मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ मङ्सिर २९ आइतबार ०८:४३:००
Read Time : > 2 मिनेट
मुख्य समाचार

६० प्रतिशतभन्दा बढी दुर्घटना उपत्यकामा

Read Time : > 2 मिनेट
२०७६ मङ्सिर २९ आइतबार ०८:४३:००

मुलुकभर हुने दुर्घटनाको ६० प्रतिशतभन्दा बढी सवारी दुर्घटना काठमाडौं उपत्यकामै हुने गरेको छ । ट्राफिक प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष ०७५/७६ मा देशभर १३ हजार ४२१ सवारी दुर्घटना भए । तीमध्ये आठ हजार ५११ अर्थात् ६३ प्रतिशत दुर्घटना काठमाडौं, भक्तपुर र ललितपुरमा भएका हुन् । पछिल्ला १२ वर्षमा देशभर एक लाख पाँच हजार दुर्घटना भएकोमा उपत्यकामा मात्रै ५९ हजार ६२१ रहेको  प्रहरीको तथ्यांक छ । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकामा पछिल्ला १२ वर्षमा भएका दुर्घटनामा एक हजार ९४२ जनाले ज्यान गुमाएका छन् । दुर्घटनापछि मुख्य कारणबारे अध्ययन र विश्लेषण भए पनि न्यूनीकरणका लागि प्रभावकारी कदम चाल्न नसक्दा दुर्घटनाको दर भने घटेको छैन । महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले उपत्यकामा सवारी दुर्घटनाको दर वृद्धि भएको ताए । तर, मानवीय क्षतिको दर भने क्रमशः नियन्त्रण हुने क्रममा रहेको उनको दाबी छ । ‘बर्सेनि जनसंख्याको चाप बढ्दो छ, सवारी संख्या पनि बढेको छ, तर सडकको अवस्था भने फेरिएको छैन, त्यसकारण पनि उपत्यकामा दुर्घटना बढी हुनेगर्छ,’ ढकालले भने । 

उपत्यकामा दुर्घटनामा परी मृत्यु हुनेको संख्या आव ०६४/६५ मा १२० थियो । आव ०७०/७१ मा १३३, ०७४/७५ मा १९४ र ०७५/७६ मा यो संख्या २५४ पुगेको छ । चालू वर्षको पहिलो चौमासिकमा दुर्घटनामा परी ५९ जनाले ज्यान गुमाएका छन् । ट्राफिक प्रहरीले दुर्घटना र मानवीय क्षतिको दर न्यूनीकरण गर्न निरन्तर प्रयास गरिरहेको एसएसपी ढकालले बताए । उपत्यकामा अहिले करिब १३ लाखभन्दा बढी सवारीसाधन छन् ।

चालकको लापरबाहीकै कारण ८८ प्रतिशत दुर्घटना
उपत्यकामा सवारी दुर्घटनाको दर हरेक पाँच वर्षमा दोब्बरले वृद्धि भइरहेको छ । आव ०६४/६५ मा उपत्यकामा दुई हजार २११ दुर्घटना भए । दुर्घटनाको यो दर दोब्बरभन्दा बढीले वृद्धि भएर आव ०७०/७१ मा चार हजार ६७२ पुग्यो । यस्तै, पाँच वर्षपछि आव ०७५/७६ मा यो संख्या वृद्धि भएर आठ हजार ५११ पुगेको छ । चालू आवको पहिलो चौमासिकमा चार हजार १७१ सवारी दुर्घटना भएका छन् । ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरण गर्न अभियान सञ्चालन गरे पनि दुर्घटनाको दर भने बढेकोबढ्यै छ । 

ट्राफिक प्रहरीले सवारी दुर्घटना हुनुका कारणहरूको विश्लेषण पनि गरेको छ । सवारी कुदाउँदा चालकले गर्ने लापरबाही, तीव्र गति, मादक पदार्थ सेवन, यान्त्रिक गडबडी, सडकको दुरावस्थाजस्ता कारणले दुर्घटना हुने गरेका छन् । तर, चालकको लापरबाहीकै कारण दुर्घटना हुने गरेको ट्राफिक प्रहरीको दाबी छ । उपत्यकामा पछिल्ला आठ वर्षमा भएका ४५ हजार ६२६ दुर्घटनामध्ये ४० हजार ४६३ वटा अर्थात् ८८ प्रतिशत दुर्घटना चालकको लापरबाहीका कारण भएका महाशाखाप्रमुख ढकालले जानकारी दिए ।

