मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
अवरुद्ध सडकको हिउँ पन्छ्याउँदै सशस्त्र प्रहरी बल ३२ नम्बर गुल्म मनाङका  सशस्त्र प्रहरी ।      
२०७६ मङ्सिर २९ आइतबार ०८:२९:००
Read Time : > 1 मिनेट
प्रदेश

हिमपातले मनाङको  सडक अवरुद्ध

Read Time : > 1 मिनेट
२०७६ मङ्सिर २९ आइतबार ०८:२९:००

हिमपातका कारण हिमाली जिल्ला मनाङको सडक अवरुद्ध भएको छ । हिउँ जमेकाले तल्लो मनाङको दानाक्युबाट माथिल्लो मनाङसम्म सवारी आवगमन हुन सकेको छैन ।सवारीसधान मात्रै होइन, स्थानीयलाई समेत आवतजावत गर्न समस्या परेको छ ।

‘हिउँ जमेर बाटो बन्द भयो,’ मनाङका होटेल सञ्चालक म्याक्स सोले भने, ‘शनिबार बिहान ११ बजेबाट हिमपात रोकिए पनि आवतजावत गर्न सकिएको छैन । सवारीसाधन त शुक्रबारदेखि चलेका छैनन् ।’ चिसोका कारण धाराबाट आउने पानीसमेत जमेको उनले बताए ।

नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेका अनुसार दानाक्युबाट माथिल्लो क्षेत्रमा हिमपात भएकाले पर्यटक र सवारीसाधन चामेतर्फ अघि बढ्न सकेका छैनन् ।  अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका कैलाश तिवारीका अनुसार माथिल्लो मनाङमा भने हिउँ जमेको छैन । दैनिक २०–३० जना पर्यटक आइरहेको उनले बताए । तिवारीले भने, ‘मौसममा आएको परिवर्तनबारे पर्यटकलाई सचेत गराइरहेका छौँ ।’ 

प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले तल्लो क्षेत्रको दानाक्यु हुँदै चामे र चामेदेखि माथिल्लो मनाङसम्मको मोटरबाटो अवरुद्ध भएको बताए । उनले माथिल्लो मनाङको सडक खुलाउने प्रयास गरिए पनि नसकिएको बताए । ‘हिउँ कहिले धेरै पर्छ, कहिले थोरै,’ उनले भने, ‘खुलाएर के गर्ने, यो हिउँ पर्ने मौसम हो, आएर ढाकिहाल्छ ।’ शनिबार सशस्त्र प्रहरीले सदरमुकाम चामेको बजार क्षेत्रको हिउँ भने पन्छाएर मान्छे हिँड्डुल गर्ने बाटो बनाएको छ । 

पर्यटकलाई गन्तव्य पुग्न कठिन
हिमपात भएसँगै चक्रीय अन्नपूर्ण पदमार्गमा आएका पर्यटकलाई गन्तव्यमा पुग्न कठिन भएको छ । स्थानीय प्रशासन, प्रहरी तथा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङले हिमपातमा पर्यटकलाई अघि नबढ्न अनुरोध गरेको छ । मनाङका डिएसपी टीकाबहादुर कार्कीका अनुसार माथिल्लो क्षेत्र जाने पर्यटकलाई चामेबाट नजान भनिएको छ ।

‘चिसो बढेको छ, हिउँ ४ इन्चसम्म जमेको छ,’ उनले भने, ‘हिमपातका कारण पर्यटक पुग्नुपर्ने ठाउँमा पुगेका छैनन् ।’  मनाङको तापक्रम माइनस ६ डिग्री सेल्सियस रहेको उनले बताए । चक्रीय अन्नपूर्ण पदमार्गको गन्तव्य मानिएको थोराङ्ला (५,४१६ मि) पास गरेर पर्यटक मुस्ताङ जानेगर्छन् ।

हिमपातपछि मनाङको माथिल्लो भेगबाट गएका पर्यटक थोराङ्ला फेदी, याकखर्कलगायत ठाउँमा बसेको एक्याप मनाङका कैलाशबाबु तिवारीले बताए । हिमपातपछि जनजीवन प्रभावित भएको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र घलेले बताए ।