मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ मङ्सिर २९ आइतबार ११:३५:००
Read Time : > 2 मिनेट
नयाँCity

काठमाडौं  ‘आध्यात्मिक सहर’

Read Time : > 2 मिनेट
२०७६ मङ्सिर २९ आइतबार ११:३५:००

नेपालको हिमालय क्षेत्रमा पौराणिक कालमा ठूला ऋषिमुनिले तपस्या गरेको धर्मग्रन्थहरूमा उल्लेख छ । काठमाडौं देवी–देवताहरूको क्रीडास्थल थियो भनिन्छ ।

यसलाई आध्यात्मिक सहर बनाउन सकिने प्रचुर सम्भावना छ, अहिले पनि । यहाँको जस्तो मौसम संसारका अन्य सहरमा विरलै पाइन्छ । विदेशीले काठमाडौं आउनासाथ सकारात्मक ऊर्जा प्राप्त हुने बताउँदै आएका छन् ।

शम्भु दाहाल
याेग गुरू
सञ्चालक, सिप्रदी ट्रेडिङ 

अहिले ‘अकुपाई टुँडिखेल’ अभियान चलिरहेको छ । यसका अगुवाहरूले विशाल टुँडिखेलमा योग र ध्यान गराउन सकिन्छ भनिरहेका छन् । यो सकारात्मक हो । खुला मैदानमा योग र ध्यान गराउन सके धेरैलाई जोड्न सकिन्छ । काठमाडौं उपत्यकाका खाली ठाउँ धमाधम मासिइरहेका छन् । तथापि, भएकै खाली ठाउँ, मन्दिर र पार्टीप्यालेसहरूमा योग शिविरहरू चलिरहेका छन् ।

अहिले काठमाडौंमा ४०, भक्तपुरमा ४०, पाटनमा करिब पाँचवटा शिविर छन् । नेपालमा पतञ्जली योग समितिका करिब एक हजार पाँच सय शिविर सञ्चालनमा छन् । योगले धन, इज्जत र प्रतिष्ठा कमाउन पनि सिकाउँछ । अनुलोम विलोम र कपालभाँतीले तत्काल परिणाम दिन्छन् । अनुलोम विलोमले दिमागी शक्ति बढाउँछ । आवश्यक अक्सिजन शरीरभित्र पठाउँछ ।

यी दुई आसन बढी लोकप्रिय भएको पनि यही कारण हो । साँझ–बिहान ३०–३० मिनेट अनुलोम विलोम र कपालभाँती गरेर अद्भूत उपलब्धि हासिल गर्न सकिन्छ । व्यस्त जीवनशैलीका सहरवासीलाई फुर्सद कम छ । कतिपय जीवन धान्न र कतिपय धनाढ्य बन्ने सोचले दौडधुप गरिरहेका छन् । दिनरात काममा खट्दा मान्छेमा ‘स्ट्रेस’ बढ्दो छ ।

काठमाडौंलाई आध्यात्मिक सहर बनाउन सकिने प्रचुर सम्भावना छ । यहाँको जस्तो मौसम संसारका अन्य सहरमा विरलै पाइन्छ । विदेशीले काठमाडौं आउनासाथ सकारात्मक ऊर्जा प्राप्त हुने बताउँदै आएका छन् ।

मनमा अनेक तरहका कुरा खेलिरहेका हुन्छन् । दिमागमा हुने अविराम आलापको व्यवस्थापन योगबाट सम्भव छ । योग गर्दा हाँसेर कुरा गरिन्छ, जसका कारण मन प्रफुल्ल रहन्छ । मन प्रफुल्ल हुनासाथ तनाव टाढा भाग्छ ।

तनाव हट्नासाथ मान्छेमा ऊर्जा थपिन्छ  र उसको कार्यक्षमता बढ्छ । एकान्तमा एक्लो साधनाभन्दा समूहमा योग गर्दा बढी लाभ मिल्छ । योग गर्न फराकिलो ठाउँ नै चाहिन्छ भन्ने छैन ।

सानो ठाउँमा पनि गर्न मिल्छ । ठूलो ठाउँ चाहिने खेलकुदका लागि मात्र हो ।सहरभरि क्लब खुलिरहेका छन् । तारेहोटलमा क्लब राख्नैपर्ने बाध्यता छ । क्लबमा भारी शारीरिक अभ्यास गर्नुभन्दा कैयौँ गुणा फलदायी छ, योग ।

हेल्थ क्लबमा ‘हेभी एक्सरसाइज’ हुन्छ, जसको परिणाम पनि तत्काल पाइन्छ । हेल्थ क्लब धाउँदा बाहिर शरीर राम्रो बन्ला, तर दिमागमा विचार उस्तै आउँछ । तर, योग भित्री पाटोको व्यवस्थापनमा पूर्ण केन्द्रित हुन्छ ।

योगले मनमा शान्ति ल्याउँछ र शान्तिले नै समृद्धि ल्याउने हो । नकारात्मक ऊर्जालाई ‘डिफ्युज’ गरेपछि मात्र अगाडि बढ्न सकिन्छ । योगलाई मान्छेले आ–आफ्नै ढंगले व्याख्या गर्छन् ।

मैले बुझेको योग भने आपसमा जोड्ने, सद्भाव बढाउने, एक–अर्कालाई हेर्दा आनन्द महसुस हुने, शरीरमा ऊर्जा ल्याउने, कार्यक्षमता बढाउने, थकान र आलस्य हटाउने र स्वस्थ रहन मद्दत गर्ने हो । प्राणायाम र ध्यान गरेपछि स्वस्थ भइन्छ ।

विभिन्न आसनले शरीरलाई स्वस्थ राख्छ, दिमाग चुस्त बनाउँछ । शरीर जस्तो हुन्छ, दिमाग पनि त्यस्तै रहने हो । शरीरको दिमागी पाटोलाई छुने योगले मात्रै हो । मान्छेको शरीर, दिमाग र उद्देश्यसँग तारतम्य मिले मात्र सफल हुन सकिन्छ । योगलाई व्यवसायको रूपमा हेर्नु हुँदैन ।

मैले योग निःशुल्क गराउँछु । निःस्वार्थ सेवा गर्‍यो भने अदृश्य शक्तिबाट लाभ मिल्छ । सहरमा पैसा लिएर योग गराउने ठाउँ पनि छन् । तर, त्यहाँ भावना हुँदैन । सेवा भनेको शक्ति हो । दैनिक योग गर्दा-गराउँदा आध्यात्मिक लाभ प्राप्त हुन्छ । यो कुरा सहरवासीलाई थाहा छैन । बुझेको भए धेरै मान्छे योगमा जोडिन्थे ।