाएपछि उनीहरूले उद्योगमा सुतली बम विस्फोटन गराएछन् । त्यसपछि २५ हजार रुपैयाँ रकम असुलेको अनुसन्धानबाट खुलेको छ ।’ 

पक्राउ परेका चारैजनालाई मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद २१ दफा २५३ बमोजिम आपराधिक लाभ कसुरअन्तर्गत मुद्दा चलाइने बारा प्रहरीले जनाएको छ । पक्राउ परेकालाई थप अनुसन्धानका लागि जिल्ला अदालत पर्साबाट पाँच दिनको म्याद थप गरिएको खनालले जानकारी दिए ।