मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
हिउँले ढाकेको पाथीभराको माथिल्लो फेदीबजार । तस्बिर : नयाँ पत्रिका
२०७६ मङ्सिर २९ आइतबार ०७:२१:००
Read Time : < 1 मिनेट
प्रदेश

भारी हिमपातले उच्च पहाडी क्षेत्रको जनजीवन प्रभावित

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर २९ आइतबार ०७:२१:००

ओखलढुंगाका उत्तरी क्षेत्रका विभिन्न गाउँमा भारी हिमपात भएपछि जनजीवन प्रभावित भएको छ । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने र सोलुखुम्बुसँग जोडिएका थोलेदेम्बा, खिजिफलाँटे, ठाडे, धाप, पात्ले, भूसिंगासहितका क्षेत्रमा बाक्लो हिउँ परेको छ ।

विगतका वर्षहरूमा पुस अन्तिममा मात्रै हिउँ पर्ने क्षेत्रहरूमा पनि यस वर्ष मंसिरमै हिउँ झरेको सिद्धिचरण नगरपालिका–६ ठाडेका हरिकुमार मगरले बताए । ‘पोहोर–परारतिर पुस–माघमा मात्रै हिउँ झथ्र्यो, यस वर्ष त वेलैमा हिउँ झर्‍यो,’ उनले भने, ‘जनजीवन प्रभावित भए पनि हामी किसानका लागि यो राम्रो हो ।’ एक्कासि चिसो बढेर हिमपात हुँदा जनजीवन केही कष्टकर बनेको भन्दै उनले कतिपयले न्यानोको जोहो गर्नै नभ्याएका कारण समस्या देखिएको बताए ।

ओखलढुंगाको खिजिदेम्बा, सिद्धिचरण नगरपालिका र मोलुङ गाउँपालिका क्षेत्रका उच्च भागमा हिउँ परेको छ भने छिमेकी जिल्ला सोलुखुम्बुको उच्च भेगका अधिकांश क्षेत्रमा हिउँ परेको छ । निरन्तर झरी र हिमपातका कारण मानिससँगै पशुचौपाया पनि चिसोको मारमा छन् । यद्यपि, मंसिरको हिउँ खेतबारीमा लगाइएको गहुँबालीका लागि भने राम्रो भएको भन्दै किसान खुसी देखिएका छन् ।

हिउँ खेल्ने बढे
चिसोका कारण जनजीवन कष्टकर भए पनि हिउँमा रमाउने पनि उत्तिकै देखिएका छन् । हिउँमा रमाउन सदरमुकाम ओखलढुंगा र आसपासका क्षेत्रका मानिस ठूलो संख्यामा आएको जन्तरखानीका लुत्र मगरले बताए । ‘हिमपात भइरहेको छ । 

चिसोले बालबालिका र वृद्धवृद्धा केही समस्यामा परेका छन्,’ उनले भने, ‘तर, हिउँ खेल्न आउने युवाको भिड बिहानैदेखि बढेको छ ।’ ओखलढुंगाको ठाडे जन्तरधापदेखि सोलुखुम्बुको पाताले क्षेत्रसम्म हिउँ खेल्ने युवायुवतीको घुइँचो लागेको छ ।