बाँकीमध्ये एक हजार ९०२ तीव्र गति, एक हजार ५८६ मापसे, ६९२ ओभरटेक, ५१७ पदैलयात्रुको लापरबाही र पशुचौपाय तथा सडकको दुरावस्थाका कारण २३३ वटा दुर्घटना भएका छन् । आव ०७५/७६ मा भएका आठ हजार ५११ मध्ये चालकको लापरबाहीका कारण सात हजार ५२९ दुर्घटना भएका ट्राफिक प्रहरीको निष्कर्ष छ । तीव्र गतिका कारण १९७, मापसेका कारण २००, ओभरटेकका कारण ३० र सडकको दुरावस्थाका कारण १० वटा दुर्घटना भएका छन् । 

उपत्यकामा हुने दुर्घटनामा सबैभन्दा बढी मोटरसाइकल, स्कुटी, कार, भ्यान, टिपर र ट्रकहरू संलग्न छन् । महानगरीय ट्राफिक प्रहरी भक्तपुरका प्रहरी निरीक्षक हरिओम खड्काका अनुसार सबैभन्दा धेरै दुर्घटनामा पर्ने सवारीमा मोटरसाइकल, स्कुटी, कार भ्यानलगायत साना सवारीसाधन छन् । ‘उपत्यकाका मुख्य चोकहरूमा जाम पर्छ, सानो बाटो देख्यो कि कुदिहाल्ने साना सवारीको स्वभाव छ, गति पनि असीमित हुन्छ, त्यही कारण धेरै दुर्घटना भइरहेका छन्,’ उनी भन्छन् । 

कमजोर सडक पूर्वाधारका कारण पनि दुर्घटना बढेको प्रहरी निरीक्षक खड्काको बुझाइ छ । उनी भन्छन्, ‘मानिसको चाप हुने ठाउँमा जेब्राक्रसिङसमेत छैनन्, आकाशेपुल चढ्न चाहँदैनन्, खाल्डाखुल्डी भएका सडकमा चालकले सवारीको गति नियन्त्रण गर्न सक्दैनन् ।’ सडक पूर्वाधार सवारी सञ्चालनयोग्य नहुँदा समस्या हुने गरेको उनले बताए । 

हरेक पाँच वर्षमा दोब्बरले वृद्धि 

मृत्यु हुनेमा पैदलयात्रु धेरै
सवारी दुर्घटनामा परी मृत्यु हुनेमा पैदलयात्रुको संख्या उच्च छ । आव ०६९/७० देखि ०७५/७६ को अवधिमा भएका दुर्घटनामा एक हजार २२१ को मृत्यु भएको ट्राफिक प्रहरीको तथ्यांक छ । त्यसमध्ये ४७३ जना पैदलयात्रु हुन् । मोटरसाइकल र स्कुटीमा सवार ५५३ जना, ट्रकमा सवार ४४, बसमा सवार ५७, साइकल ३६, माइक्रो ९, टेम्पो ट्रयाक्टर १० र कारमा सवार ३९ जनाको मृत्यु भएको छ । 

चालक ट्राफिक नियम मान्दैनन्, पैदलयात्रु सडकबाटै बाटो काट्छन् 
भीमप्रसाद ढकाल 
प्रमुख, महानगरीय ट्राफिक प्रहरी महाशाखा

देशकै राजधानी भए पनि कतिपय सडकको अवस्था नाजुक छ । सडकका खाल्डाखुल्डी, हिलोधुलो, चालकको लापरबाही, तीव्र गतिलगायत कारणले दुर्घटना बढेका छन् । हाम्रो अभिलेखीकरण व्यवस्थित भएकाले सबै दुर्घटना अभिलेखमा आउँदा पनि संख्या बढेको हो । दुर्घटनाको मुख्य कारण भनेको ट्राफिक नियमको उल्लंघन नै हो । चालक ट्राफिक नियम मान्दैनन् । पैदलयात्रु आकाशेपुलमुनिबाट सडकबाटै बाटो काट्छन् । बाटो उही छ, तर सवारी थपिएका थपियै छन् । पुराना गाडीहरू पनि छन् । यी विभिन्न कारणले दुर्घटनाको दर बढेको हो । सडक पूर्वाधार कमजोर भएकाले पनि समस्या हुने गरेको छ । सडक प्रविधिमैत्री बनेको छैन । तीव्र गति, चालकको लापरबाही, सडकको दुरावस्थालगायत कारणले उपत्यकामा सवारी दुर्घटनाको दर बढेको छ । दुर्घटना र त्यसबाट हुने मानवीय क्षति कम गर्न हामी कोसिस गरिरहेका छौँ ।