१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ मङ्सिर ३० सोमबार ०६:२०:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

काठमाडौं महानगर उदाहरणीय हुनुपर्छ : मन्त्री त्रिपाठी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ मङ्सिर ३० सोमबार ०६:२०:००

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले काठमाडौंको गरिमा बचाउनका लागि मात्र नभई संघीयताको जग बलियो बनाउन पनि महानगर उदाहरणीय हुनुपर्ने बताएका छन् । महानगरको २५औँ स्थापना दिवसको अवसरमा आइतबार वसन्तपुरमा आयोजित कार्यक्रममा त्रिपाठीले यस्तो बताएका हुन् ।

‘काठमाडौंको बिरासत बृहत् छ । यो राजनीति र प्रशासनिक व्यवस्था परिवर्तनको साक्षी पनि हो । सबै मिलेर यसको गरिमा बचाउनुपर्छ,’ त्रिपाठीले भने । सांसद जीवनराम श्रेष्ठले महानगरको विकास र समृद्धिका लागि राम्रा कामको प्रशंसा र सुधार गर्न सुझाब दिए । यस्तै, महानगरका प्रमुख विद्यासुन्दर शाक्यले महानगरको गौरव र महानगरवासीका चाहना पूरा गर्न प्रतिबद्ध रहेको जनाए ।

यसका लागि जस्तासुकै चुनौती सामना गर्न तयार रहेको मेयर शाक्यले बताए । उनले काठमाडौंलाई सहयोगापेक्षी मानवमुक्त बनाउन थालिएको अभियान र बौद्धमा सञ्चालित दमकल भवनलाई महत्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गरे । २९ मंसिर  ०५२ मा तत्कालीन काठमाडौं नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको थियो । 

 परम्परागत बाजादेखि करदातासम्म सम्मानित 
महानगरको २५औँ स्थापना दिवसका अवसरमा विभिन्न व्यक्तिको सम्मान, विविध सांस्कृतिक कार्यक्रम, स्थानीय उत्पादन र मौलिक खानाको प्रदर्शन गरेको छ । महाननगर दिवस शनिबार र आइतबार दुई दिनसम्म मनाइएको थियो । सो क्रममा साइकल -याली, दमकल स्टेसन शुभारम्भ, उत्कृष्ट व्यक्तिगत करदाता सम्मान, परम्परागत नाच तथा वाद्य गुरु सम्मान र सुशासन पत्रकारिता पुरस्कार वितरण गरिएको थियो ।

महानगरले ज्यापू समुदायका परम्परागत ६३ गुथी, खड्गी समुदायका ६० गुथी, गुँला बाजाका २३ वटा समूहका गुरुहरूलाई नगदसहित सम्मान गरेको छ । यसैगरी मखं त्वाकी श्री ३ कुमारी प्रकृति महर्जन र किलाघः त्वाः की कुमारी रेसुका महर्जनलाई मासिक १५ हजार रुपैयाँ भत्तासहित सम्मानसमेत गरिएको छ । यस्तै, इन्द्रजात्राका अवसरमा निकालिने पुलुकिसी, दिप्याखं, लाखे, आकाश भैरव (सवःद्यः) र श्री करुणामय पँय्ताः बाजाका बाजा गुरुहरूलाई पनि सम्मान गरिएको थियो । 

दिवसका अवसरमा जीवित देवी कुमारीमध्ये मरूलाई मासिक १५ हजार रुपैयाँसहित सम्मान गरिएको छ । महानगरका उत्कृष्ट करदातामा सम्पत्ति करतर्फ वडा ६ का छेतेन ग्युर्मान श्रेष्ठलाई सम्मानित गरियो । उनले चार लाख ६४ हजार ३ सय ८४ रुपैयाँ कर तिरेका थिए । यस्तै, बहाल करतर्फ वडा नम्बर ११ की जयाराज्यलक्ष्मी शाहलाई सम्मान गरिएको छ भने व्यवसाय करतर्फ वडा नम्बर ५ मा रहेको उपमा डेभलपर्स प्रालिलाई सम्मानित गरिएको छ । 

 नयाँ पत्रिकाकर्मी बस्नेत सम्मानित 
महानगर स्थापना दिवसको अवसरमा नयाँ पत्रिकाकर्मीसहित आठ पत्रकार र दुई सञ्चारमाध्यमलाई पुरस्कृत गरिएको छ । नयाँ पत्रिकाकर्मी तीर्थराज बस्नेतलाई महानगरले सुशासन पत्रकारिता पुरस्कारबाट सम्मान गरेको छ ।

यस्तै, व्यक्तिगततर्फ पुरस्कृत हुनेहरूमा नेपाल समाचार पत्रका ईश्वरराज ढकाल, नागरिक दैनिकका हिमाल लम्साल, राष्ट्रिय समाचार समितिका शर्मिला पाठक, राजधानी दैनिकका केशव पाण्डे, झिँगु डट कमका रेखा शाक्य र लहना बाः पौ साप्ताहिकका नृपेन्द्र श्रेष्ठ छन् । संस्थागततर्फ नेवा अनलाइन र गोरखापत्र दैनिकलाई पुरस्कार प्रदान गरिएको छ । उनीहरूलाई सम्मानपत्रसहित जनही ५० हजार प्रदान गरिएको छ ।