१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ मङ्सिर २९ आइतबार ११:५२:००
Read Time : > 2 मिनेट
सेयर बजार

सातामा ४०.७२ अंकले बढ्यो नेप्से, २ अर्बभन्दा बढीको कारोबार

Read Time : > 2 मिनेट
२०७६ मङ्सिर २९ आइतबार ११:५२:००

साताभर लगातार नेप्से ४० दशमलव ७२ अंंकको वृद्धि भएको छ । अघिल्लो सातादेखि बढन थालेको नेप्से लगातार आठ दिन बजार बढ्दा परिसूचक १ हजार १ सय ७१ दशमलव ६४ बिन्दुमा पुगेको छ । साताभर बढेकाले बजारले ‘इंगल्फिङ बुलिस’ मैनबत्ती देखाउँदै बजार बढ्ने संकेत गरेको छ । 

सातामा सेन्सेटिभ इन्डेक्स ६ दशमलव ३ अंक बढेर २ सय ५५ दशमलव ६ बिन्दुमा पुगेको छ । त्यसैगरी, फ्लोट इन्डेक्स २ दशमलव ९६ अंक बढेर ७ दशमलव २३ बिन्दुमा पुगेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स २ दशमलव ३२ अंक बढेर २ दशमलव ५८ बिन्दुमा पुगेको छ । 

सो साता १ सय ९० कम्पनीको ३६ हजार ४ सय ४५ पटकको कारोबारमा २ अर्ब ५६ करोड ५६ लाख ५० हजार २४ रुपैयाँबराबरको ८२ लाख ५६ हजार ८५ सय ९५ कित्ता सेयर खरिद–बिक्री भएको छ । सातामा बजार पँुजीकरण ३ दशमलव ६२ प्रतिशत बढेर १४ खर्ब ८९ अर्ब रुपैयाँमा पुगेको छ । सातामा कारोबार रकम ८६ दशमलव ९४ प्रतिशत बढेको छ । 

‘लघुवित्त र बिमाका कारण बजारमा अन्योल’ 
बजारका प्राविधिक विश्लेषक विष्णुप्रसाद बस्यालले बजार १ हजार १ सय ९० देखि १ हजार २ सय बिन्दुसम्म पुग्ने देखिएको बताएका छन् । उनका अुनसार बजारले १ हजार २ सय बिन्दु पार गरेमा बजार बढ्ने देखिन्छ । तर, बिमा र लघुवित्तले बढाएको बजार आगामी दिनमा अन्योलमा रहेको छ । बजार घटेर १ हजार १ सय बिन्दुको वरिपरि पुगेर ओभरसोल्ड भएपछि जनरल सर्पोट पाएर उक्लिएको हो । 

‘गत वर्षको मंसिर महिनामा पनि बजारले यही गति लिएको थियो,’ उनी भन्छन् ‘बिमा, लघुवित्तसँगै बंैकिङ पनि बढेको भए बजार बुलिस प्रवृतिमा गएको भन्न सकिन्थ्यो तर बैंकिङ खासै वृद्धि नभएकाले बढ्ने प्रक्रिया निरन्तर हुन्छ भन्न सकिन्न ।’ गत वर्षको मंसिरमा जीवन बिमा ३२ प्रतिशत, र्निजीवन बिमा २४ प्रतिशत र लघुवित्त १७ प्रतिशतले बढेको थियो । सो अवधिमा पनि बैकिङ नबढेकाले बजारले गति लिन नसकेको हो । अहिलेको अवस्थामा पनि बैंकिङले साथ दिएन भने बजार बढ्छ भन्न सकिन्न । 

ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष भरत रानाभाटाका अनुसार बजारलाई नजिकबाट नियालेका लगानीकर्ताहरू लगानी गर्न आएका छन् । घटेको बजारमा अझै कति दिन घट्ने हो भनेर लगानी नगरी नजिकबाट बजार नियालेका लगानीकर्ताहरू बजार दुई–तीन दिन बढ्न थालेपछि लगानी गर्न आएका देखिन्छन् । बैंकहरूले ब्याजदर घटाइरहेकाले पनि बजार बढ्न मद्दत पुगेको हो । हाल बिमा र लघुवित्तले बजार बढाए पनि आगामी साता बैंकिङ जम्ने अनुमान गर्न सकिन्छ । लगानीकर्ताहरूले पुँजीगत लाभ उठाउन लघुवित्त र बिमा कम्पनी रोजे पनि लाभांशको लागि भने बैकिङ नै रोज्ने गरेकाले बैकिङ बढ्ने अनुमान गर्न सकिन्छ । 

