मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ मङ्सिर २९ आइतबार ११:१३:००
Read Time : > 2 मिनेट
खेलकुद

खर्चिलो मच्छिन्द्र क्लबले दुई अंक जोड्यो

Read Time : > 2 मिनेट
२०७६ मङ्सिर २९ आइतबार ११:१३:००

गत सिजनको सहिद स्मारक ए डिभिजन लिगमा मच्छिन्द्र रेलिगेसनमा परेको थियो । रेलिगेसनविनाको लिग भएकाले मच्छिन्द्र घटुवा भएन । तर, आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा)ले रेलिगेसनमा परेको क्लबको एक अंक घटाइदिएको थियो । शनिबारदेखि सुरु भएको ए डिभिजन लिगमा मच्छिन्द्रले सोचेजस्तो नतिजा निकाल्न नसके पनि ब्रिगेड ब्वाइजलाई २–० ले हरायो । जितसँगै मच्छिन्द्रले तीन अंक जोड्यो । तर, मच्छिन्द्रले एक अंक तिर्नुपर्छ । यसले गर्दा मच्छिन्द्रले तालिकामा दुई अंक मात्र बनाएको छ । 

स्टार खेलाडीको साथ 
गत सिजनमा रेलिगेसनमा रहेको मच्छिन्द्र यसपालि उत्कृष्ट नतिजा निकाल्ने दाबेदारीका साथ ओर्लिंदा ब्रिगेडले खासै चुनौती दिन सकेन । यद्यपि, राष्ट्रिय टोलीका आधा दर्जन खेलाडी भित्र्याएको मच्छिन्द्रले दुवै हाफमा एक–एक गोल गर्न निकै मिहिनेत गर्नुपर्‍यो । लिग सुरु हुनु केही दिनअघि मात्र मच्छिन्द्रले १३औँ दक्षिण एसियाली खेलकुदमा नेपाललाई स्वर्ण दिलाएका कप्तान सुजल श्रेष्ठ, रेजिन सुब्बा र अभिषेक रिजाललाई अनुबन्ध गरेको थियो ।

बेन्चसेटसमेत बलियो पारेको मच्छिन्द्रसँग विशाल राई, विशाल श्रेष्ठ, देवेन्द्र तामाङ, हेमन गुरुङ, रञ्जित धिमाल, योगेश गुरुङ, विजय धिमाल, बुद्ध चेम्जोङ, दीपक राईलगायत स्टार खेलाडी छन् । स्टार खेलाडीले भरिएको क्लबले पहिलो खेलमा स्तरीय खेल पस्किन नसक्दा फराकिलो जितअन्तर निकाल्न चुकेको हो । 

योगेश र दीपकका गोल
खेलको ३०औँ मिनेटमा योगेश गुरुङले डिबक्सभित्र उत्कृष्ट हेडिङ गर्दै मच्छिन्द्रलाई १–० को अग्रता दिलाए । क्रसबारमा लागेर फर्किएको विशाल राईको फ्रिकिक बलमा अनमार्क रहेका योगेशले हेडिङ गोल गरेका हुन् ।

खेलको ५०औँ मिनेटमा दीपक राईले २–० को अग्रता दिलाए । दीपकले गोल गर्दा उत्तिकै राम्रो फिनिसिङ गरे । उनले ब्रिगेडका तीन डिफेन्डरलाई कटाएर गोल गरेका हुन् । यसअघि खेलको १९औँ मिनेटमा रञ्जित धिमालको फ्रिकिक क्रसबारमा लाग्दा मच्छिन्द्र सुरुवाती अग्रताबाट चुकेको थियो ।

अनिलको गोल प्रयास
ब्रिगेडले पनि लिगका लागि केही राम्रा खेलाडी भिœयाएको छ । राष्ट्रिय टोलीका पूर्वकप्तान तथा स्ट्राइकरसमेत रहेका अनिल गुरुङलाई अनुबन्ध गरेको ब्रिगेडले मच्छिन्द्रसामु चुनौती प्रस्तुत गर्‍यो । मध्यान्तरपछि ब्रिगेडले सुधारिएको खेल देखायो ।

