मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ मङ्सिर २९ आइतबार ०६:१५:००
Read Time : > 2 मिनेट
मुख्य समाचार

शंकास्पद झोलालाई ख्याल–ख्याल ठान्दा इन्स्पेक्टरसहित तीनजनाको ज्यान गयो

Read Time : > 2 मिनेट
२०७६ मङ्सिर २९ आइतबार ०६:१५:००

घरको गेटमा रातो झोला देखेपछि बम ठानेर साह परिवारले प्रहरी बोलाए, तर इन्स्पेक्टरले बम होइन भन्दै छोएलगत्तै विस्फोट भयो

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले स्व. दाहालको पार्थिव शरिरमाथि नेपाल प्रहरीले झण्डा ओढाइ अन्तिम श्रद्धाञ्जली दिए । तस्बिर : नेपाल प्रहरी

क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरमा शंकास्पद वस्तुलाई ख्यालख्याल ठान्दा विस्फोट भएर प्रहरी इन्स्पेक्टरसहित तीनजनाको ज्यान गएको छ । स्थानीय राजेश्वर साहको घरको गेटमा रातो झोलाभित्र हालेर झुन्ड्याएको बम प्रहरीकै असावधानीका कारण विस्फोट भएको हो । 

शुक्रबार राति ११ बजेतिर साह परिवारका सबै सदस्य सुत्ने तरखरमा थिए । राजेश्वरकी श्रीमती शौचका लागि बाहिर निस्किँदा गेटमा रातो झोला झुन्डिएको देखिन् । शंकास्पद लागेपछि परिवारका सबै सदस्यलाई भनिन् । साह परिवार घरबाट निस्केर पाँच सय मिटर पर आफ्नै मेडिकल सेन्टरमा पुगे । राजेश्वरले मेडिकलछेवैको इलाका प्रहरी कार्यालयमा गएर प्रहरीलाई जानकारी गराए । 

इन्स्पेक्टर अमिरकुमार दाहालसहितको टोली केहीबेरमै घटनास्थल पुग्यो । इन्स्पेक्टर दाहालले सुरुमा रातो झोला टाढैबाट नियाले । बम डिस्पोजल टोली बोलाउनुपर्ने इन्स्पेक्टर केहीबेरमै शंकास्पद वस्तुलाई नजरअन्दाज गर्दै झोला छुन पुगे । उनले चलाउनेबित्तिकै विस्फोट भयो । 

विस्फोटमा इन्स्पेक्टर दाहालसहित घरधनी साह र उनका १६ वर्षीय छोरा आनन्दको मृत्यु भएको छ । दाहालको उपचारका क्रममा मृत्यु भएको थियो । प्रहरी जवान रिजन महतो, मृतक साहका कान्छा छोरा प्रकाश र छोरी अञ्जली तथा बाबु भिखारी साह घाइते भएका छन् । भिखारीको जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ भने अन्य घाइतेलाई थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

‘बम–सम होइन भन्दै इन्स्पेक्टर सा’ब आफैँ नजिक गएर झोला के चलाएका थिए, ठूलो अवाजसहित विस्फोट भयो,’ घाइते भिखारी साहले भने, ‘उहाँको ओभर कन्फिडेन्स थियो । बम छैन भनेपछि अगाडि बढ्दा परिवार नै सखाप भयो ।’ 

साह परिवारका छिमेकी मनोज साहले प्रहरीले सावधानी नअपनाउँदा दुर्घटना भएको बताए । ‘प्रहरीले होस पुर्‍याएको भए यति ठूलो मानवीय क्षति हुने थिएन,’ उनले भने, ‘नजिकै सेनाको क्याम्प थियो, उनीहरूलाई बोलाउनेतिर प्रहरीले ध्यानै दिएन ।’ 

राति पानी परिरहेको थियो । महेन्द्रनगर क्षेत्रमा बिजुली पनि थिएन । त्यसैले प्रहरी आउँदासम्म घटनास्थलमा कोही गाउँले आएका थिएनन् । बम विस्फोट भएपछि मात्रै अरूले थाहा पाएका थिए । ‘शक्तिशाली आवाजसहित विस्फोट भएपछि मात्रै हामी आएका हौँ, हामी आउँदा त क्षति भइसकेको रहेछ,’ मनोजले भने । 

धनुषा प्रहरीका डिएसपी रामेश्वर कार्की भने घटनास्थलमा जम्मा भएको भिड हटाउने क्रममा विस्फोट भएको बताउँछन् । प्रहरीले सतर्कता अपनाएको उनको दाबी छ । ‘प्रहरीले पूर्ण सावधानी अपनाएको हो, बम हेर्न जम्मा भएको भिड हटाउन लाग्दा विस्फोट भयो,’ उनले भने । 

पशुपति आर्यघाटमा दाहसंस्कार

घटनामा ज्यान गुमाएका इन्स्पेक्टर दाहाल मादी नगरपालिका–२ संखुवासभाका हुन् । १ कात्तिक ०५५ मा असइबाट सेवा सुरु गरेका उनी असोज ०६० मा सइ हुँदै ०७५ मा इन्स्पेक्टर भएका थिए । पूर्वप्रधानमन्त्री झलनाथ खनालको पिएसओसमेत रहेका उनी एक वर्षदेखि धनुषामा कार्यरत थिए । 

स्व. दाहालको शनिबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । दाहालको पार्थिव शरीरमा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, प्रहरी अतिरिक्त महानिरीक्षकहरूले पशुपति आर्यघाटमा पुष्पगुच्छा अर्पण गरी अन्तिम श्रद्धाञ्जली दिएका थिए । उनको पार्थिव शरीरमा बुबा प्रकाश शर्मा दाहालले दागवत्ती दिए । स्व. दाहालका बुवा, आमा, श्रीमती र एक छोरा छन् । 

तीनजना पक्राउ
राजेश्वरको घरमा बम राखेको आशंकामा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हंसपुर नगरपालिका–२ की ललितादेवी महरा र सीतादेवी महरा छन् । अर्का एकको नाम सार्वजनिक भएको छैन । पक्राउ पर्नेहरू नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा आबद्ध रहेको प्रहरी स्रोतले जनायो । 

स्रोतका अनुसार राजेश्वर ऋण दिने कारोबार गर्थे । विप्लव समूहका केही कार्यकर्तालाई समेत ऋण दिएको, तर फिर्ता नगरेपछि ताकेता गरेका उनलाई तर्साउन घरमा बम झुन्ड्याएको हुन सक्ने स्थानीय व्यापारी बताउँछन् । बम विस्फोटको बृहत् अनुसन्धानका लागि इन्स्पेक्टर उमाशंकर साहको नेतृत्वमा सात सदस्यीय अनुसन्धान टोली गठन गरिएको छ । 


घाइते भिखारी साहले भने–इन्स्पेक्टरसा’बले बम–सम होइन भन्दै छोएलगत्तै पड्कियो

बम–सम होइन भन्दै इन्स्पेक्टरसा’ब आफैँ नजिक गएर झोला के चलाएका थिए, ठूलो आवाजसहित विस्फोट भयो । उहाँको ओभर कन्फिडेन्स थियो । बम छैन भनेपछि अगाडि बढ्दा परिवार नै सखाप भयो ।