गत वर्षमा लाभांश वितरण नगरेका बिमा कम्पनीहरूले यस वर्ष वितरण गर्ने अनुमानले सो कम्पनीहरूमा लगानीकर्ता आकर्षित भएको मानिन्छ । बिमा कम्पनीमध्ये प्रभु इन्स्योरेन्सले लाभांश प्रस्ताव गरेपछि लगानीकर्ताहरू बिमा अझै आकर्षित हुने देखिन्छ ।  

‘बिमाको बढ्नु सट्टेबाजीको असर’ 
लगानीकर्ता केशव कोइरालाका अनुसार लघुवित्तको वृद्धि केही टिकाउ देखिन्छ । किनकि, लघुवित्तको व्यापार र खुदनाफा प्रतिफल वृद्धि गुणात्मक देखिन्छ । तर बिमा कम्पनीहरूको वित्तीय सूचांकहरू निराशाजनक देखिन्छन् । कम पुँजी भएका बिमा कम्पनीमा अल्पकालीन खेलाडी पसेर कृत्रिम बुल खडा गरिएको हो । वास्तविक बुल सुरु हुन टप टेन बजारीकरण भएका कम्पनीहरूमा बुल देखिनुपर्छ । सायद दोस्रो त्रैमासिकको समाप्तिपछि मात्रै वास्तविक बुलको सुरुआत हुन सक्छ । अहिले क्षणिक सट्टेबाजीको असर मात्रै हुन सक्छ । 

ब्याजदर घट्ने भएकाले बजार बढेको हो । लगानीकर्ता अम्बिका प्रसाद पौड्यालका अुनसार बैंकहरूले ब्याजदर घटाउँदै गरेकाले सहयोग पुगेको बताए । बजारमा ब्याजदर र नेप्सेबीच विपरीत सम्बन्ध हुने भएकाले पनि ब्याजदर घट्ने क्रमले बजार बढेको हो । बजार सधैँ घटि पनि नरहने र बढी पनि नरहने भएकाले घट्ने क्रम रोकिएको पौड्यालले बताए । बिमा र लघुवित्तको इन्डेक्स पछिल्लो दुई महिना धेरै घटेकाले बढेको उनको तर्क छ । गत वर्षमा समेत लाभांश नदिएका बिमा कम्पनीहरूले यस आवमा लाभांश दिने चरणमा पुगेकाले ती कम्पनीहरूको मूल्य बढ्न पुगेको हो । 

गत साताको उच्च, न्यून, बन्द बिन्दुको पिभट विश्लेषण गर्दा, नेप्सेको पिभट बिन्दु १ हजार १ सय ५७ दशमलव ९२ रहेको छ । साताको पिभट बिन्दु बिहीबार बन्द भएको बिन्दुभन्दा तल रहेको छ । यसले आगामी दिनमा बजार बढ्ने संकेत गरेको छ । आगामी साता नेप्से ओरालो लागे १ हजार १ सय ४० दशमलव ५४ बिन्दुमा पहिलो टेवा पाउने देखिन्छ भने १ हजार १ सय ८ दशमलव ४३ बिन्दुमा दोस्रो टेवा पाउने देखिन्छ । त्यसैगरी, बजार उकालो लागे १ हजार १ सय ९० दशमलव शून्य ३ बिन्दुमा पहिलो प्रतिरोध र १ हजार २ सय ७ दशमलव ४१ बिन्दुमा दोस्रो प्रतिरोधको सामना गर्नेछ ।

सातामा ११ समूह सकारात्मक हुँदा एनएमबि बैंकको सर्वाधिक कारोबार
सातामा उत्पादनमूलक समूहको परिसूचकबाहेक बाँकी सबै समूहको परिसूचक बढेको छ । निर्जीवन बिमा समूहको परिसूचक सबैभन्दा बढी ५ सय ६४ दशमलव २३ अंक बढेको छ । दोस्रोमा जीवन बिमा समूहको ४ सय १६ दशमलव ४५ अंकले वृद्धि भएको छ । लघुवित्तको १ सय १८ दशमलव २६, होटलको ६९ दशमलव २६, विकास बैंकको ५५ दशमलव १७, व्यापारको ५९ दशमलव ९१, बैंकिङको २२ दशमलव ५६, जलविद्युत्को ४२ दशमलव ८१, अन्यको १० दशमलव ६८९ र म्युचुअल फन्डको शून्य दशमलव १ अंकको वृद्धि भएको छ ।