मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ मङ्सिर २९ आइतबार ०८:२५:००
Read Time : < 1 मिनेट
समाचार

हिमपातपछि मनाङका किसान हर्षित

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर २९ आइतबार ०८:२५:००

हिमपातपछि मनाङका किसान हर्षित भएका छन् । यो मौसमा परेको हिउँले बाली सप्रने भएकाले उनीहरू खुसी भएका हुन् । मनाङमा शुक्रबार बिहानदेखि शनिबारसम्म हिउँ परेको थियो । 

चामे गाउँपालिका–२ थान्चोकका स्याउ कृषक कुलबहादुर घलेले हिमपात हुनु स्याउ खेतीका लागि राम्रो भएको बताए । एकैपटक नपग्लिने र बिस्तारै पग्लिँदै जाने भएकाले माटोमा चिस्यान पुग्ने र अन्नबाली उत्पादन पनि राम्रो हुने उनले बताए । उनले भने, ‘पानी पर्‍यो भने तत्काल सुकिहाल्छ । हिउँ पर्‍यो भने बिस्तारै पग्लिन्छ । खेतीमा चाहिने सिँचाइको मात्रा पुग्छ । हिमपात हुँदा केही समस्या भए पनि खेतीका लागि राम्रो हुन्छ ।’

मनाङ ङिस्याङ गाउँपालिका–१ पिसाङ गाउँका छिरिङ गुरुङले हिउँ पर्दा बिरुवाको जरा भिज्ने र चाहिने पानीको मात्रा पुग्ने बताए । उनले भने, ‘हिउँ परेमा खेती गर्न सहज हुन्छ । उत्पादन पनि बढ्छ । हिउँ पर्दा यताउता हिँड्न समस्या भए पनि खेतीका लागि भने उचित छ ।’

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ (स्याउ जोन) मनाङका अनुसार हिउँले गर्दा, स्याउ, आलु, गहुँ, फापरलगायतका बालीलाई फाइदा पुग्छ । किसानले सिँचाइको छुट्टै व्यवस्था गर्नुपर्दैैन ।