मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ मङ्सिर २६ बिहीबार ११:०७:००
Read Time : > 1 मिनेट
समाचार

अस्पताल स्थापनाको ६ वर्षपछि आकस्मिक सेवा 

Read Time : > 1 मिनेट
२०७६ मङ्सिर २६ बिहीबार ११:०७:००

कैलालीको गोदावरी नगरपालिका–३ चौकीडाँडास्थित मालाखेती अस्पतालमा आकस्मिक सेवा सुरु भएको छ । सरकारले ०७० असोजमा मालाखेती प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरेर १५ श्ययाको अस्पताल बनाएपछि पहिलोपटक आकस्मिक सेवा सुरु गरिएको हो ।

तीनवटा शड्ढयाबाट सेवा दिन सुरु गरिएको अस्पतालको आकस्मिक कक्षका प्रमुख एकेन्द्र बुढाले बताए । गत साताबाट आकस्मिक सेवा सुरु भएसँगै बिरामीले २४ सै घन्टा सेवा पाएको उनले बताए । आकस्मिक कक्षमा हाल सामान्य उपचार सेवा उपलब्ध गराइएको छ ।

साधन, स्रोत र जनशक्तिको अभावले अस्पतालले ६ वर्षसम्म आकस्मिक सेवा सुरु गर्न सकेको थिएन । बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म मात्र बिरामीले उपचार पाउने गरेका थिए । 

आकस्मिक उपचार सेवा थप विस्तार गरिने अस्पतालले जनाएको छ । मालाखेती अस्पतालमा गोदावरी नगरपालिकाको मालाखेती, अत्तरिया तथा जोडिएको कञ्चनपुरको कृष्णपुर नगरपालिकाबाट समेत बिरामी आउने गरेका छन् ।

अस्पतालमा हाल चारजना एमबिबिएस र एकजना एमडी डाक्टर कार्यरत रहेको आकस्मिककक्षका प्रमुख बुढाले बताए । यीमध्ये दुईजना नेपाल सरकारको छात्रवृत्तिमा एमबिबिएस पढेर सेवा दिन आएका हुन् । तीनजना डाक्टरको दरबन्दी रहेकोमा मेसुको दरबन्दी रिक्त छ । 

एक्स–रे सेवा नहुँदा समस्या
अस्पतालमा सादा एक्स–रे सेवा छैन । स्वास्थ्य बिमा कार्यक्रमले दिएको एक्स–रे उपकरण बिग्रिएर एक वर्षदेखि थन्किएको निमित्त मेसु कडायतले बताए । मालाखेती स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत बिमितको उपचारका लागि सूचीकृत अस्पताल हो । अस्पतालमा दैनिक करिब ७० जना बिरामी उपचारका लागि पुग्छन् ।

एक्स–रे सेवा सुरु गर्नसके बिरामीले निकै राहत पाउने कडायतको भनाइ छ । आवश्यक उपकरणको अभावमा प्रभावकारी उपचार सेवा नपाएपछि कतिपय सर्वसाधारणले महँगो शुल्क तिरेर अत्तरियास्थित निजी अस्पताल र मेडिकलमा उपचार गराउनुपर्ने बाध्यता छ । 

अस्पतालमा खानेपानी छैन । नजिकै रहेको नवज्योति आधारभूत विद्यालयबाट जर्किनमा पानी भरेर ल्याउने गरिएको कर्मचारीले बताएका छन् । प्रसूति सेवा भने चौबिसै घन्टा उपलब्ध छ । यस्तै, एचआइभी संक्रमित ४३ जनाले यो अस्पतालबाट नियमित एआरटी सेवा लिइरहेका छन् । इसिजी, ल्याबलगायत सेवा उपलब्ध रहेको निमित्त मेसु कडायतले बताए ।