मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ मङ्सिर २६ बिहीबार ०९:५२:००
Read Time : < 1 मिनेट
साहित्य

पूर्वअर्थमन्त्री डा. महतको पुस्तक सार्वजनिक

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर २६ बिहीबार ०९:५२:००

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वअर्थमन्त्री डा. रामशरण महतको समकालीन नेपालको अर्थ–राजनीतिक विषयमा आधारित पुस्तक ‘ट्रायल्स, ट्रेमर्स एन्ड होप : द पोलिटिकल इकोनोमी अफ कन्टेम्पररी नेपाल’ सार्वजनिक भएको छ । आइएसएसआरले काठमाडौंमा बुधबार आयोजना गरेको कार्यक्रममा पूर्वराष्ट्रपति डा. रामवरण यादवले उक्त पुस्तक सार्वजनिक गरेका हुन् । 

अंग्रेजी भाषामा लेखिएको डा. महतको पुस्तकमा ‘समाजवादका चुनौती’, ‘बिपी कोइराला, समाजवाद र नेपाली कांग्रेस’, ‘आर्थिक सुधार र त्यसको प्रभाव’, ‘माओवादी द्वन्द्व र शान्ति प्रक्रिया, ‘संविधान लेखन’, ‘रेमिट्यान्स इकोनोमी’लगायत विषयका १२ च्याप्टर रहेका छन् । पुस्तकमा नेपालको अर्थ राजनीतिक, भूराजनीतिक, चुनौतीलगायत विषय समावेश गरेको लेखक डा. महतले बताए । उनले नेपाली भाषामा समेत उक्त पुस्तक छिट्टै ल्याउने बताए ।

पुस्तकमाथि टिप्पणी गर्दै पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालमा उदारीकरण सुरु गर्नेमध्येका एक डा. महत अहिले आएर उदार व्यवस्था निर्विकल्प नरहेको निष्कर्षमा पुगेको बताए । ‘अमेरिका नै अहिले उदारीकरणविरोधी गतिविधिमा लागेको छ, अहिलेको विश्वव्यवस्थामा उदारीकरणका विकल्पमा छलफल भएका छन्, महत पनि यो बिन्दुमा आइपुग्नुभएको छ,’ पाण्डेले भने ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्लेले डा. महतको व्यक्तित्व पुस्तकमा प्रतिविम्बित भएको बताए । ‘आफ्नो विश्वासमा सधैँ अडिग, योग्यता (मेरिटोक्रेसी)मा विश्वास गर्ने र तर्कसंगत देशभक्ति डा. महतका व्यक्तित्वका तीन आयाम हुन्, पुस्तक पनि यिनै आयामको वरिपरि रहेको छ,’ उनले भने । 

एसियाली विकास बैंकका पूर्वउपाध्यक्ष डा. बिन्दु लोहनीले पछिल्लो समय नेपालको अर्थतन्त्रमा असमानताले चुनौती सिर्जना गरेको विषयलाई डा. महतले आत्मसात गरेको बताए । ‘नेपालले आफ्ना दुई छिमेकीलाई राजनीतिक आँखाबाट होइन, आर्थिक दृष्टिबाट हेर्नुपर्छ भन्ने स्पष्ट दृष्टिकोण डा. महतमा रहेको छ,’ उनले भने ।