खेलको ७६औँ मिनेटमा कप्तान अनिलको प्रहार क्रसबारनजिक हुँदै बाहिरएको थियो । खेलको अन्तिम समयमा ब्रिगेडका जया गुरुङको प्रहार मच्छिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले जोगाएका थिए । मच्छिन्द्रका विशाल राईले म्यान अफ द म्याच चुनिँदै १० हजार रुपैयाँ हात पारे । 

पहिलो खेल गाह्रो
मच्छिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले प्रतियोगिताको पहिलो खेल गाह्रो हुने बताए । यद्यपि, जितबाट प्रतियोगिताको सुरुवात गर्न पाउँदा खुसी रहेको उनको भनाइ छ । ‘तीन अंकमा खुसी छौँ । पहिलो खेल सधैँ गाह्रो हुन्छ,’ उनले भने, ‘हामी पहिलो खेलको कमजोरी सच्याएर अर्को खेलमा प्रस्तुत हुनेछौँ ।’

यता ब्रिगेडका प्रशिक्षक खगेन्द्र पुनले पहिलो खेलमा पराजित भए पनि खेलाडीले अपेक्षित प्रदर्शन गरेको बताए । उनले भने, ‘मच्छिन्द्र राम्रो टोली हो । स्टार खेलाडीविरुद्ध हामी राम्रो प्रदर्शन गर्न सफल भयौँ ।’ प्रशिक्षक पुनले खेलाडीले प्राप्त अवसरमा गोल गर्न नसक्दा दबाब सामना गरेको बताए । ‘खेलाडीको प्रदर्शन अपेक्षाअनुसार नै भयो । तर, केही मौकामा गोल नहुँदा दबाब बढाउन सकेनौँ,’ उनले भने । 

पूर्वकप्तान अनिल बिबिसीको जर्सीमा 
अनिल गुरुङ फेरि ब्रिगेड ब्वाइज (बिबिसी)मै फर्किएका छन् । अनिलले व्यावसायिक फुटबल करिअरको उडान बिबिसीबाटै गरेका थिए । ०६२ सालमा अनिलले युवा खेलाडीका रूपमा बिबिसीबाट प्रतिस्पर्धा गरेका थिए । छोटो समयमै उनी प्रमुख स्ट्राइकरका रूपमा परिचित भए । १४ वर्षपछि पुनः बिबिसीकै जर्सीमा प्रतिस्पर्धा गर्दा अनिलले नयाँ जिम्मेवारी पाएका छन् । यसपटक उनी बिबिसीमा कप्तानी जिम्मेवारीमा छन् ।

 बिबिसीमा बिताएको पहिलो सिजनमै उनको प्रदर्शन अब्बल रह्यो । यसै प्रतिभाका कारण अनिललाई तत्काल थ्री स्टार क्लबले अनुबन्ध गर्‍यो । अनिलले थ्री स्टारमा रहँदा खासै मौका पाउन सकेनन् । त्यसवेला उनीभन्दा स्टार खेलाडीले थ्री स्टार क्लब भरिएको थियो ।

प्रदीप महर्जन, विजय गुरुङ, नीराजन रायमाझी, लोकबन्धु गुरुङ, नीराजन खड्काजस्ता स्टार खेलाडीको बाहुल्य रहँदा अनिल धेरैजसो समय बेन्चमै बस्न बाध्य भए । अनिलले थोरै संख्यामा मात्र पहिलो सेटमा रही प्रतिस्पर्धा गरेका थिए । त्यसपछि उनी विभिन्न क्लब चहारेका थिए । उनी मनाङ मर्स्याङ्दीमा लामो समय रहे । पुरानै क्लबमा फर्किंदा खुसी लागेको अनिलले बताएका छन् ।