नेकपाका नेता एवं पूर्वश्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले सडक दुर्घटनाबारे सरकार गम्भीर भएको बताए । उनी शुक्रबार इस्मा गाउँपालिकाले आयोजना गरेको शोक सभालाई सम्बोधन गर्न तथा शोकाकुल परिवासंग भेटघाट गर्न इस्मा आएका थिए।
शोक सभालाई सम्बोधन गर्दै नेता बिष्टले दुर्घटनाको समिक्षा सरकारले गरिरहेकाले ठोस योजना मार्फत दुर्घटना न्यूनिकरणका उपाय खोज्ने बताए । उनले घाइतेहरुको उपचार खर्च र दुर्घटनामा दिवंगत भएका बिपन्न पीडित परिवारको जिविकोपार्जनको जिम्मा राज्यले लिने बताए ।
१६ बर्षीया इशा कार्कीको सम्पूर्ण अध्ययनको जिम्मा बिष्टले लिने
उनले बिज्ञप्ती निकालेर मात्रै पीडितको न्याय नहुने भएकाले बाँच्ने परिवारको भविष्यका बिषयमा आफु गम्भीर रहेको बताए । त्यस्तै उनले इस्मा गाउँपालिका ४ दोहलीको पैयाँपाटामा पुगेर सवै शोकमा रहेका कार्की परिवारसंग भेटघाट गरेका थिए । सोहि क्रममा आमा र बहिनी गुमाएकी १६ बर्षीया इशा कार्कीको सम्पूर्ण अध्ययनको जिम्मा आफुले लिने नेता बिष्टले बताए ।
नेकपाका जिल्ला नेता हिरा एसीले एउटै गाउँका थुप्रै व्यक्तिले ज्यान गुमाएकाले दुर्घटनाको समिक्षा गर्नुपर्नेमा जोड दिए । नेपाली कांग्रेसका सभापति भुवन प्रसाद श्रेष्ठले दुर्घटनाको कारण पीडित परिवारले थाहा पाउनुपर्ने बताए ।
१५ जनाले ज्यान गुमाउँदा राज्य गुमनाम हुनु बिडम्बना
उनले ठुला मान्छे दुर्घटनामा परे छानबिन समिति गठन गर्ने तर एउटै गाउँकै १५/१६ जनाले ज्यान गुमाउँदा राज्य गुमनाम हुने बिडम्बनाको बिषय भएको बताए । गत १७ मंसिरमा कुल पुजाको लागि बाग्लुङ्ग हिंडेको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा १५ जनाले ज्यान गुमाएका थिए । भने तीन जना घाइते भएका थिए । दुर्घटना भएकै दिन घाइते हिमाल कार्की, निमा केसी तथा जीवन कार्कीलाई हेलिकोप्टर मार्फत उद्धार गरि थप उपचारका लागि काठमाडौं लगिएको थियो ।
मृतकका परिवारलाई प्रतिव्यक्ति २० हजारका दरले राहत
इस्मा गाउँपालिकाले मृतकका परिवारलाई प्रतिव्यक्ति २० हजारका दरले राहत दिने निर्णय गरेको छ । शोक सभामा गाउँपालिकाका अध्यक्ष लक्ष्मण बिष्टले मृतकका परिवारलाई प्रतिव्यक्ति २० हजारका दरले राहत दिने बताए । यसकोसाथै दुर्घटना स्थलको उद्धारदेखि दाहसंस्कारसम्मको सम्पूर्ण खर्च गाउँपालिकाले व्योहोर्ने अध्यक्ष बिष्टले बताए ।
केहि दिन अघि जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय र इस्मा गाउँपालिकाको समन्वयमा ३० थान कम्बल बितरण गरिएको थियो । चिसो मौषम भएकाले किरियामा बसेका परिवारलाई थप कष्ट नहोस भनेर रेडक्रस, उद्योग बाणिज्य संघले उपलब्ध गराएका कम्बल वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले बताए ।