१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ मङ्सिर २७ शुक्रबार १०:४५:००
Read Time : > 1 मिनेट
नयाँCity

त्यो हरियाली यो कंक्रिटको जंगल

Read Time : > 1 मिनेट
२०७६ मङ्सिर २७ शुक्रबार १०:४५:००
अञ्जन शर्मा 
पूर्व बैंकर 

काठमाडौं साँखुमा ४७ वर्षअघि जन्मिएँ । सानो छँदा काठमाडौंमा जाडोयाममा बिहान उठ्दा बाहिर राखेको पानी पूरै जमेको हुन्थ्यो । एक सुकामा एक कप चिया आउँथ्यो । सबैतिर खुला थियो, सवारीसाधनको चाप थिएन ।

विद्युतीय सामानको नाममा एउटा टिभी पनि थिएन, घरमा । बत्ती थिएन, टुकी बाल्थ्यौँ । चाबहिलबाट साँखुतिर मोडिएपछि जताततै हरियाली थियो । साँखु राम्रो बजार थियो । त्यतिवेला हाम्रो किनमेल गर्ने ठाउँ चाबहिल थियो ।

दुई दशकयता हो, काठमाडौंमा यतिसारो भिडभाड बढेको । सानो छँदा बुबा–आमासँग असनतिर जान्थ्यौँ । प्याँप्याँ, पुँपुँ हर्न बजाउँदै रिक्सा दौडिन्थे । त्यतिवेलाका गाडीमा झ्याल हुँदैनथ्यो । गाडी पनि भेडा र गाईभैँसी थुन्ने खालका हुन्थे । त्यतिवेला पनि पानीको खासै सुविधा थिएन, सार्वजनिक पँधेरामा बिहान ३ बजेदेखि नै लाइन लाग्नुपथ्र्यो । काठमाडौं गाउँ नै थियो ।

आफ्नै खेतमा फलेका अन्न र तरकारी खान्थ्यौँ । परिवारलाई धानेर करिब ३५ मुरी धान बिक्री गथ्र्यौं । त्यतिवेलाको असनको सिस्नुघारी अझै याद छ । असनका घरहरू १५ सय, दुई हजार रुपैयाँमा बिक्री भएको सुन्थ्यौँ । उब्जनी हुने ठाउँको मात्र जग्गाको मूल्य थियो । बौद्धको खेतमा हलो जोतिरहेको देख्थ्यौँ ।

 अहिलेको बौद्धनाथ स्तुप ।

अहिले अनौठो लाग्न सक्छ, सय रुपैयाँ नोट साट्ने ठाउँ पाइँदैनथ्यो । ३० पैसामा पाइने चिया र पाउरोटी त्यतिखेरको ठूलो खाजा थियो । अस्पतालको नाममा वीर अस्पताल मात्रै थियो । ०४७ सालपछि मात्र आरसिसी बिल्डिङ बन्न थाले । अहिले पुराना घर कम देखिन्छन्, आरसिसी बिल्डिङले नै सहर भरिएको छ । हाम्रो बाल्यकाल र अहिलेको काठमाडौं सम्झिँदा एकदमै अनौठो लाग्छ । अहिले बजारमा दूध किन्नुपर्छ, त्यतिवेला घरमै पालेको गाईको दूध खान्थ्यौँ, हामी । उपत्यकाका अधिकांश घरमा गाई पालिएको हुन्थ्यो ।

घरमा ०४१ सालमा मात्र टिभी आयो । बजारभरिका मानिस हाम्रो घरमा टिभी हेर्न आएको अझै सम्झना छ । त्यसवेला पैसा कसरी कमाउने भन्ने थाहा नै थिएन । अहिले कसरी पैसा जम्मा गर्ने भन्ने मानसिकता बढेको छ । ठ्याक्कै उल्टो भइदियो जमाना । सहर कंक्रिट बन्दै छ, रूखहरू हराउँदै छन् । हरेक घरले कम्तीमा १० वटा रूख रोप्ने सोच आए मात्र पनि सहरबाट हरियाली हराउँदैनथ्यो ।

सन् १९७९ मा खिचिएको काठमाडौं बौद्धनाथ स्तुपको तस्बिर ।   तस्बिर स्रोत : बौद्धनाथ क्षेत्र विकास समिति

सहरमा हिँड्दा एकदमै असजिलो हुन्छ, अचेल । व्यवस्थित ढंगबाट सहर नबस्नुको कारण यस्तो अवस्था आएको हो । अहिलेसम्म पनि केही बिग्रिसकेको छैन । तर, धुवाँ, धुलो व्यवस्थापनमा अझै पनि ध्यान दिइएन भने काठमाडौं बस्नयोग्य सहर नरहन सक्छ ।