मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ मङ्सिर २९ आइतबार ११:०७:००
Read Time : > 1 मिनेट
खेलकुद

पदक विजेता धमाधम सम्मानित हुँदै

Read Time : > 1 मिनेट
२०७६ मङ्सिर २९ आइतबार ११:०७:००

१३औँ दक्षिण एसियाली खेलकुद (साग)को समाप्तिपछि नेपाललाई पदक दिलाएका खेलाडीलाई भ्याइनभ्याइ भइरहेको छ । उनीहरूलाई दैनिकजसो विभिन्न संघ–संस्थाले सम्मानित गरिरहेका छन् । शनिबार गोंगबुस्थित युरो किड्सले नेपाललाई पहिलोपटक साइक्लिङमा स्वर्ण दिलाएका  बुद्धिबहादुर तामाङलाई सम्मान गरेको छ ।

युरो किड्सले आफ्नो वार्षिक खेलकुद दिवसका अवसरमा बुद्धिलाई नगदसहित सम्मान गरेको हो । बुद्धिले पुरुष क्रसकन्ट्रीको २० किलोमिटर दूरीमा स्वर्ण जितेका थिए । बुद्धिसहित नेपालले साइक्लिङ स्पर्धामा चार स्वर्ण जितेको थियो ।

बुद्धिले १२औँ सागमा पनि सहभागिता जनाएका थिए । त्यसवेला रोड रेसमा सहभागिता जनाएका बुद्धि समग्रमा चौथो भएका थिए । युरो किड्सका अध्यक्ष प्रमोद पाण्डे, निर्देशक राजन कार्कीलगायतले बुद्धिलाई प्रशंसापत्रसहित १० हजार रुपैयाँ प्रदान गरेका छन् । 

यसैगरी, ललितपुर जिल्ला कराते महासंघले करातेमा पदक जित्न सफल ललितपुरका खेलाडी र प्रशिक्षकलाई सम्मान गरेको छ । करातेको पुरुष ८४ केजीमाथिमा विप्लवलाल श्रेष्ठले स्वर्ण, पुरुष ८४ केजीमुनिमा दिवस श्रेष्ठले रजत तथा पुरुष टिम कुमुतेमा मुकुन्द्र महर्जन र विनोद शाक्य गुभाजूले कांस्य जितेका थिए ।

स्वर्ण विजेतालाई २५ हजार, रजतलाई १५ हजार र कांस्यलाई समान १० हजार पुरस्कार प्रदान गरियो । काता प्रशिक्षकद्वय गोपाल महर्जन र गंगाराम महर्जन तथा कुमुते प्रशिक्षक दीपक श्रेष्ठले पनि सम्मानित हुँदै जनही १५ हजार रुपैयाँ पाए । सोही अवसरमा निर्णायकद्वय राजेन्द्र कपाली र महेश रन्जितलाई १० हजार प्रदान गरिएको थियो । 

यसैगरी, सुमेरु ग्रुपले तेक्वान्दोमा पदक जितेका खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई नगदसहित पुरस्कृत गरेको छ । नेपाल तेक्वान्दो संघले सातदोबाटोस्थित आफ्नै एकेडेमी हलमा कार्यक्रम आयोजना गरेको थियो । नेपालले तेक्वान्दोमा पुम्से र ग्योरोगी गरी २९ स्पर्धामा प्रतिस्पर्धा गरेको थियो । नेपालले १२ स्वर्ण, ६ रजत र ११ कांस्य जितेको थियो । 

तेक्वान्दोमा सहभागी सबै नेपाली खेलाडी पदक हात पार्न सफल रहे । सागमा तेक्वान्दोतर्फ नेपालले हासिल गरेको यो दास्रो ठूलो उपलब्धि हो । नेपालमै भएको आठौँ संस्करणमा तेक्वान्दोले १४ स्वर्ण र दुई रजत जितेको थियो ।

आठौँ संस्करणदेखि सागमा प्रवेश पाएको तेक्वान्दोमा नेपाल १२औँ सागमा मात्र स्वर्णविहीन रह्यो । तेक्वान्दोले नवौँमा ६ स्वर्ण, १०औँमा दुई स्वर्ण, तीन रजत र एक कांस्य तथा ११औँमा दुई–दुई स्वर्ण, रजत र कांस्य हात पारेको थियो । १२औँ सागमा भने नेपाल सात रजत र तीन कांस्यमा सीमित भएको थियो ।सुमेरुले व्यक्तिगत स्वर्णलाई ५० हजार, पेयरलाई २५ हजार र टिमलाई २० हजार नगद प्रदान गर्‍यो ।

रजतपदक विजेतालाई २५ हजार, व्यक्तिगत तथा पेयर र टिममा कांस्य जित्नेलाई क्रमशः १५ हजार र २० हजार नगद पुरस्कार दिइयो । त्यस्तै, मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठले २० हजार तथा प्रशिक्षकहरू क्वान योङ दल, टीका लिम्बू, संगीना वैद्य, दीपक विष्ट, नोर्बु लामा र हीराबहादुर थापाले जनही १५ हजार रुपैयाँ थापे ।

सुमेरु ग्रुपका अध्यक्ष एवं नेपाल तेक्वान्दो संघका उपाध्यक्ष भरत महर्जनले दोहोरो स्वर्ण विजेता आयशालाई ब्रान्ड एम्बासडर बनाउन चाहेको बताउँदै पदक विजेता खेलाडीलाई सुमेरु अस्पतालमा उपचार गराउन ५० प्रतिशतसम्म छुटको व्यवस्था मिलाउने प्रतिबद्धता जनाए ।