मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७६ मङ्सिर २९ आइतबार ०७:५१:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

विदेश पठाइदिने र उद्योग खोलिदिने भन्दै ७० करोड ठगी

Read Time : > 1 मिनेट
२०७६ मङ्सिर २९ आइतबार ०७:५१:००

पक्राउ परेपछि हिरासत छल्न अस्पताल भर्ना

जागिर लगाइदिने र विदेश पठाइदिने मात्रै होइन, उद्योग नै खोलिदिनेसम्मको प्रलोभन देखाएर ७० करोड ठगेको आरोप लागेका दोलखा मेलु–१ पवटीका दिनेश कोइरालाले प्रहरीको हिरासतसमेत छलेका छन् । मंगलबार पक्राउ परेका उनी हिरासत पुग्नुको सट्टा अस्पतालमा बसेका छन् । 

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले मंगलबार बालुवाटारबाट पक्राउ गरेलगत्तै उनी बिरामी भएको नाटक गरेर नर्भिक अस्पताल जान खोजेका थिए । तर, प्रहरीले उनलाई वीर अस्पताल भर्ना गर्‍यो । पक्राउ पर्दा उनी प्राडो गाडीमा हुइँकिरहेका थिए । प्रहरीले उनको गाडी पनि नियन्त्रणमा लिएको छ । थप अनुसन्धानका लागि उनीविरुद्ध काठमाडौं जिल्ला अदालतले सात दिनको म्याद थप गरेको छ । तर, उनी एक दिन पनि प्रहरीको हिरासत कक्ष प्रवेश गरेका छैनन् । 

‘पक्राउ परेलगत्तै बिरामी भएको भन्दै कोइरालाले नर्भिक अस्पताल जान खोजे । हामीले वीर अस्पताल लग्यौँ । खासमा बिरामी भएजस्तो लाग्दैन । प्रहरीको हिरासत कक्ष छल्न नाटक गरेको देखिन्छ,’ महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले भने । 

दोलखा मेलुङ पवटीका गणेश उप्रेती, ललितपुरका सुलभ कर्माचार्य, काभ्रेका कृष्णबहादुर खड्का, श्रवणकुमार तामाङलगायतले कोइरालाविरुद्ध ठगीको उजुरी दिएपछि प्रहरीले पक्राउ गरेको थियो । प्रहरीका अनुसार कोइरालाले उप्रेतीको १२ करोड ८५ लाख, कर्माचार्यको डेढ करोड, खड्काको ७० लाख, तामाङकोे ८० लाख रुपैयाँ ठगेका छन् । अन्य पीडितले उजुरी दिने क्रम जारी रहेको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार कोइरालाले ३५ भन्दा धेरै व्यक्तिलाई ठगेको अनुसन्धानबाट देखिएको छ । सबै पीडितको जाहेरी आए उनीबाट ठगिएको रकमको परिमाण ७० करोड पुग्ने महाशाखाका प्रमुख एसएसपी थापाले बताए । ‘अहिलेसम्म पाँचजनाभन्दा धेरैको जाहेरी परेको छ । उनीहरूको मात्रै २० करोड रुपैयाँभन्दा धेरै रकम ठगेको देखिएको छ । जाहेरी नदिएकाहरू पनि धेरै आएका छन् । उनीहरूसँग बुझ्दा कोइरालाले ७० करोड रुपैयाँभन्दा धेरै ठगेको देखिन्छ,’ थापाले भने ।

गत वर्ष कात्तिकमा पनि कोइराला गठी आरोपमै पक्राउ परेका थिए । खोटाङ दिप्रुङ चुइचुम्मा–१ का श्याम खड्काले दिएको उजुरीका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको थियो । जापान पठाइदिने भन्दै १९ लाख रुपैयाँ लिएका कोइराला एकाएक गायब भएपछि खड्काले प्रहरीमा उजुरी दिएका थिए । महाशाखाबाट खटिएकै प्रहरी टोलीले पक्राउ गरी उनलाई तीन दिनसम्म महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासत कक्षमा राखेको थियो । बिरामी भएको नाटक गरेपछि उनलाई त्यसवेला पनि नर्भिक अस्पतालमा राखिएको थियो । अदालतमा धरौटी रकम बुझाएपछि उनी हिरासतमुक्त भएका थिए । 

प्रलोभनमा सर्वसाधारण ठग्ने दिनेश कोइरालाले मोरङस्थित सुकुम्बासी बस्ती नै आफ्नो नाममा पारेका छन् । मोरङ उर्लावारी–८ दुर्गापुरीका विष्णुबहादुर धिमालसहित १० भन्दा धेरै स्थानीयलाई सुकुम्बासी बनाएका छन् । कतिलाई कम्पनीको साझेदार बनाउने, वैदेशिक रोजगारमा पठाइदिने प्रलोभनमा पारी कोइरालाले ठगी गर्ने गरेको खुलेको छ ।